व्यंग्य

राजनीति गर्ने आफ्नै भुँडी भर्ने!

‘ओहो गुरु,नमस्कार!’ तलको लामो उकालो चढेर र गाउँतिर अगाडि बढेर आएका कूलप्रसादलाई चौतारीमा बसेका सबैले एकैसाथ भने ।

एकदुई जनाले त बसेको ठाउँबाट उठेर दुवै हात जोडेर नमस्कार गरे । पहिले पहिले भएको भए भेटेजतिले जहाँ भेट्यो त्यहिँ उनका खुट्टैमा ढोग्थे । अहिले भने स्थिति त्यस्तो छैन । जमाना बदलियो र कूलप्रसाद गुरु पनि बदलिए । समयले सबैलाइ बदल्ने रहेछ भन्ने राम्ररी बुझेका कूलप्रसादले नबुझ्ने कुरै आएन ।

‘सबैजनालाई नमस्कार!’ चौतारीको ढुँगामा छाता ठड्याउँदै र त्यसैमा एउटा गोडा अड्याउँदै हँसिलो अनुहार पारेर कूलप्रसादले सबैको नमस्कार फर्काए ।

‘बसौँ गुरु । एकैछिन थकाइ मारौँ । लामो उकालोको हिँडाइले थाक्नु पनि भयो होला’, बसेको ठाउँबाट अलि पर सरेर गुरुको लागि ठाउँ छोडिदिँदै हरिले भन्यो ।

‘ल कुर्सीमै बसौँ गुरु!’ चौतारोसँगै टाँसिएको पसलको पसले रघुले पसल भित्रबाट एउटा ठिकै खाले प्लास्टिकको कुर्सी ल्याएर गुरुको अगाडि राखिदिँदै भन्यो । कूलप्रसाद पनि कुर्सीमा बसेर खल्तिबाट रुमाल निकालेर पसिना पुछ्न थाले ।

‘यो रघुले पनि ठिकै गर्छ । अहिले जे छ यहि कुर्सीमा छ भन्ने राम्ररी बुझेको छ’, बिर्खेले आफ्नो बानी अनुसार जिस्कँदै भन्यो । भुइँमा बसेकाहरु हाँसे ।

‘एक गिलास पानी पनि खाउँ न त रघु बाबु । सारै तिर्खा लाग्यो । यो घाम त्यसमाथि उकालो उमेरमा त मजाले हिँडिन्थ्यो । अब त गाह्रो पर्ने रहेछ । यहि उकालो खुरुर्र कुदेर एकैचोटी माथि आइन्थ्यो अहिले त पाँचसात ठाउँमा बिसाउन पर्छ’, पानीको गिलास समाउँदै कूलप्रसादले भने ।

‘यो बिर्खेले कुर्सीको कुरा निकालिहाल्यो । हाम्रो देशमा सँधैभरी कुर्सीको लागि यस्तै तानातान भइरहन्छ त गुरु’, हरिले सोध्यो ।

‘यसो हेर्दा खासै सुधार आउला र जनताले सुख पाउला भनेजस्तो त देखिन्न । यो भए सुधार होला उ भए सुधार होला भन्दाभन्दै तिमी हाम्रो उमेर भइसक्यो र सही बाटोमा आउला भनेर आश गर्दागर्दै देश झन् भड्खालोतिर गइसक्यो । यो सबै यहि कुर्सीको चक्करले भएको हुनाले यसको कारणले जनताले अझ कति ठक्कर खान पर्ने हो केही थाहा छैन’, कूलप्रसादले भने ।

‘यसमा विचरो कुर्सीको के दोष छ र गुरु ? त्यसमा बस्ने र त्यसमा पुगेपछि आ–आफ्नै ढिपी कस्ने अनि बस्न नपाउनेले चाहिँ पछाडिबाट छुरी धस्ने र अरु अन्ध समर्थकहरुले फाइदाको लागि चिल्लो घस्ने कारणले यो कुर्सीको बेकारमा बदनामी भएको मात्रै हो । अहिले पनि त्यहि हो र पछि पनि त्यस्तै हो । हामीकहाँ जस्तो टाठाबाठा नेता, टाठाबाठा कार्यकर्ता, टाठाबाठा सहयोगी, टाठाबाठा समर्थक, टाठाबाठा बिचौलिया आदि भएको ठाउँमा सिधासाधा जनताको कसलाइ मतलब हुन्छ र गुरु ?’ बिर्खेले भन्यो ।

‘कुर्सीको कुरा सँधैभरी यस्तै नै भएपनि यसपाली चाहिँ अलिकति फरक हो कि जस्तो लाग्छ है मलाई त’, पसलको पिँढीमा बसेर सिँढीमा खुट्टा हल्लाउँदै रघुले भन्यो ।

‘कस्तो फरक भनेको रघु तैँले ?’ हरिले सोध्यो ।

‘कस्तो भन्लास् भने नि । यसपाली कोरोनाको जाँच, त्यसको उपचार, क्वारेन्टिनको व्यवस्थापन, त्यसबाट आएको र आउने आर्थिक लगायतका समस्याहरु, यो वर्षातको बेलामा आउने बाढी पहिरो, कृषि आदिमा गहिरो सोचविचार र काम हुन पर्नेमा कुर्सिको लडाइँ मात्रै भएको देख्दा र सुन्दा अचम्म लाग्छ मलाइ त ।’ रघुले भन्यो ।

‘रघु भाइले राम्रो कुरा गरे है । अहिले त कुर्सीको पछाडि नदौडेर यसतर्फ बुद्धि लगाउन पर्ने हो जस्तो लाग्छ हामीलाइ त । अहिलेका सबैभन्दा ठूला भनिएका र आफैद्वारा सबैथोक जान्ने ठानिएका नेताहरुलाइ के भएको हो जनताले केही बुझ्न सकेका छैनन् । हाम्रो गाउँतिर कोरोना सोरोनाको त्यति डर छैन भनेर हामी ढुक्क छौँ जाँच नभएर पनि हुन सक्छ । राम्ररी जाँच हुने हो भने कति होलान कति । यस्तो बेलामा एउटाले कुनै हालतमा कुर्सी छोड्दिँन भन्ने र अर्कोले कुनै हालतमा खँगारेरै छोड्छु भनेर भएभरको शक्ति लगाउँदा पनि केही नलागेको देखेर कतै यो कोरोनाले दुवैलाइै चाल चल्न मद्दत गरेको त छैन भन्ने गफ पनि सुनिन्छ कतैकतै’, कूलप्रसादले भने ।

‘पहिले चुनावमा सिलटिम्मुर खाइएला र जमानत समेत जोगाउन नसकेर जाइएला भनेर सिद्धान्त विधि पद्धती आदि सबैलाइ धोती लगाइदिएर कोदो र तोरी मिसाए जसरी हतारमा एकता गरिहाले । सिद्धान्त छोडेर हिँडेपछि पुगिने ठाउँ भनेकै भड्खालो हो अहिले त्यहिँ पुगे । अहिले न तेल निस्कन्छ न पिठो’, हरिले भन्यो ।

‘यो उखाने र बेसारे किड्नीको दिर्घरोगीले कति नै खाला र ? केही समय पछि त एकलौटी मैले नै खाने हो भनेर चुनावको मुखमा ठूला कुरा गरेर मुख मिठ्याउँदै दुईजनालाईमात्रै थाहा भएको केके जाति शतर्हरु राखेर हतार हतार एकता गरिहाले । उखाने त अर्को आफूलाई कौवा जस्तो चलाख ठान्ने र आफूलाईमात्रै सर्वेसर्वा मान्ने अनि चाहिँदोभन्दा बढि जान्ने चतुरेले सोचेभन्दा ज्यादै ज्याद्रो देखिए ।

कौवा धेरै बाठो हुँदा के खान्छ भनेको सही हो रहेछ । किड्नीको दिर्घरोगीलाई त्यसैले अन्त लैजान्छ र त्यसपछि आफूलाई सर्लक्क सत्ताको जन्त लैजान्छ भनेर मनमनै भाकल गरेकोमा विदेश समेत नगइकन यहिँ किड्नी फेरेर तगडा भएको हेरेर बस्न नसकेर अर्को चाहिँ बहुलाएको हो । किड्नी फेरेपछि उखानेको फूर्तिफार्ती बढ्दै गयो । आफू र आसेपासे बाहेक अरुलाइ मान्छे गन्न र कुनै कुरा भन्न पनि छाडे ।

बालुवाटारबाट एकपाइलो कतै ननिस्किकन त्यहिँ बसेर सबलाइ हल्लाउने, सबलाइ थर्काउने, सबको संवेदनशिल पक्षलाई आफ्नो फाइदाको लागि मर्काउने, सबलाई नयाँ नयाँ आशा देखाएर अनेक विषयलाइ चर्काउने र सबैले मुख मिठ्याएर आँ मुख गरेपछि अन्तिममा पहिलेकै अवस्थामा फर्काउने गरेर सबैलाइ गलाउने, फकाउने फुलाउने, झुलाउने, नयाँनयाँ लोभ देखाएर कल्पना र सपनाको लाभमा डुलाउने अनि यसोउसो गरेर आफ्नो लागि मात्रै बाटो खुलाउने गरेर सबैको पित्त निकालेकोमा अहिले चित्त दुखाउँदै रोएर के गर्नु ?’ बिर्खेले हाँस्दै भन्यो ।

‘गफ गर्दै र सुन्दै एउटा चिया पनि खाउँ न त रघु बाबु’, कूलप्रसादले भने । ‘को को खाने भन्नोस् है । अहिले नै भन्यो भने सजिलो हुन्छ’, रघुले भन्यो ।

‘सबैजना खाने होला नि । सबैलाइ बनाउन रघु’, हरिले भन्यो । अरुले केही भनेनन्, रघु उठेर चिया बनाउन पसल भित्र पस्यो र चुल्होको छेउमा बस्यो ।

‘यसपालीको रोपाइँ त सकियो नि हैन हरि?’ कूलप्रसादले सोधे ।

‘सकियो भन्न पर्यो गुरु । जसोतसो सिध्याइयो । चाहिएको बेलामा न बिउ छ, न मल छ, सबैलाइ गाह्रो पर्यो नि गुरु । विदेश र शहरतिरबाट आउने गाउँलेहरुले गर्दा अलि सजिलो चाहिँ भयो । सरकारको तर्फबाट त हामी किसानको लागि माखो मार्ने काम नभएपनि हामी आफैले समस्या टार्ने उहिले देखिको चलन नै हो यसपाली पनि त्यहि भयो’, हरिले भन्यो ।

‘वडादेखि केन्द्रसम्म सरकार छन्, माननीयहरु छन्, विभिन्न पदाधिकारीहरु छन्, विभिन्न महत्वपूर्ण जिम्मेवारी लिएर बसेका कर्मचारीहरु छन्, कृषिको लागि भनेर त्यत्रो बजेट छुट्याएको छ रे भन्ने सुनिन्छ । हामीलाइ चाहिँ रोपाइँको समय भयो कि रुँदै हिँड्न पर्छ । कस्ता नेता हुन्, कस्ता पदाधिकारीहरु हुन्, कस्ता कर्मचारीहरु हुन, विभिन्न तहका सरकारहरु कस्ता हुन् भनेर बुझ् खोज्दा खोज्दै नबुझेरै परमधाम हुने भइयो जस्तो लागिसक्यो मलाइ त । अहिलेसम्म यसरी नै चल्यो, भोलि पनि यसरी नै चल्छ’, बिर्खेको भनाइ थियो ।

अहिले त सरकारले पनि के मात्रै हेरोस् । सबैभन्दा माथि आफ्नै कुर्सीको पिरलो छ । त्यसभन्दा मुनिकालाई कता लाग्दा भविष्यमा धेरै भन्दा धेरै लाभ उठाउन सकिन्छ भनेर त्यही अनुसारको कदम चाल्ने र फेला परेको खल्तीमा हाल्ने बाहेक अन्यत्र ध्यान छैन ।

‘आफूले खानेमा सबै अधिकार पाएको र जनताको काम गर्नको लगि केही अधिकार नपाएको भन्ने प्रदेश सरकारको पनि ताल उहि हो । पालिकाहरु त असारे विकासको लागि निकास भएको रकम कसरी पचाउने र स्तरहिन निर्माणहरुबाट कसरी गालीबाट आफैलाई बचाउने भन्ने बाहेक अन्यत्र ध्यान छैन । अनि के को कोरोनाबाट जनताको बचावट, के को जाँच, के को उपचार, के को क्वारेन्टिन व्यवस्थापन, के को आइसोलेसन, सबैतिर सँधैभरि यस्तै हो । यस्तो खतरनाक र महत्वपूर्ण कामहरुमा त यस्तो ताल गर्ने सरकारले कृषिमा केही गर्ला र यस्ता नेताहरुको बुद्धिबाट जनताको लागि केही झर्ला भनेर सोच्नु भन्दा ठूलो मुर्खता अरु के हुन सक्ला ?’ हरिले पनि ठोक्यो ।

‘तपाईँहरुका कुरा सुन्दा त तपाईँहरुलाई गाउँका साधारण किसान भनेर कस्ले भन्ला र ? हाम्रा किसानहरु नै यति बुझ्ने भएपछि नेताहरु कस्ता होलान ? संसारका अरु देशहरुमा त यस्तो हुँदैन होला । गाउँमा बस्ने साधारण किसान, मजदुर, विद्यार्थी,कर्मचारी आदि देखि लिएर सर्वसाधारणसम्म पनि केन्द्रीय राजनीति भन्दा तलको कुरा नगर्ने ठाउँ अन्त होला त भाइ हो ?’ कूलप्रसादले सोधे ।

‘यो पनि नेताहरुकै काम त हो नि । आफूले सही काम गरेर जनतालाइ पनि सही बाटोमा हिँडाएको भए यस्तो हुने नै थिएन नि । हरेक ठाउँमा राजनीति छिराएको हुनाले नै त्यसैले सबैलाइ पिराएको हो भन्ने बुझेर त अहिले अनेक खालका कानुन ल्याउन खोज्दा जताततै समस्याहरु मात्रै आएका हुन नि त’, हरिले भन्यो ।

‘हरिले भनेको ठिकै हो । यि नेताहरुले आफ्नो फाइदा र सबैतिरबाट आफ्नो आन्दोलनहरुलाई सहयोग र समर्थन पाउने स्वार्थका कारणले सबै क्षेत्र र सबै वर्गहरुमा राजनीति छिराए र जनतालाई अहिले यसैको व्याज तिराए । यसले गर्दा सबै ठाउँका सबैले राजनीति मात्रै गर्ने र जनताको नाममा आफ्नै भुँडी भर्ने गरेकाले देशको यो अवस्था भएको हो’, कूलप्रसादले भने ।

‘ल चिया खाउँ’, सबैलाइ चिया दिँदै रघुले भन्यो ।

सबैले चियाको कप समाए । रमाइला गफ गर्दै चिया सिध्याए । हरिले सबैको पैसा तिर्‍याे । कूलप्रसादले तिर्न खोजेजस्तो गरे तर तिरेनन् । रघुसित विदावारी भएर सबै बाटो लागे । रघु चाहिँ हरिका कुरा सम्झेर एक्लै हाँस्यो, ‘राजनीति गर्ने आफ्नै भुँडी भर्ने ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्