आत्महत्या धेरै भयो: बालबालिकालाई कसरी बचाउने?

जेठ २२ गते पोखरा हेम्जाका ११ वर्षीया बालिकाले आफ्नै घरमा सलको पासो लगाई झुण्डिइन् । त्यो दृष्य उनकै बुवाले देखे र पासो खोलेर हतारहतार अस्पताल लगे । डाक्टरले बालिकालाई बचाउन सकेनन् ।

जेठ ३१ मा पोखराकै पुम्दीभुम्दीमा एक १२ वर्षीय बालकले पासो लगाएको भेटे उनका दाइले, पासो खोल्दा स्वास थिएन । मर्नु र बाँच्नुको अर्थ समेत बुझिनसकेका बालबालिकाले आत्महत्या गरेका कैयन समाचार दैनिक सुन्नुपर्दा जोकोहीको आँङ सिरिङ्ग गर्छ ।

‘बालबालिका सम्बन्धी कानून २०७५’ ले १८ वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मानेको छ । ०७७ असार १ देखि १५ गतेसम्ममा ७ देखि १८ वर्षका २८ बालक र ४६ बालिकाले आत्महत्या प्रयास गरेका थिए । १५ बालक र २६ बालिका गरी ४१ जनाको ज्यान गयो ।

असार ६ गते एक दिनमा मात्रै ७ जनाले आत्महत्या गरे । हामी धेरैले भन्ने र सुन्ने विषय हो रिस, राग र द्वेसविहीन बालकको जस्तो हुनुपर्छ मानिसको मन ।

अन्जानमै विषादी सेवन गर्ने ३ वर्षीया अबोध बालिका र पिङ खेल्ने क्रममा गलबन्दीको पासो लागेका ७ वर्षीय बालकलाई अपवादकोरुपमा लिन सकिन्छ । तर मर्नकै लागि एकसाथ दर्जनौँ औषधीको चक्की सेवन गर्नेे, बालीमा हाल्ने विषादीदेखि चर्पी सफा गर्ने फिनेल समेत पिउने, सलको पासो लागेर ज्यान फाल्ने बालबालिकाका बारेमा समाचार आउँदा उनीहरुको उमेर र माथिको भनाइ अनुसार मेल खाने विषय हो भन्नै सकिन्न ।

आखिर किन गर्छन् बालबालिकाले यस्तो ?

लामो समयदेखि बालबालिकाकै हक, हितका लागि योगदान गरिरहनुभएका भ्वाइस अफ नेपालका उप निर्देशक राजु घिमिरेको अनुभवले भन्छ आमाबाबुबाट आफ्नो इच्छा पुर्ति नभए, साथीभाइबाट एक्लिएको महशुस गरे र आफूले चाहे अनुसार गतिविधी गर्न नपाए पनि यस्ता अप्रिय निर्णय गर्नसक्छन् उनीहरुले ।

घिमिरेका अनुसार गरिबी र अभाबजस्ता कारणले आफ्नै जीवन र शिक्षाका बारेमा वा यस्तै अन्य कारण अभिभावकले तनाव र चिन्ता लिएको कुरा देखे भने पनि आत्महत्या गर्दा रहेछन् ।

पोखराका ११ र १२ वर्षीय दुई बालबालिकाले आत्महत्या गर्नुमा टिभी र मोबाइलमा धेरै व्यस्त हुने कारण बुवा आमाले पढ्न कर गरिरहन्थे । यसबाहेक अरु खास कारण अनुसन्धानबाट नखुलेको बताउनुहुन्छ तत्कालीन जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की ।

मनोविद सनम पौडेलका अनुसार आत्महत्या जैविक (बायोलोजिकल), सामाजिक(सोसियल) र मनोवैज्ञानिक (साइकोलोजिकल) कारणबाट हुनेगर्छ । आत्महत्या हुन शारीरिक रसायनको गडबडी, सामाजबाट उत्पन्न बेइज्जती वा अपमान र यस्ता विविध कारणबाट उत्पन्न मनोविज्ञान आदिले भूमिका निर्वाह गर्दछ ।

आजको विषम परिस्थितिमा मात्र होइन सामान्य अवस्थामासमेत आत्महत्या भएका छन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार अहिलेको अवस्थामा स्कुल नलागेको घरबाहिर खेल्न नपाउँदा र आफ्ना सानातिना गुनासा र कुण्ठाहरु साथीहरुसँग पोख्न नपाउँदा पनि एक्लोपन र निराश भई आत्महत्या गरेका हुन सक्छन् ।

अनलाइन कक्षा लिन स्मार्ट फोन नभएका कारण भारत केरलामा ९ कक्षामा पढने १४ वर्षीया बालिकाले आत्महत्या गरेको समाचार आयो । यसबाट अनलाइन कक्षा चलाउन होडबाजी गरिरहका नेपालका निजी स्कुल र अभिभावकले आजै सिक्नुपर्छ ।

नेपालमा कति बालबालिकासँग स्मार्ट फोन छ ? कति अभिभावकसँग घरमा इन्टरनेट सुविधा छ ? कछुवाको गतिमा चल्ने डाटाबाट कति सम्भव छ लेखपढमा ? कक्षामा समेत राम्रोसँग नबुझ्ने बालबालिकाले विद्यार्थीको अडियो म्युट गरेर एकोहोरो संवादबाट अनलाईन कक्षामा पढाएको नबुझेमा कसलाई सोध्ने ?

निजी स्कूल पढ्ने आफूजस्तै छिमेकी बालबालिकाले अनलाइन कक्षा लिएर फुर्ती लाएको सुन्दा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्छ ? यो कुरा कसले बुझिदिने ?

यस्ता बालबालिकाको बारेमा अध्ययन नै नगरी अनलाइन कक्षा चलाउने वा चलाउन अनुमति दिने दुवै पक्षले बालबालिकामाथि असमान व्यवहार मात्र गरेका छैनन् विभेद र अन्यायसमेत गरेका छन् ।

शैक्षिक अधिकार सम्पन्न स्थानीय तहको ध्यान छ कि छैन यता ?

सामान्य तथ्यांक विश्लेषण

नेपाल प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार लकडाउन भएको ०७६ चैत ११ देखि वैशाख १० सम्म एक महिनामा १९ बालक र ४५ बालिका गरी ६४ जनाले आत्महत्या गरेका छन् । त्यसको अघिल्लो महिनामा १३ बालक र ३२ बालिका गरी ४५ जनाले मात्र आत्महत्या गरेका थिए ।

तथ्यांक अनुसार सामान्य अवस्थामा वार्षिक करिब साढे ५ सय बालबालिकाले आत्महत्या गर्ने रहेछन् । ०७७ असारको १५ दिनमा भएको ४१ जनाको तथ्यांकलाई हेर्दा ९८४ जनाले आत्महत्या गर्ने देखिन्छ एकवर्षमा । सामान्य अवस्थाको भन्दा यो झण्डै दुईगुणा बढी हो ।

आत्महत्या प्रयास गरेर बचेका बालबालिकाको संख्या पनि मृत्यु हुनेको भन्दा कम छैन । निर्देशनालयका अनुसार लकडाउन सुरु भएदेखि ०७७ जेठ महिनासम्म १६६ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १० वर्ष मुनिका १० जना, ११ देखि १६ वर्षका ८८ जना र १७ र १८ का ६८ जना रहेका छन् ।

पेशाको आधारमा हेर्दा विवाहित ८ बालिकामा ३ गृहिणी, ५५ जना कृषि पेशाका, ४ जना मजदुरी गर्ने, ९६ जना विद्यार्थी र ८ जनाको पेशा खुलेको छैन । शिक्षाको आधारमा निरक्षर ४ जना, १०९ जना एकदेखि ५ कक्षासम्म अध्ययनरत, एसइइसम्मका ३४ र प्लसटुका ४ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

१६६ जनामा ११९ बालिका र ४७ जना बालक रहेका छन् । बालकभन्दा बालिकाले किन बढी आत्महत्या गरे त ? मनोविद सनम पौडेलका अनुसार बालकमाभन्दा बालिकामा सानै कुराले छिटो चित्त दुख्ने, मनको पीर सजिलै अरुलाई पोख्न नसक्ने, घरमा पनि बढी अनुशासित हुनुपर्ने र तनावको बेला वातावरण र स्थान परिवर्तन गर्न र मनको बह पोख्न नपाउँदा पनि यस्तो हुनसक्छ ।

बालबालिकालाई आत्महत्याबाट कसरी बचाउने ?

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसन्धान अधिकृत चिरन्जीवी रेग्मीका अनुसार अरु झुण्डिएको वा विष सेवन गरेको समाचार सुनेका आधारमा सिको गर्दा पनि कतिपय बालबालिको अन्जानमै मृत्यु हुने गरेको छ ।

फेसबुक लाइभ गरेर आत्मत्या गर्ने क्रम देखिएको छ नेपालमा । इन्टरनेट पहुँच भएका सबै बालबालिकाले हेरिसकेका छन् यी दृश्यहरु, उहाँको कुरा मान्ने हो भने यो घातक हुनसक्छ ।

असार १४ गते म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ का ७ वर्षिय बालक आफ्ना ५ वर्षीय भाइसँग पिङखेल्दै थिए । डोकोमा टेकेर पिङमा चढेका उनी डोको उछिट्टिएपछि पिङ बनाइएको गलबन्दीमा झुण्डिन पुगे र भवितव्यमा परेर ज्यान गयो । कतिपय बालबालिकाको विष सेवन यस्तै अन्जानमा भएको देखिन्छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा.कृष्ण पौडेलका अनुसार १ देखि ३ वर्षका बालबालिका अन्जान र छुकछुके हुने भएकाले जे भेटे पनि पनि मुखमा हालीहाल्छन् । त्यसैले उनीहरुको पहुँच नपुग्नेगरी औषधी वा बिषादीलाई राख्नुपर्छ । र साना बालबालिकालाई एक्लै नछोडी सधैँ ठूलाको रेखदेखमा राख्नुपर्छ ।

बालबालिकालाई अरुसँग तुलना गरेर मनमा चोट पुर्‍याउनु हुँदैन । सामाजिक संजाल र बाहिरी वातावरणमा कसरी विचरण गरिरहेका छन् उनीहरुको साथी बनेरै अभिभावकले मनिटरको काम गर्न सके केही हदसम्म उनीहरुलाई आत्महत्याबाट बचाउन सकिने तर्क छ मनोविद पौडेलको ।

आफूले चाहेको सानो तिनो कुरा प्राप्ति नहुँदा मात्रै कतिपय बालबालिकाले आत्महत्या प्रयास गर्छन् । मलाई बचाउन आइहाल्छन् नि भनेर पनि घुर्कीको रुपमा प्रयास गर्दा उनीहरुको ज्यान गएको छ ।

आत्महत्या घुर्की लगाउने विषय होइन । जीवन नष्ट हुन्छ, मरेपछि जलाउँछन् वा गाड्छन् । जिन्दगी सिनेमाको जस्तो अभिनय होइन । चित्त नबुझे विद्रोह गर्नुपर्छ । ज्यान फाल्नु हुँदैन भनेर सामान्य ढंगले सिकाउन सकियो भने पनि बालबालिकालाई आत्महत्याबाट जोगाउन सकिने उहाँको सुझाव छ ।

सामाजिक संजालको दुरुपयोग रोक्ने, बालबालिकामा देखिने निराशाका लक्षण, अनौठो व्यवहार र मनोदशा बुझेर तत्काल मुड परिवर्तन गर्न सकियो भने पनि उनीहरुलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ ।

मनोविद पौडेलसँग मिल्दो छ प्रहरी उपरीक्षक दानबहादुर कार्कीको अनुसन्धान पनि । आत्महत्या एक अपरचुनिष्ट क्राइम भएकाले तत्काल उनीहरुलाई बुझेर मर्नुभन्दा संघर्षबाट बाच्नुको महत्व बुझाउन सके उनीहरुमा त्यस्तो सोच नदोहोरिन सक्छ ।

लामो समय कोरोनाको त्रास रहिरह्यो, स्कुल जान पाएनन्, अनलाइन कक्षा, सामाजिक संजाल र टेलिभिजनमा मात्रै भुलिरहने र साथीहरुसँग घुल्न पाएनन् भने अवस्था अझ बिग्रिनसक्छ ।

राजु घिमिरेका अनुसार बालबालिकाले नचाहेको विषय लादेर अभिभावकले आफ्नो सपना उनीहरुबाट पूरा गर्न खोज्नु हुँदैन । आफ्ना सन्तानलाई पर्याप्त समय दिएर उनीहरुसँग साथीजस्तो व्यवहार गर्नुपर्छ । यति भएमा आफूले माया नपाएको र वेवास्तामा परेको महशुस गर्ने छैनन् र जीवनलाई अमूल्य ठान्नेछन् । यत्ति भएमा आत्महत्या न्यून हुन्छ ।

नेपाल प्रहरीको अनुसन्धानको सबै रिपोर्ट आइसकेको छैन । असार १ देखि १५ सम्मको केही प्रारम्भिक अनुसन्धानलाई हेर्दा कति बालबालिकाले आमाबाबुसँगको विवादमा, माग पूरा नभएको, लामो समयदेखि बाबु विदेशबाट नफर्केको, आमाले दोस्रो बिहे गरेकी, आफू काम गर्न बसेको घरको व्यवहारले निराश, र विवाहित बालिकाको हकमा दाइजो, आदि कारण प्रमुख देखिन्छ ।

९ महिना अघि विवाह गरेकी मिर्गी रोगले पीडित दाङकी १८ वर्षीया एक बालिकाले केही समयअघि फिनेल सेवन गरेकी थिइन्, श्रीमानले उपचार गरेर बचाए । तर असार १२ गते मावली घरमा विष सेवन गरेर आत्महत्या गरी छाडिन् । उनकी आमाले पनि ०६६ सालमा आत्महत्या नै गरेकी थिइन् ।

असार १ देखि १५ गतेभित्र आत्महत्या वा आत्महत्या प्रयास गर्ने विवाहित ५ बालिका मध्ये कतिपयको दाइजो नल्याएका कारण घरपरिवारले यातना दिने गरेको पनि खुलेको छ ।

कपिलवस्तुकी एक विवाहित बालिकाका माइतीले उनका परिवारबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । सप्तरी बोधेबर्साइनकी १३ वर्षीया बालिकाले ९ वर्षको आफ्नै भाइसँग विवाद भएपछि विष सेवन गरिन् ।

यति साना र अपत्यारिला कारणबाट समेत बालबालिकाले आत्महत्या गर्ने गरेको देख्दा आजको समय, हाम्रो हुर्काई, शिक्षा वा संस्कार कतै खोट त छैन भन्ने प्रश्न पनि जन्मिन्छ ।

मनोविद सनम पौडेल केही हदसम्म सहमत हुनुहुन्छ यस विषयमा । जसरी पनि बालबालिकालाई अनेकन सुविधा दिने तर आफ्नो आर्थिक अवस्था लुकाइराख्नाले पनि अचानक समस्या आइदिन्छ ।

तसर्थ आफ्नो आर्थिक अवस्थाको बारेमा बहस गर्न र आर्थिक क्षमताबाट कसरी आवश्यकता पूर्ति गर्न सकिन्छ बालबालिकाबाटै सल्लाह लिएर वा व्यवहार सिकाएर पनि अभ्यस्त गराउन सकिन्छ ।

कतिपय बालबालिकाले सानै कुरामा चित्त दुखाउँछन् । कसैले सानातिना कुरामा वास्ता नगर्ने हुन्छन् । आफ्ना सन्तानको स्वभाव बुझेर व्यवहार गर्नुपर्छ ।

उनीहरुको नकारात्मक पक्षभन्दा सकारात्मक पक्षलाई चर्चा गरेर हौस्याउनाले उनीहरुको आत्मबल बढ्छ । जीवन रमाइलो ठान्दछन् । एक्लिएको वा अपहेलनामा परेको महसुश गर्दैनन् । र सानातिना कुरामा बिचलित हुँदैनन् ।

कसैलाई बिहान पढ्न आनन्द लाग्छ, पढेको ताजा रहन्छ । तर कतिपयले राति पढ्दा बुझ्ने हुनसक्छ । उनीहरु बिहान सुत्न चाहन्छन् । यस्ता सानातिना कुरा बुझेर व्यवहार गर्न अभिभावकलाई अनुरोध गर्नुहुन्छ मनोविद पौडेल ।

अनुसन्धान अधिकृत चिरन्जीवी रेग्मीका अनुसार आत्महत्याको समाचारले बालबालिकामाथि उल्टो असर गरिरहको छ । त्यसैले यस्ता समाचार प्रवाह गर्नु हुँदैन ।

निष्कर्ष

बालबालिकाको जीवन रक्षा गरी तिनका बुवाआमालाई पीडाबाट मुक्ति दिनेतर्फ आजै नसोचिए आत्महत्याको संक्रमणले विकराल रुप लिने निश्चित छ ।

कुन उमेरका बालबालिकालाई कसरी व्यवहार गर्ने, कसरी हुर्काउने जस्ता अनेक विषयमा अभिभावकमा चेतनाको आवस्यक छ । हरेक सामुदायिक तथा नीजी विद्यालयले वडा कार्यालयको समन्वयमा अभिभावक सचेतना कक्षा अनिवार्य गर्नुपर्दछ ।

बालबालिकालाई समेत नैतिक शिक्षासहितको बुवाआमासँगको सम्बन्ध, जीवनको अर्थ र महत्व झल्काउने पाठ्यसामग्रीसहितको सिकाइमा महत्व दिइनुपर्दछ ।

नत्र आज कुनै बुवाआमा सन्तान गुमाएको पीडामा आँसुको आहालमा छन् । भोलि कोही अरु हुनेछन् । यो क्रमश  तपाईँ र मसम्म नआइपुग्ला भन्न सकिन्न ।

कुनैपनि कारण आत्महत्याबाट बालबालिका गुमाउनु भनेको भोलिको सुन्दर नेपाल गुमाउनु पनि हो । बालबालिकाको आत्महत्यालाई व्यक्तिगत ठान्ने भूल नगरौँ, यो एक राष्ट्रिय हानी हो ।

तसर्थ सामान्य अवस्थाका आत्महत्या रोक्न गहिरो अध्ययनसहितको योजना निर्माणमा सरोकारवालाको ध्यान जाओस् । परिस्थितिजन्य आत्महत्यालाई रोक्न उनीहरुको मनोदशा बुझेर तत्काल सम्बोधन होस् ।

स्कूलहरुले पनि क्षमता भएका अभिभावकबाट ऐच्छिक शुल्क लिउन् । पुस्तक किन्न, शुल्क तिर्न र अनलाइन कक्षामा समावेश हुन नसक्नेका लागि आवस्यक योगदान गर्नु स्कूलको कर्तव्यभित्रै पर्दछ ।

कतिपय स्कूलले निम्न आय भएका आफ्ना विद्यार्थीप्रति संवेदनशील भएर उदारता देखाएका उदाहरण पनि छन् । अवस्था सामान्य भएपछि तिनै बालबालिकाका अभिभावकले तिर्ने शुल्कबाटै स्कूल चल्ने हो भन्ने कुरा सबैले सिकुन् । उनीहरुले शिक्षालाई सेवाको रुपमा हेरेका छन् भने उनीहरुको परीक्षाको घडि पनि हो यो । यस्तो अवस्थामा बालबालिका बचाउ अभियानमा नलागे कहिले लाग्ने ?

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्