कोरोनाका कारण ऐतिहासिक रथयात्रा रोकियो

विराटनगर – प्रदेश १ कै धार्मिक गरिमा बोक्दै आएको राधाकृष्ण रथ यात्राले यसपटक कोभिड १९ का कारण विश्राम लिने भएको छ ।

१९८८ सालदेखि निरन्तर रुपमा कृष्णअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने ऐतिहासिक रथयात्राका लागि विभिन्न जिल्लाबाट भक्तजनहरुको सहभागिता रहँदै आएको थियो ।

तर यसपटक भने कोरोनाभाइरस कोभिड १९ का कारण रथयात्रा कार्यक्रम स्थगित गर्नुपरेको श्रीराधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए।

शनिबार समितिद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष ओझाले भने, ‘अहिले कोरोनाभाइरसको महामारीमा परेको बेला यहाँ पनि अछुतो रहन सकेको छैन। त्यसैले पनि रथयात्रा रोक्नु परेको छ।,’

लाखौं भक्तजनको प्रत्यक्ष सहभागिता हुने भएकाले भाइरसको जोखिम हुनसक्ने अवस्थालाई ध्यानमा राखेर रथ यात्रालगायत सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित गर्नुपरेको उनले बताए ।

१९८८ सालमा ‘खट’ यात्राबाट सुरु भई २०२५ सालदेखि रथ यात्राका रूपमा निरन्तर रुपमा हुँदै आएको छ । विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथले नगरको मुख्य बजारको परिक्रममा गर्दै करिब ८ किलोमिटरको यात्रा तय गर्छ ।

यसवर्ष कृष्णजन्मष्टमी साउन २७ र रथयात्राको तालिका २८ गते रहेको छ । त्यसपूर्व झुलनका कार्यक्रमहरु १५ गतेबाटै सुरु हुने रहेको थियो ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू