जो बागमती किनारमा सधैँ डोको बुनिरहन्छन्

डोको बुनिरहेका बदमलाल लिम्बु । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – बाँसका धारिला चोयामा हात चलाउन थालेको झण्डै ६० वर्ष भयो । निरन्तर चोयासँगै उनले दिन काटिरहेका छन् र जीविका चलाउँदै आएका छन् । उनी हुन्, विगत १४ वर्षदेखि काठमाडौँको बल्खुस्थित बागमती नदी किनारमा बस्दै आएका बदमलाल लिम्बु ।

बदमलालले चोयालाई डोका, कोक्रो, ढकिया, मान्द्रोसहितका स्वरुप दिन १०–१२ वर्षको हुँदै बुवाबाट सिकेका हुन् । त्यहि सिप उनको यति लामो जीवनको सारथी बनेको छ । परिवारको गुजारा चलाउने माध्यम पनि ।

लगातारको वर्षाले उनको टहरो छेउको बागमती नदीमा धमिलो पानी उर्लेर बगेको छ । बदमलाललाई भने उर्लेको पानी भन्दा बाँसको चोयासँग चासो छ ।

शनिबार उनी डोको बुन्दै थिए ।

लगभग बुनिसिध्याएको डोकोको बिट मार्दै गरेका उनले चाउरी परेको अनुहारमा परिश्रमको मुस्कान फुलाउँदै भने, ‘एक दिनमा एउटा डोको बुनि भ्याउँछु । जानेकै यहि काम । यहि नै गरिएको छ ।’

उनले डोकोसहितका बाँसका सामग्री बेचेरै जीवन धाने । तीन छोरी, दुई छोरा र श्रीमतीसहितको परिवार चलाए । अहिले उनीसँग श्रीमती र एक छोरा छन् । जेठो छोरा छुट्टिए, दुई छोरीको बिहे भयो ।

उमेर ७० पुगे पनि उनले थकाइ मार्न पाएका छैनन् । दैनिक काम गरिरहेकै छन् । उनले भने, ‘त्यसै बसेर के गर्नु, खान पर्छ, काम नगरी भएन ।’

चोयाले उनका हत्केलामा धेरै दाग लगाए । ठेला परेका छन् । तर पनि बुढो हुँदै गएको तनमा आत्मबल भेरर बदमलालले काम गरिरहेका छन् ।
एउटा डोको तीन सय रुपैयाँमा बेच्ने गरेको बताएका बदमलालले परिवार जेनतेन चल्ने गरेको जानकारी दिए ।

१४ वर्षदेखि काठमाडौँ खाल्डोमा रहेका उनले जीवनका अरु वर्षहरु पूर्वको धरान हुँदै तराईका विभिन्न जिल्लाहरुमा बिताए । जहाँ गए पनि उनले बाँसका चोयाबाटै जीविका चलाउँदै आए ।

काठमाडौँ उपत्यकामा बजारको समस्या छैन । बुनेका सामान लिन ग्राहक उनकै घर आइपुग्छन् । उनले भने, ‘काठमाडौँमा चोयाको काम गर्ने निकै कम छन् । युवाहरु सिक्दैनन् । बुढापाका कोही सक्दैनन्, कोही बिति सके । त्यहि भएर भक्तपुरदेखि पनि आउँछन् यहाँ डोकोसहितका सामग्री लिन ।’

बदमलाललाई हतारो थियो शायद, उनी डोको बिट मारिरहे । डोकोले पूर्णता पाउँदै गयो, मेहनतले भरिएको उनको जीवन जस्तै ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्