जीवन दर्शन

के संसार एक मायामात्र हो?

विगत २ वर्षदेखि मैले दर्शनशास्त्रको स्व–अध्ययन थालेको छु । अचेल इन्टरनेटले हामीलाई धेरै सजिलो बनाइदिएको छ – धेरै सन्दर्भ साम्रगीहरु फेला पर्छन्। स्टानफोर्ड बिश्वबिद्यालयको “इन्साइक्लोपिडिया अफ फिलोसफी” धेरै उपयोगी छ। यसले मलाई धेरै सिकाएको छ तर मेरो ज्ञान धेरै प्रारम्भिक चरणको छ, अधुरो, अपुरो छ भन्नेमा म सचेत छु।

शेखर गुरुसँग संस्कृत पढ्दा मैले सिकेको नीति श्लोकले पनि मेरो ज्ञान धेरै थोरै छ भनेर मलाई सचेत गराएको छ । उक्त श्लोक भन्छ:

“यदा किञ्चिज्ज्ञोऽहं द्विप इव मदान्धः समभवं
तथा सर्वज्ञोऽस्मित्य भवदवलिप्तं मम मनः ।
यदा किञ्चित किञ्चिव बुधजनसकाशादवगतं
तदा मूर्खोऽस्मीति ज्वरं इव मदो मे व्यपगतः 

यो श्लोकको भावार्थ हुन्छ – जब शुरुमा म केही जान्ने भएँ, हात्ती जस्तै मत्त अनि अन्धो भएँ । त्यतिबेला म नै सर्बज्ञ छु भन्ने अभिमानले मेरो मन भरियो । पछि जब बिद्धानहरुबाट अलि बुझ्दै, जान्दै आएँ तब मलाई “म त मूर्ख रहेछु” भन्ने बोध भयो । त्यसपछि शरीरबाट ज्वरो ओर्लिएजस्तै मेरो घमण्ड पनि साट्सुट्टै झर्‍यो। 

धन्न म आफू चाहिं मदान्ध भएको थिइन, तर यो नीति श्लोकले ज्ञानको असीमितताको बोध गरेको छु । मलाई अझ बढी नम्र बन्न प्रेरित गरेको छ ।

नीति श्लोकमा भनिएको छ –

अजरामरवत प्राज्ञो विद्यामर्थञ्च चिन्तयेत् ।
गृहीत इवं केशेषु मृत्युना धर्ममाचेरत ।।

अर्थात आफूलाई प्राज्ञ भन्ठान्ने व्यक्तिले म कहिल्यै पनि बुढो हुँदिन र कहिल्यै मर्दिन भन्ने भावना राखेर विद्या र सम्पत्ति आर्जन गरोस् । तर पुण्य कर्ममा भने मलाई मृत्युले कपालमा जकडेको छ भन्ने सोचेर धर्म गरोस् ।

“जेष्ठ नागरिक”को श्रेणीमा पुगिसकेकी म विद्या आर्जनको सन्दर्भमा अझै आफूलाई युवा नै ठान्छु र मेरो लागि पुण्य कर्म भनेको आफूले जानेको कुराहरु अरुसँग बाँड्नु नै हो । त्यसैले म लेख्ने प्रयास गर्छु ।

मेरी प्रिय लेखिका आयन रयाण्ड भन्छिन्:

समाज परिवर्तन प्रयेक मानिसको भित्रबाट नैतिक आन्दोलनद्वारा शुरु हुन्छ । सही बिचार र आदर्शलाई तर्कसँग छलफल र कलाहरुबाट पाइने प्रेरणाद्वारा फैलाउन सकिन्छ ।

कुनैपनि वस्तुका बास्तविकता बुझ्न कोशिश नै दर्शन हो । पूर्वीय दर्शनमा इश्वर, आत्मा, परमात्मा, सत्य आदिको खोजलाई दर्शनका रुपमा लिइएको छ । पश्चिमा सोचमा दर्शनलाई मिथक, तर्क र नैतिकता (मिथोस, इथोस् र लोगोस्) सँग जोडेर हेरिन्छ ।

त्यस अर्थमा हेर्ने हो भने हाम्रा पौराणिक ग्रन्थहरु धेरै मिथक जस्ता लाग्छन् तर तिनले तत्कालिन समाजको नैतिक धरातल पनि प्रष्ट्याउँछन् । हिन्दु धर्मशास्त्रका वेद, उपनिषद आदि ग्रन्थ र रामायण, महाभारत जस्ता ग्रन्थले पनि समाजशास्त्र, राजनीतिशास्त्रका बिभिन्न पक्षहरुको व्याख्या गर्दछन् ।

कोभिड–१९ ले हाामीलाई ठूलो पाठ पढाएको छ । व्यक्तिको भाग्य समाजसँग जोडिएको छ । हाम्रो समाज र यसका अवयवहरु नैतिक र सच्चरित्र नभएसम्म व्यक्तिको जीवन धरापमा छु, चाहे ऊ जस्तोसुकै ठूलो व्यक्ति किन नहोस् ।

पश्चिममा सुकरातलाई दर्शनका प्रणेताको रुपमा हेरेको पाइन्छ । उनी ग्रीसका अलेक्जेण्डर द ग्रेटका गुरु रहेछन् ।

सुकरातले आफै केही लेखेका रहेनछन्, तर उनले धेरै बिद्यार्थीहरुसँग छलफल गर्ने, प्रश्नहरु सोध्ने आदि गर्ने रहेछन् जसमा प्रेम, सुन्दरता आदिका कुराहरुका अतिरिक्त त्यसबेलाको समाज, राजनीति, आदिका विसंगतिहरुमा प्रश्नहरु उठाएर मान्छेलाई सोच्न बाध्य बनाउने रहेछन् ।

जुन व्यक्तिले आफूभित्र सम्पूर्ण ब्रह्माण्डको असीमित क्षमताको अनुभव गर्न सक्दैन उसले आफूलाई समाजबाट भिन्न “ऐलियन” सरह हेर्न थाल्छ, अनि दुःखी हुन्छ । त्यसैले परिवर्तनको प्रकृयाको अन्तिम बिन्दु भनेको मानिसको बुझाइ परिष्कृत हुँदै यथार्थलाई आत्मसात गर्न सक्ने क्षमताको बिकास हो । आत्मज्ञानले व्यक्तिलाई स्वतन्त्र बनाउँछ र यथार्थको नजिकै पुर्‍याउँछ। 

खासगरी प्राचीन ग्रीषमा सुकरातले प्रश्नहरु सोद्धै स्थापित मान्यताहरुलाई चुनौती दिनु अघि ग्रीक समाज निकै सामन्जस्य र सद्भावपूर्ण तरिकाले बाँचेको रहेछ । तत्कालीन समाजमा उनका प्रश्नहरुलाई रुचाइएन, खासगरी जब धर्ममाथि उनले प्रश्न गरे ।

शुकरातलाई बिष सेवन गराएर मृत्युदण्ड दिइएछ । उनको शरीर मरेर गयो, तर उनी अझै अमर छन् । उनका चेलो, दार्शनिक प्लेटोले २६ वटा पुस्तक लेखेका रहेछन् – धेरै पुस्तक प्रश्न उत्तर शैलीमा छ रे, अनि प्रश्नकर्ता शुकरात । दर्शनका लाखौं बिद्यार्थीले ती पुस्तकहरु पढे, अनि अझ दर्शनलाई परिमार्जित गर्दै आफैं नयाँ विचारहरु दिएर समाज र विश्वलाई नै अगाडि बढाए र बढाइरहेका छन् ।

यस सन्दर्भमा पढ्नु पर्ने र बुझ्नु पर्ने धेरै कुराहरु छन्, धेरै दर्शनशास्त्रीका विचारहरु छन्, जुन बुझ्न मेरा प्रयासहरु अपर्याप्त छन् । तर आफूले बुझेसम्मका कुरा अभिव्यक्त गर्न पाउने आफ्नो स्वतन्त्रताको उपभोग गर्दै केही लेख्ने जमर्को गर्दछु ।

दर्शनशास्त्रलाई मिथकबाट अझ परिष्कृत गर्दै एउटा विधाकै रुपमा विकसित गराउन र प्रश्न गर्ने संस्कृतिको विकास गर्दै तर्क संगत उत्तर खोज्न प्लेटोले धेरै महत्वपूर्ण भूमिका खेलेका रहेछन् ।

१९ औं सताब्दीमा जर्मन दार्शनिक हेगेलले ऐतिहासिक प्रक्रियाहरु, मानव मन, अधिकार र तर्कशास्त्रलाई अगाडि बढाउन ठूलो भूमिका खेलेका रहेछन् । कुनै उथल पुथल नभएको सहिष्णुतापूर्ण समाज हुनका लागि व्यक्तिगत सोच गौण हुन पुग्छ, तर जब व्यक्तिको अन्तस्करणले स्थापित बिचारहरुलाई चुनौति दिन्छन् तब सामाजिक सद्भाव खलबलिन जान्छ भन्ने हेगेलको बुझाइ रहयो ।

कुनैपनि थेसिसको एन्टिथेसिस (विलोम) हुन्छ, अनि नयाँ बिकसित घटनाक्रमको संश्लेषण सहित नयाँ थेसिस जन्मन्छ र पुनः परिमार्जित हुने क्रम चलिरहन्छ । यसरी द्वन्दात्मक सोचहरुबाट उत्पन्न अस्थिरताहरु व्यवस्थित हुँदै समाज निरन्तर अगाडि बढिरहन्छ उनले भने।

यो ऐतिहासिक परिप्रेक्षलाई बिश्लेषण गर्दै हेगलले भनेका रहेछन् – मानिसको दिमाग जति विकसित भयो उति नै धेरै स्वतन्त्रताको आकांक्षा राख्छ । अनि आत्मज्ञानको आलोकमा उसले यथार्थको बिश्लेषण गर्छ र आफूलाई परिष्कृत गर्दै लैजान्छ । त्यसैले उनले पनि यथार्थलाई व्यक्तिको मन, बुद्धि र आध्यात्मिक चेतसँग जोडेका छन् ।

जुन व्यक्तिले आफूभित्र सम्पूर्ण ब्रह्माण्डको असीमित क्षमताको अनुभव गर्न सक्दैन उसले आफूलाई समाजबाट भिन्न “ऐलियन” सरह हेर्न थाल्छ, अनि दुःखी हुन्छ । त्यसैले परिवर्तनको प्रकृयाको अन्तिम बिन्दु भनेको मानिसको बुझाइ परिष्कृत हुँदै यथार्थलाई आत्मसात गर्न सक्ने क्षमताको बिकास हो । आत्मज्ञानले व्यक्तिलाई स्वतन्त्र बनाउँछ र यथार्थको नजिकै पुर्‍याउँछ।

त्यसैले हेगलले भनेका छन्- The real is rational and the rational is real”

वास्तबिकतालाई तर्कसँग जोडेर बिश्व ब्रम्हाण्डमा मानवको चेतनाको वर्चस्व उजागर गर्न पश्चिमा समाजलाई हेगलको ठूलो देन रहेछ । पूर्विय दर्शनले त हजारौं बर्ष अघिदेखि आत्मज्ञानलाई प्राथमिकता दिंदै आएको छ ।

डिकार्टसले I think therefore I am, “आइ थिन्क, देरफोर आइ अ्याम – म सोच्छु, त्यसैले म छु ।” भनेर तर्कसंगत सोचद्वारा आधुनिकता (Modernity) को जग बसाले । मेशिनको प्रयोग, मानव संसाधनको उच्चतम विकास, किफायति र दीगो अर्थतन्त्र आदिद्वारा औद्योगिकिकरणका लागि चाहिने आधारभूत स्तम्भहरुको निर्माण गरियो ।

इमानुएल कान्ट, र हाबरमास जस्ता दार्शनिकहरुले आधुनिकता र उत्तर आधुनिकताका बिभिन्न आयामहरु केलाउँदै पश्चिमा समाजको विकासमा अभूतपूर्ण योगदान दिएका रहेछन् ।

सन् १९९० को दशकमा मनोबैज्ञानिक ली रसले “नाइभ् रियालिज्म” लाई मनोबैज्ञानिक रुपमा बिश्लेषण गरे । उनको भनाइमा व्यक्तिले आफूले देखेको चीजलाई आफ्नै तरिकाले बुझ्छ र त्यो चीजलाई फरक तरिकाले बुझ्ने मान्छेलाई अबुझ या “बायस्ड” पूर्वाग्रही भन्ठान्छ । दार्शनिकहरुले “नाइभ रियालिज्म”लाई झण्डै एक शताब्दी पूर्व नै भनिसकेका थिए कि व्यक्तिको “परसेप्सन”ले रियालिज्मलाई नियन्त्रण गरेको हुन्छ । त्यसैले यसलाई सोझो यथार्थवाद नभनेर “नाइभ” नामाकरण गरेका थिए ।

अफ्रिकी उखानमा भनिन्छ “बोकालाई आफू गन्हाउँछु भन्ने थाहा हुँदैन”त्यसैले “नाइभ रियालिज्म” अर्थात खोक्रो या यथार्थविहीन यथार्थवादले पीडित व्यक्तिहरु अलि बढी नै आत्मसम्मान भएका लोभी, परपीडक तर नैतिक आदर्शवाद छाँट्ने खालका हुन सक्छन् । अचेल मनोबैज्ञानिकहरुले नार्सिसिस्मले ग्रस्त व्यक्ति पनि नाइभ रियालिज्मको भ्रम पाल्छ भन्दारहेछन्।

यथार्थमा भन्ने हो भने संसार एक माया अर्थात् illusion हो । पश्चिमा समाजशास्त्री क्लिफर्ड गट (Clifford Geertg) भन्छन् – “Man is an animal suspended in well of significance that he himself has spun”

म सानो छँदा अष्टबक्र र राजर्षी जनकको कथा सुनेको थिएँ । अष्टबक्र राजर्षी जनकका गुरु थिए । एक रात राजा जनकले घनघोर लडाईंमा आफ्नो र आफ्ना सेनाको हार भएको देखेछन् । बिजेता राजाले उनलाई मृत्यु नदिई देश निकाला गरिदिएछन् । यसरी आफ्नो देशबाट सत्ताच्यूत भई निस्किएका राजा जनकले पानी माग्दासम्म पनि बिजेता राजाबाट सजायका डरले कसैले दिएनछन् । त्यसपछि छिमेकी देशसम्म जसोतसो पुगेका राजाले बल्ल केही खान पाएका थिए, त्यो पनि उड्दै आएको कागले खोसेर लगेछ । भोक र प्यासले छटपटाएको अनुभव गर्दै राजा झसङ्ग ब्युँझिएछन्। यो सबै उनको सपना रहेछ ।

तर राजाले यसलाई एकदम सत्य घटना जसरी अनुभव गरे । त्यसपछि राजालाई दरबारको दैनिक काम गर्न धेरै गाह्रो परेछ । उनी सोद्धा रहेछन् – “त्यो सत्य हो कि यो (उनको दरवारको वैभव, राजकाज आदि) सत्य हो ?” राजाको प्रश्न सुनेर अनि उनको अवस्था देखेर सबै चिन्तित भए । यो खबर सुनेर अष्टबक्र उनलाई भेट्न आए ।

अष्टबक्रले सोधे – “सपना कसले देख्यो ?” राजाले भने मैले । अष्टबक्रले सोधे – “यो दरवार र यसको वैभव, राजकाज कसले देख्दै छ ?” राजाले भने “मैले।”

अष्टबक्रले भने ‘हे राजन् – त्यसैले तपाई मात्र सत्य हो, बाँकी सबै मिथ्या हुन्” ।

हुन पनि दरवारको बैभबलाई हरेक व्यक्तिले आ–आफ्नै हिसाबले हेरिरहेको, बुझिरहेको र अर्थ्याइरहेको हुन्छ । त्यसैले यो पनि माया नै हो । अष्टबक्रको यस्तो भनाई सुनेपछि धर्मात्मा राजा जनक खुशी भए । उनी यसैपनि ऋषि जस्ता थिए – लोभ लालच विहीन ।

यसरी हाम्रा पूर्वीय दर्शनले संसारलाई मायाकै रुपमा हेरेको छ ।

म देख्छु हाम्रो समाजमा धेरै छटपटी छ, बेचैनी छ ।

अशेष मल्लका ‘मुक्तिको कल्पना’ कविताले हाम्रो समाजमा रहेका व्यक्तिहरुका भावनालाई अभिव्यक्ति दिएको छ ।

चराका पखेटा काटिदिनुस्
र, भन्नुस्
जा उड् आकाशमा ।

र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा

चराका प्वाँखहरु उखेलिदिनुस् र,
भन्नुस्
तेरो छातीमा
कहिल्यै
हिर्काउने छैन धनुका बाँडहरु र
कहिल्यै
शिकार गर्ने छैन
एकान्तमा

चराका पखेटा काटिदिनुस् र,
कल्पना गर्नुस्
मुक्त आकाशमा
आकाशिँदै उडेका
स्वतन्त्र उडानहरु

चराका प्वाँखहरु उखेलिदिनुस् र
गर्नुस् कल्पना
मुक्तिको ।

यो पनि हेर्नुहोस्:

जीवन मृत्यु

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्