
वर्षको मात्रै ६ महिना पाइने रोजगारमा कोरोना तगारो बन्दा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई दैनिक गुजारा चलाउन सकस पर्न थालेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेका माउन्टेन गाइड पासाङ ग्याल्जेन शेर्पा (२८) ले सगरमाथा क्षेत्र पर्यटकबिहीन होला भन्ने कल्पना गरेका थिएनन् ।
बच्चैबेलादेखि विदेशीसँग रमाउने बानी परेका उनी नेपाल र तिब्बत तर्फबाट गरी दुईपटक माउन्टेन गाइडको रुपमा सगरमाथाको चुचुरो चुम्न पुगिसकेका छन् । खुम्बु क्षेत्रका होटल बन्द होलान् र आम्दानी सुक्ला भन्ने उनको मनमा कहिल्यै लागेको थिएन ।
तर, चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले शेर्पा लगायत संसारका धेरै मानिसले कल्पना नगरेका परिणाम भोग्दै छन् । महामारीको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठनले कोरोना भाइरसको महामारीका कारण २०२० मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या कम्तिमा एक अर्बले घट्ने र पर्यटन क्षेत्रमा कार्यरत १० करोड श्रमिकले रोजगार गुमाउने प्रक्षेपण गरेको छ ।
हरेक वर्ष मार्च, अप्रिल, मे र सेम्टेम्बर, अक्टुबर र नोभेम्बरलाई नेपालको पर्यटकीय सिजन मानिन्छ । विश्वको सर्वाेच्च शिखर सगरमाथा, अन्नपूर्ण, लोत्से लगायतका हिमाल स्पिरिङ (मार्च–मे) र मनास्लु, अमादब्लम लगायतका हिमाल एटम (सेप्टेम्बर–नोभेम्बर) सिजनमा चढ्ने गरिन्छ । पर्यटन क्षेत्रमा श्रमिकलाई यी ६ महिना निकै महत्वपूर्ण हुन्छन् ।
उनीहरुले वर्षभरी धान्ने खर्चको जोहो यही ६ महिनामा गर्नुपर्छ । यो वर्ष पर्यटकीय मौसम सुरु हुने वित्तिकै (२५ मार्चबाट) सरकारले लकडाउन घोषणा गरेपछि पर्यटन क्षेत्रका श्रमिकको आयस्रोत सुकेको छ ।
जीवन धान्नै कठिन
सगरमाथा आरोही पासाङ ग्याल्जेन शेर्पा विगतको बचतबाट खर्च चलाईरहेको छन् । “पर्यटक आएनन् । आम्दानीको अरु स्रोत पनि केही छैन” उनी भन्छन्, “ बचत सीमित छ । आगामी सिजन पनि पर्यटक नआउने र सरकारबाट पनि कुनै सहयोग नहुने हो भने बाँच्नै गाह्रो हुन्छ ।”
शेर्पा जस्तै खुम्बुपासाङ ल्हामु गाउँपालिकाको थामे, फोर्से र पाङबोचे क्षेत्रका सगरमाथा आरोहण गरिसकेका ३ सयभन्दा बढी माउन्टेन गाइड कोरोना महामारीले बेरोजगार भएका छन् । जसले वर्षमा ८ देखि १२ लाखसम्म कमाउने गरेका थिए ।
कर्ण घले (५६) विगत ३० वर्षदेखि पर्यटन क्षेत्रमा काम गरिरहेका छन् । उनी ११ चैतमा लकडाउन घोषणा हुनुपूर्व पनि पर्यटकसँग पदयात्रामा जाने तयारीमा थिए । तर, अनेपेक्षित लकडाउनको निरन्तरताले आम्दानीको स्रोत मात्रै सुकेको छैन, खर्च चलाउनै मुस्किल हुँदै गएको उनी बताउँछन् । ट्रेकिङ गाईड एसोसियसन अफ नेपालका अध्यक्ष समेत रहेका घलेले कोरोना महामारीपछि ट्रेकिङ क्षेत्रमा मात्रै ३५ हजार व्यक्तिले रोजगार गुमाएको जानकारी दिए । घलेका अनुसार ट्रेकिङ गाइडले दुई सिजन काम गर्दा एकै जनाले ४ देखि ७ लाखसम्म कमाउने गरेको थिए ।
उच्च हिमाली क्षेत्रमा बिरामी हुने पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्ने काम गर्दै आइरहेका छिरिङ शेर्पा (३३) पनि पर्यटकीय सिजनमा पर्यटक आवागमन अनिश्चितकालका लागि रोकिदाँ रोजगारी सुचारु हुने दिन कुरेर बसेका छन् । ‘आफूले जानेको काम कहिलेबाट गर्न पाईने हो थाहा छैन’ उनी भन्छन्, ‘अब के काम गरेर गुजरा चलाउने हो, त्यो पनि थाहा छैन ।’ उनले अनिश्चितता बढ्दै गएकोमा चिन्ता जनाए ।
लकडाउने राष्ट्रिय निकुञ्जबाट अनुमति लिएका नेचर गाईड, नेपाल र्याफ्टिङ एसोसियनबाट अनुमति लिएका र्याफ्टिङ गाईड, पर्यटन विभागबाट अनुमति लिएका टुरिष्ट गाईड र पर्यटकका सहयोगिका रुपमा काम गर्ने हजारौँ व्यक्तिको रोजिरोटी खोसिएको छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा करिब ४ लाख व्यक्तिले रोजगार गुमाएका छन् ।
नेपाल माउन्टेनियरिङ एसोसियसन (एनएमए) का पूर्व अध्यक्ष आङछिरिङ शेर्पाे अहिलेको संकटमा ट्रेकिङ र ट्राभल एजेन्सीले पनि आप्mना लागि काम गरेका व्यक्तिलाई सहयोग गर्नु पर्ने बताउँछन् । “संकटको समयका हामीले हाम्रालागि काम गरेका व्यक्तिलाई सहयोग गरेनौँ भने भविष्यमा पर्यटन क्षेत्रमै कर्मचारीको अभाव हुनसक्छ”, उनी भन्छन्, “त्यसैले व्यवसायीले सम्भव भएसम्म आफ्ना कर्मचारीलाई सहयोग गर्न मैले आग्रह गर्दै आएको छु ।” उनी आफूले भने त्यस्ता श्रमिकलाई सहयोग गर्न सुरु गरिसकेको बताउँछन् ।
हिमाली क्षेत्रमा बढी प्रभाव
८ जेठ २०७६ मा किर्तिमानी हिमाल आरोही निर्मल पुर्जाले सगरमाथाको चुचुरोमा पुगेर फर्कन लगेका आरोहीको लामो लस्कर देखिने तस्बिर खिचे । उनको त्यो तस्बिर समाजिक सञ्जाल पोष्ट भएको केही समयमै ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै संसारभर चर्चित बन्यो । उक्त फोटोलाई आधार बनाउँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘११ हजार अमेरिकी डलर राजस्वको लोभमा’ नेपाल सरकारले सबैलाई सगरमाथा आरोहणको अनुमति दिदाँ हिमाल फोहर हुँदै गएको भन्दै नेपाल सरकारको आलोचना गरेका थिए ।
हुन पनि गत वर्ष, एकै सिजनमा पहिलोपटक ८ सय १९ जनाले सगरमाथा आरोहणको अनुमति पाएकोमा ५ सय ५८ जनाले सफल आरोहण गरेका थिए । तर, यस वर्ष भने कोरोना महामारीले प्रकृतिलाई विश्रामको अवसर दिएको छ ।
मानवीय स्वार्थले दोहनमा परेको प्रकृतिलाई महामारीले सुविस्ता प्रदान गर्दा जीवन निर्वाहका लागि त्यसै क्षेत्रमा आश्रृत समुदाय भने समस्यामा परेको छ । गत वर्षको स्पिरिङ सिजनमा सगरमाथा, लोत्से र मकालु हिमाल आरोहण हुदाँ मात्रै ५४ हजारले रोजगार पाएको नेपाल माउन्टेनियरिङ एसोसियसनका पूर्व अध्यक्ष तथा एसियन ट्रेकिङका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको भनाई छ । यो वर्ष भने ११ चैतबाट लकडाउन सुरु भएपछि रोजगारी गुमाउनेको संख्या बढ्दो छ ।
नेपालमा रहेका ५ हजार ८ सय मिटरभन्दा अग्ला १ हजार ७ सय ५२ हिमालमध्ये ४ सय ३ हिमाल आरोहणका लागि खुला गरिएको छ । जसमा हुने आरोहणबाट हरेक वर्ष ३ लाखभन्दा बढीले रोजगारी पाउने गरेको शेर्पा बताउँछन् । तर, यस वर्ष पोटर, कुक, वेटर, हेल्पर, माउन्टेन गाईड लगायत सबैको रोजगार गुमेको छ ।
सन् १९६३ देखि पर्यटन क्षेत्रमा काम गरिरहेका शेर्पा नेपालमा पहिलो पटक स्पिरिङ र एटम सिजनमा हिमाल आरोहण सहित सम्पूर्ण पर्यटकीय गतिविधि ठप्प भएको बताउँछन् । विगतमा भूकम्प, हिमपहिरो जादाँ एक सिजन हिमाल आरोहण बन्द भए पनि अर्काे सिजनमा भने सुचारु हुने गरेको थियो । सरकारले लकडाउन घोषणा गरेदेखि पर्यटनमा आश्रीत व्यक्ति तथा समुदायलाई सहयोगको स्पष्ट नीति तर्जुमा गर्न नसक्दा हिमाली क्षेत्रमा नराम्रो असर पर्दै गएको छ । यातायातको सुविधा नहुदाँ हिमाली क्षेत्रको जीवनस्तर असाध्यै महँगो हुने गर्छ ।
बाक्लो लुगाको आवश्यकता, बढी खपत हुने ग्यास र बिजुली, एउटा मात्र बाली मात्र उब्जाउ हुने जमिनले गर्दा हिमाली क्षेत्रको बसाई महँगो हुने गर्छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी सरकारले हिमाली क्षेत्रमा केन्द्रित गरि राहत प्याकेज ल्याउन नसके त्यहाँका व्यक्तिलाई बाच्न नै कठिन हुने बताउँछन् । “हिमाली क्षेत्रका जनतालाई तत्कालै पर्यटन क्षेत्रबाट हुने आम्दानीको विकल्प दिन नसकिए विभिन्न समाजिक समस्याहरु आउन सक्छन्”, उनी भन्छन् ।
फेरिएको आयस्रोत
सन् १९५३ मा सगरमाथाको सफल आरोहणपछि कृषिमा निर्भर हिमाली क्षेत्रका जनताको आम्दानीको मूल फेरिएको थियो । एनएमएका पूर्व अध्यक्ष शेर्पा सम्झन्छन्, “हाम्रो घरमा एक सयभन्दा बढी याक, भेडाबाख्रा र गाई थिए । आलु खेती गरिन्थ्यो । तर, पर्यटन क्षेत्रमा बढी आर्जन हुन थालेपछि पुरानो काम छोड्यौँ ।”
हिमालमा माउन्टेन गाईडको रुपमा काम गर्नु जोखिमपूर्ण भए पनि आर्जनका हिसाबले आकर्षक मानिन्छ । पदयात्रामा पनि उच्च हिमाली क्षेत्रमा जाने पथप्रदर्शकले बढी आर्जन गर्छन् । यस्तै, उच्च हिमाली क्षेत्रमा कुक, वेटर पोटर सबैले लिने पारिश्रमिक पहाडी वा समथर क्षेत्रभन्दा निकै बढी हुन्छ ।
सगरमाथाको शिखरमा पहिलो पटक सफलतापूर्वक पुगेको आरोहण दलका एक मात्र जीवित सदस्य ८८ वर्षीय कान्छा शेर्पा भन्छन्, “तिब्बतमा ३ दिन लगाएर भारी बोक्दा ५ रुपैयाँ कमाई हुन्थ्यो । एभरेष्टमा काम गर्दा एकै दिनमा ८ रुपैयाँ कमाएको थिएँ ।” उनको यो अनुभवबाट नै हिमालमा काम गर्ने पर्यटन श्रमिकको आर्जन कति आकर्षक थियो भन्ने प्रष्ट हुन्छ ।
तेन्जीङ नोर्गे शेर्पा र एडमण्ड हिलारीलाई सगरमाथाको चुचुरोमा पुर्याउँदा ७ हजार ५ सय मिटरको उचाईसम्म पुगेका शेर्पा खुम्बु क्षेत्रका मानिसलाई पेटभर खान पनि नपुग्ने अवस्थालाई पर्यटन क्षेत्रले परिवर्तन गरेको बताउँछन् । त्यसैले त शेर्पाहरु ज्यानको बाजी लगाएरै भए पनि देश विदेशका हिमालमा काम गर्दै आएका छन् । तर, यो वर्ष कोरोनाले शेर्पाको आम्दानीको मुख्य स्रोत नै बन्द गरेको छ ।
यो वर्ष कारोना महामारीले पर्यटकीय गतिविधि ठप्प हुदाँ हिमाली क्षेत्रमा निकै खराब असर परेकोे पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे बताउँछन् । अन्नपूर्ण, खुम्बु, लाङटाङ, मनास्लु, सिमीकोट लगायतका क्षेत्रका जनता कृषिभन्दा पनि पर्यटनमा बढी निर्भर हुदैँ गएका छन् । खेतियोग्य जमिन लामो समयदेखि बाँझो भएकाले तत्कालै कृषिमा फर्कन कठिन भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ थामेका मिङ्मातेम्बा शेर्पा बताउँछन् ।
यस्तै भनाई छ, हुम्ला सदरमुकाम सिमिकोटका, कुनजोक लामाको । उनि भन्छन्, “विगतमा कृषिको विकल्प थिएन । त्यसैले सबै मानिसहरु कृषिमा निर्भर थिए । तर, सिमिकोटमा पर्यटकको संख्या बढेदेखि पर्यटन क्षेत्रमा काम गर्नेको संख्या बढेको छ । बाँझो खेतमा तत्कालै खेति गर्न पनि सम्भव हुदैन् ।” हुम्ला सदरमुकाम सिमिकोट हुदैँँ हिल्सा नाका भएर चीनको मानसरोबर जाने पर्यटकको संख्या बढेपछि पर्यटन क्षेत्रमा निर्भर हुम्लीको संख्या बढ्दो छ ।
अलमलमा सरकार
ट्रेकिङ गाइड एसोसियसनका अध्यक्ष कर्मा घले केही व्यवसायीले व्यक्तिगत पहलमा सहयोग गरेपनि पर्यटन क्षेत्रमा काम गर्ने ठूलो संख्यामा रहेका श्रमिकले कुनै सहयोग नपाएको बताउँछन् । “हामीले सरकारलाई पनि सहयोग गर्न आग्रह गरेका छौँ” उनी भन्छन्, “तर, लकडाउन सुरुभएको साढे तीन महिना हुदाँ पनि सरकारबाट कुनै सहयोग पाएका छैनौँ ।”
सरकारले नयाँ पर्यटकीय गन्तव्य विकास, पुराना पर्यटकीय गन्तव्यको सुदृढिकरण, पदमार्ग व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारी दिने प्रतिबद्घता व्यक्त गरेपनि कार्यान्वयन हुन नसकेको घलेको भनाई छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई कसरी सहयोग गर्ने भन्नेमा अलमलमै देखिएको छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ राष्ट्रिय योजना आयोगले बनाईरहेको ‘पोष्ट कोभिड एसिस्टमेन्ट प्लान (पिसिएनए)’ का आधारमा मन्त्रालयले पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने बताउँछन् । “कोरोना महामारी निरन्तर रहेकाले योजना आयोगको प्रतिवेदन कहिले बन्छ यकिन छैन” उनी भन्छन्, “हाललाई संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले केही राहत कार्यक्रम ल्याउन लागेको छ ।”
बोर्डले यूएनडीपीसँगको सहकार्यका करिब रु. २ करोड बराबरको राहत प्याकेज ल्याउन लागेको प्रवक्ता तामाङले जानकारी दिए । ट्रेकिङ गाइड एसोसियसनका अध्यक्ष घले २ करोडको राहत प्याकेज पर्यटन क्षेत्रमा काम गरिरहेका श्रमिकका लागि पर्याप्त नहुने बताउँछन् । “अहिले हाम्रो आम्दानीको स्रोत छैन । पर्यटन क्षेत्रमाभन्दा अन्यत्र काम पनि गरेका छैनौँ । नयाँ क्षेत्रमा गयौँ भने शून्यबाट सुरु गर्नु पर्छ,” घले भन्छन्, “यस्तो अवस्थामा सरकारले गर्ने सहयोग नाम मात्रको भयो भने हामीलाई झनै अप्ठ्यारो हुन्छ ।”