लुप्राङका अक्कबहादुर चेपाङलाई आज खोरियाडालोको चटारो छ ।

‘सबैले घैया छरिसके, मकै रोपिसके । आफ्नो खोरिया अझै ‘जङ्गल’ भा’छ । भोलिचाहिँ आफ्नै खोरियाडालो गर्छु, कतै जान्न ।’ पिँडीको टाँडमा राति पल्टिने बेला गम्यो ।

कोल्टे फेर्दा दिमागमा खोरियाको तस्बिर प्रकट भयो । त्रिशुलीको बगरबाट उठेको भीर, बगरभन्दा केही माथि घना जङ्गल, त्योभन्दा केही माथि वनमासाले ढपक्कै ढाकेको अक्कबहादुरको खोरिया ।

त्यही त्रिशुली, जसको पारिपट्टि काठमाडौंदेखि पोखरासम्म तानिएको पृथ्वी राजमार्ग छ । त्यो रोड लुप्राङका अक्कबहादुरहरुले नै खनेका हुन् । तिनताका एकाबिहानै कोही मुढा, कोही डुङ्गा, कोही खिरखिरे चढेर त्रिशुली तर्थे र रोड खन्न जान्थे । तुइन त धेरै पछि आएको हो ।

बिहानदेखि साँझसम्म रोड खन्थे । ढुङ्गा पल्टाउँथे । बिहानको भात पनि, साँझको भात पनि क्याम्पमै खान्थे । सुत्न मात्र घर जान्थे । मुग्लिनसम्मै उनीहरुले यसरी नै खनेका हुन् । तर अहिले त्यो रोडमा लखपति, करोडपति, अर्बपति कुदिरहन्छन् । व्यापारी, ठेकदार, डाक्टर, वैज्ञानिक, नेता, मन्त्री, तस्कर, भ्रष्टाचारी पनि कुदिरहन्छन् ।

अक्कबहादुरहरु फिस्लिङ जानुपर्दाचाहिँ रोडरोडै हिँड्छन् । कुरिन पनि हिडेरै पुग्छन् । मझिमटार जान पनि अहिलेसम्म गाडी चढेका छैनन् । ऊ जाने सबैभन्दा टाढा भनेको सदरमुकाम हो । आफ्नै सदरमुकाम पुग्न पनि तीनवटा जिल्ला धादिङ, चितवन, तनहूँ कटेर जानुपर्ने । बहुदल आएपछि एकफेर गाविसले बस रिजर्भ गरेर अक्कबहादुरहरुलाई नागरिकता बनाउन लिएर गएको थियो ।

राजमार्ग भन्दा पारिपट्टि निश्पट्ट जङ्गल छ । रातो बाँदर, कालो बाँदर, ढेँडु बाँदर रुखरुखमा हाम्फालिरहेको देखेर राजमार्गमा सिलिलि सिल्किनेहरु मनोरञ्जन गर्ने गर्छन् । त्यही जंगलको छेउछाउको ऐलानी खोरियामा पुस्तौँदेखि अक्कबहादुरहरु खनीखोस्री बसिरहेका छन् । भारी बोकेर उकाली ओराली गरिरहेका छन् ।

त्यही त्रिशुली, जुन असाध्यै गहिरो छ, जहाँ खसेको गाडी प्राय भेटिदैन । बगरतिरै खस्यो भने अक्कबहादुरहरु तुइन तरेर उद्धार गर्न जान्छन् । पानीमै खसेको गाडी फेला परेको उसले अहिलेसम्म थाहा पाएको छैन ।

त्यही त्रिशुली, जसको मुस्लोमा २७ बर्षअघि उसकी बाटुली खसेकी थिई । चिउरीको डालो झार्न खोज्दा खुर्मुरिएकी थिई । बगरै थिएन । एकैचोटि मुस्लोमा पछारिएकी उ यावत गाडी जस्तै अलप भई । एकदुई दिन त अक्कबहादुर बगर बगरै मुग्लिनपुलसम्म खोज्न पनि हिँड्यो । तर फेला पारेन ।

बाटुलीका बा आमाले दाइजोस्वरुप बाटुलीसँगै दिई पठाएको त्यो चिउरीको रुख लुप्राङको पखेरामा अझै ठिङ्गै छ । अक्कबहादुरको घरमा भित्रिँदा आउँदा जुन रुख लिएर आएकी थिई, त्यही रुखले बाटुलीलाई त्रिशुलीमा फालेको थियो । तर अक्कबहादुर त्यो रुखसँग कत्तिपनि रिसाएको छैन ।

चिउरी गुनिलो हुन्छ भन्ने उसले सानैदेखि जानेको छ । बाटुलीले साथ छोडी तर उसले ल्याएको त्यो चिउरीको रुखले उसको साथ छाडेको छैन । अहिलेसम्म पनि उ त्यसको वरिपरिको झार उखेल्छ । झाडी फाँड्छ । मायालु आँखाले झ्याम्म परेको त्यसको शीरदेखि पाउसम्म हेर्छ ।

त्यो चिउरी नभएको भए के हुन्थ्यो कुन्नि उसलाई थाहा छैन । चिउरी छ र उसलाई धेरै सजिलो भएको छ ।

त्यही चिउरीको घाँस हो, गाई बाख्राको गोठमा थुप्रिइरहने । त्यही चिउरी थियो र उसको घरमा बर्षौँदेखि एकघार मौरीले छाडेको छैन । उसको मौरी सबैभन्दा धेरै चिउरीकै फूलमा झ्याम्मिन्छ ।

त्यति मात्र कहाँ हो र ? त्यही चिउरी थियो र त बेलाबेला उ मासु खान पाउँथ्यो । कात्तिक मङ्सीरको बेला चिउरीको रुखमा ढकमक्क फूल फुल्थे । टाढाटाढा देखिका चमेरा चिउरीको फूल खान झुम्मिन्थे । उ रातभरि रातभरि चमेरालाई जाल थाप्न जान्थ्यो । फर्कँदा एक झोला चमेरा बोकेर ल्याउँथ्यो । त्यतिबेला उसका लालाबाला कति रमाउँथे, उ झटक मानी हेरिरहन्थ्यो । कात्तिक मङ्सीरको धेरै छाक चमेराको मासुले टारेको उ कहाँ बिर्सन सक्छ ? त्यसैले त उसले चमेरालाई थाप्ने जाल करेसामा जतन गरेर उभ्याएको छ ।

त्रिशुली खोरियाका अक्कबहादुरहरु चिउरीको बियाँ बोरामा सँगालेर राख्छन् । घाममा सुकाउँछन् । ढिकी वा खलमा कुटेर फुलो बनाउँछन् । फेरि दुईतीन घाम सुकाउँछन् । त्यही धुलो पेलेर पाथीका पाथी घ्यु बनाउँछन् । त्यसैले त उनीहरुको पेटमा चिल्लोचाप्लो पर्ने गर्छ । सुत्केरीलाई यो धेरै जात्ति छ । सुत्केरीको कुनो उतार्ने नै यसैको घिउले हो । कुखुरा त कति पो काटिन्छ र ? बाटुली त अलप भएर गई । त्यै बाटुली जस्तै गुनिलो लाग्छ चिउरी उसलाई ।

त्यही चिउरी थियो र उसको धेरै छाक टरेको थियो । खोरियाडालाको अन्नले त कति पो धान्छ र ? धेरै छाक त वनमा फल्ने फलफूल, गिठा, भ्याकुर, तरुल, त्यागुनाले टार्नुपर्छ । तिनीहरुमध्य सबैभन्दा उत्तम हो चिउरी । पाकेपछि चिउरी मात्रै खाएर पनि उसको धेरै छाक टर्ने गर्छ । आफू मात्र होइन, छिमेकीले पनि चिउरी खाएर सुतेको उसले देखेको छ ।

त्रिशुली खोरियाका अक्कबहादुरहरु चिउरीको बियाँ बोरामा सँगालेर राख्छन् । घाममा सुकाउँछन् । ढिकी वा खलमा कुटेर फुलो बनाउँछन् । फेरि दुईतीन घाम सुकाउँछन् । त्यही धुलो पेलेर पाथीका पाथी घ्यु बनाउँछन् । त्यसैले त उनीहरुको पेटमा चिल्लोचाप्लो पर्ने गर्छ । सुत्केरीलाई यो धेरै जात्ति छ । सुत्केरीको कुनो उतार्ने नै यसैको घिउले हो । कुखुरा त कति पो काटिन्छ र ?
बाटुली त अलप भएर गई । त्यै बाटुली जस्तै गुनिलो लाग्छ चिउरी उसलाई ।

त्यही त्रिशुली हो, जसको किनारमा ठूलो पहरा छ । उ बिहान उठ्नेबित्तिकै कम्मरमा खिरखिरे बाँधेर त्रिशुली किनारतिर झर्छ । उ भन्दा अघि नै अरुहरु आइसकेका हुन्छन् । हिजोसाँझ दुलोमा लुकाइराखेको घन झिक्छ । ओढारमा लुकाइ राखिएको कोर्को झिक्छ । ठूल्ठूला ढुंगा फुटाएर साइज मिलाउँछ । कोर्को भर्छ । त्रिशुलीमाथि झोल्लिएको लठ्ठामा ढुंगा भरिएको कोर्को झुण्ड्याउँछ । अनि आफू खिरखिरे चढ्छ । खिरखिरेको अंकुश त्यही लठ्ठामा अड्काउँछ र कोर्कोलाई धकेल्दै धकेल्दै पारि तार्छ । उसले त्रिशुली तारेको ढुङ्गा हेटौडा सिमेण्ट कारखाना पुग्छ । यसबाट आएको पैसाले उसले हातमुख जोर्ने गर्छ ।

त्यही त्रिशुलीमाथि छ उसको खोरिया । गोरु लगाएर जोत्न नमिल्ने सुर्को । चैत लागेदेखि फाँडफुँड गर्नुपर्ने, यसपाला ढिलो भइसकेको थियो ।

…..

यसैपालि गाउँमा दादुरा आयो । उसको फेटको मात्रै झण्डैझण्डै दुईसय जना बालबालिकालाई थला पार्‍यो। जाँदा छ जनालाई लिएर गयो ।

नलैजाओस् पनि कसरी ?

त्रिशुली किनारका चेपाङगाउँमा सँधैजसो दादुराको डढेलो लाग्थ्यो । जसले सानुँछँदा अक्कबहादुर पनि एकसातासम्म निष्लोट भएर सुतेको थियो ।

ज्यानभरि बिबिरा उठेको थियो । पसिनाले निथ्रुक्क भएको लुगा आमाले छिनछिनमै निचोर्दै अर्को फेर्दै राखेकी थिइन् । अस्पताल थिएन, डाक्टर थिएनन्, औषधी थिएन । लुगा फेर्दै सुत्दै गरेर चौध दिनमा दादुरा भगाएको थियो ।

आफू तङ्ग्रिएर बाहिर निस्किएपछि धेरै दौतरीहरु उसले भेट्न पाएन ।

त्रिशुली खोरियाबाहेक अन्यत्र दादुरा छैन भन्ने कुरा उसले ठूलो भएपछि सुनेको थियो । किनभने सरकारले दादुरा उन्मुलनका लागि धेरैबर्षदेखि अभियान चलाएको थियो । तर उसको गाउँमा दुई, तीनबर्ष बिराएर दादुरा आइरहन्थ्यो । अहिले पनि आइरहन्छ ।

सरकारले बर्षेनी दादुरा र रुबेलाविरुद्धको खोप अभियान देशव्यापी सञ्चालन गर्छ । यसको बारेमा सेमिनार गर्ने, जनचेतना फैलाउने र खोप लगाउने भनेर अर्बौ खर्च गर्छ । तर उसको ठाउँमा न खोप पुग्छ, न उनीहरु खोपकेन्द्र पुग्छन् ।

त्यहाँका डाक्टर भनेकै स्थानीय स्वास्थ्य कार्यकर्ताहरु हुन् ।

‘भोलि बच्चा लिएर वनटार खोपकेन्द्रमा आउनू है’, गाउँका स्वास्थ्य कार्यकर्ता टोलटोलै भन्दै हिड्छन् ।

‘हाम्रो काम कसले गरिदिन्छ ? हामी त मेला जानुछ’, एउटी भन्छे ।

‘मलाई त बुढाले जान दिदैन ।’

‘नानी रुन्छ । ज्वरो आउँछ । म त लान्न ।’

‘ओहो, वनटार जान चारघण्टा लाग्छ । फर्किन झन पाँचघण्टा लाग्छ । को जाने त्यति टाढा ?’

बर्षेनी यस्ता जवाफले स्वास्थ्य कार्यकर्ता आजित हुन्थे । तीनसय जनालाई खोप लगाउने लक्ष्य राखेको खोपकेन्द्रमा वरिपरिका ४०, ५० जनाले मात्र खोप लगाउँथे । छुटेकालाई भोलिपल्ट घरघरमा गएर पनि लगाउनू भन्ने आदेश आउँथ्यो । आदेश अनुसार स्वास्थ्य कार्यकर्ताहरु गाउँ पस्दा आमाहरु बालबच्चा बोकेर बारीबारी कुलेलम ठोक्थे ।

आमाले स्वास्थ्यकर्मीबाट लुकाएर जोगाएका बालबालिका अर्को बर्ष दादुरा आएर लैजान्थ्यो । यसबर्ष पनि दादुरा उनीहरुलाई लिन आएको थियो । आमाले न लुकाउन सक्थी, न जोगाउन सक्थी ।

…..

त्यो त्यही खोरिया हो, जुन उसले १८ बर्षको उमेरमा जोडेको थियो । दुईरोपनी पाँच आना जति छ । सबैले उसकै हो भन्थे । तर उसको खोरिया हो भनेर लेखिएको कुनै कागज थिएन ।
उसले त्यहाँ खनीखोस्री गर्न थालेको ६५ बर्ष भयो । त्योभन्दा अघिसम्म त्यहाँको उव्जनी नाराद मुखियाले खान्थे । खनीखोस्रीचाहिँ अक्कबहादुरले नै गर्थ्यो।

सौतेनी बाउले नौ बर्षको हुँदा अक्कबहादुरलाई नाराद मुखियाको घरमा लगे । ‘तँ आज यहीँ बस् । म भोलि आउँछु अनि सँगै फर्कने है’ भनेर बाउ फर्किए । तर बाउ भोलिपल्ट आएनन् । अर्को भोलि पनि आएनन् । भोलि सँधै आज बनेर आयो । उसले न बाउले भनेको भोलि देख्यो, न बाउ देख्यो ।

बिहानै उठीवरी साहुको धन्सारमा आगो फुक्थ्यो । जाडोमा लग्लग् काम्दै दुहुनु गाईभैँसीलाई कुँडो र अरुलाई नूनपानी बसालेर गोबर फाल्थ्यो । मुखियाको गोठमा १८ वटा गाई, एकहल गोरु, साना ठूला गरी छवटा भैँसी थिए । १३ वटा बाख्रा, चारवटा खसी थिए । सबैलाई घाँसपानी खुवाउँदा बिहान १० बज्थ्यो ।

आमाको पछि लागेर यी बाउको घरमा आउँदा उ तीन बर्षको थियो । ठूलो निधार, दुई ठूला तेजिला आँखा, पोटिलो गाला, टिठलाग्दो निर्दोष अनुहार, मोटो कुमुक्क परेको जिउडाल थियो । टिठलाग्दो अनुहार देखेर होला, झड्केलो भए पनि नयाँ बाउले उसलाई हेला गरेन ।

दिनभर गोठालो जान्थ्यो । बस्तु बाँधेपछि घाँस काट्न वनमा जान्थ्यो । साँझमा झ्याउँकिरी कराउन थालेपछि अजङ्गको भारी बोकेर फर्कन्थ्यो । उसको नित्यकर्म यही थियो ।

यही चक्रमा तीनसय ६५ दिन बितेपछि मुखियाले उसका बाउ जमाते चेपाङको हातमा तीनसय रुपैयाँ थमाइदिन्थे । यही समझदारी थियो ।

‘बाउले मलाई नाराद मुखियाको घरमा बर्षको तीनसय रुपैयाँमा बेचेको रहेछ’, अक्कबहादुरले धेरैबर्षपछि मात्रै बुझ्यो ।

उमेर पाक्दै गयो । उसले नाराद मुखियाको खेतबारी जोत्न थाल्यो । खोरियामा खनजोत गर्न थाल्यो । घरगोठको कामबाट उ खेतबारीको कामतिर प्रोमेशन भयो । उसको प्रोमोशन भत्ता बाउतिर थपियो । उसका बाले अब बार्षिक चारसय रुपैयाँ पाउन थाले ।

…..

आमाको पछि लागेर यी बाउको घरमा आउँदा उ तीन बर्षको थियो । ठूलो निधार, दुई ठूला तेजिला आँखा, पोटिलो गाला, टिठलाग्दो निर्दोष अनुहार, मोटो कुमुक्क परेको जिउडाल थियो । टिठलाग्दो अनुहार देखेर होला, झड्केलो भए पनि नयाँ बाउले उसलाई हेला गरेन ।

त्यो घरमा आमाले एउटी बहिनी जन्माइन् । बहिनी दुईबर्षकी भएपछि उनीहरुलाई छोडेर त्रिशुलीपारिको अर्को बाउसित गइन् ।

आफ्नी आमा गएपछि यी बाउको घरमा अर्की आमा आइन् । आमासित भाइ उमेरको एउटा साथी पनि आयो । उसलाई ‘भाइ भन्’ भन्थिन् । मनले मागेजति खानेकुरा दिन्नथिन् । बरु पहिलाकी आमाले बाउको आँखा कान छलेर कहिलेकहीँ दिउसो पनि खानेकुरा दिन्थिन् । नयाँ आमाको पालामा दिउसोको खाजा कटौती भएको थियो ।

ऊ र भाइ नब्युँझिदै खाना पकाएर नभेट्ने ठाउँमा राखेर बाउ र आमा कता काममा जान्थे थाहा थिएन । आउँदा १२ बज्थ्यो । बिहानको खाना खाएर भाँडाकुँडा माझेपछि फेरि दुईबजेतिर कताकता काममा गएर साँझ सातबजेतिर मात्र फर्कन्थे ।

भोकले रन्थनिएर दिउसो गाउँ चहार्दा आफै जत्राबाहेक आमा, बाउ, फुपू, मामा जत्रा कोही भेटिन्थेनन् । काँचै टिपेर खाने तरकारी पनि कतै बारीमा हुदैनथ्यो । फलफूल रोप्ने चलनै थिएन ।

साँझमा फर्कँदा कहिले गिठाभ्याकुर, तरुल, त्याकुना लिएर आउँथे । त्यही खाएर सुत्थे । कहिले आँप लिएर आउँथे । त्यही खाएर सुत्थे । कहिले हरियो मकै पोलेर, उसिनेर खाएर सुत्नुपथ्र्यो । सिस्नु लिएर आउँदा अल्लि खुशी लाग्थ्यो, सिस्नु र खोले उसलाई सबै भन्दा मनपर्ने खानेकुरा भएर । सेतो भात हप्तामा एकदुई दिन खान पाइन्थ्यो । नत्र प्राय ढिडो नै पाक्थ्यो ।

२४ घण्टामा बिहान १२ बजेतिर र साँझ आठबजेतिर बाहेक अरु नियमित खाना हुदैनथ्यो । बेलुकीको ढिँडो उप्रिएको भए बिहान उठेपछि खान पाइन्थ्यो । चिउरी, आँप, कटुस, काफल, तिँदु फल्ने सिजनको कुरो अर्कै ।

नाराद मुखियाको घरमा गएपछि बिहान र बेलुकाको खानाचाहिँ समयमै पायो । दिउसो खाजा पनि पायो ।

…..

नौ बर्षपछि अक्कबहादुर मुखियाको घरबाट फर्कियो । जन्मेको घर उसलाई थाहा थिएन त्यसैले आमाले छाडेर गएको घर फर्किएको हो ।

फर्किँदा बाउले घरमा दुइटा आमा जम्मा पारेका थिए । आफ्नी आमा कता पुगिन् उसले खोज्दा पनि खोजेन । थाह पनि पाएन । यी दुई आमा पनि उसले चिनेन ।

दुइटै आमातिर दाइभाइ भने धेरै रहेछन् । कतिपय त उ जस्तै कुनै साहुको घरमा हली बस्न गइसकेका पनि हुनसक्थे, उसलाई थाहा थिएन ।

‘उ त्यो खोरिया नाराद मुखियाले दिएको पैसाले तेरो बाउले किनेको हो नि’, एकदिन गर्भेले एउटा खोरिया देखायो ।

‘हँ ?’ उसले कुरा बुझेन ।

‘तँ नारद मुखियाको घरमा काम गर्न गइस् । मुखियाले तेरो बाउलाई बर्षेनी चारसयका दरले पैसा दिन्थ्यो । त्यही पैसा जम्मा पारेर तेरो बाउले बाह्रसय रुपैयाँ हालेर नाराद मुखियासँग खोरिया किनेको छ । त्यै खोरिया हो त्यो । अब त बुझिस् ?’

‘ए’, उसले लेग्रो तान्यो ।

‘बुझिस् ?’

‘अँ ।’

‘के बुझिस् त ?’

‘हाम्रो बाउले खोरिया किनेछन् ।’

‘त्यति मात्रै बुझेको ?’

‘यति मात्र त भनेका छौ, कति बुझ्ने त ?’

‘लाटो नि लाटै रहेछ । तँलाई बेचेपछि तेरो बाउले नाराद मुखियाबाट बर्षैपिच्छे पैसा लिन्थ्यो । थाहा थियो कि थिएन ?’

‘मलाई के थाहा त ?’

‘ल अब थाहा पाइराख् । त्यही पैसाले यो ऐलानी खोरिया किनेको हो ।’

‘ए ।’

‘अब के गर्नुपर्छ त, थाहा छ ?’

‘अहँ, केही पनि थाह छैन ।’

‘ल सुन् ………।’

त्यसदिन चिउरीको फेदमा बसेर गर्भे र अक्कबहादुर धेरैबेर गफ गरे । अक्कबहादुरले झटक मानीमानी सुनिरह्यो ।

‘मैले त तँलाई सानोमै देखेको । देख्दैमा माया लागेको । तेरो घरमा के के भइरहेको छ भनेर सबै थाहा पाइराखेको भएर यति कुरा भनेको हो । अब तँ जे गर्छस् गर’, साँझ अबेर भएपछि छुट्निे बेलामा गर्भेले भनेको थियो ।

घरमा एउटा बाउ, त्यही पनि सौतेनी, जसले उसलाई बेचिसकेको थियो । आमा दुइटा, तर दुवैजना नचिनेको । भाइबहिनी बग्रेल्ती, चिनेरै साध्य नलाग्ने । घर भनेर जान मन पनि नलाग्ने । खानेकुरा नभएको, बस्ने, सुत्ने ठाउँ पनि नभएको । उसलाई त्यो घरमा फर्केर जान मन लागेन ।

अब उ १८ बर्ष भइसकेको थियो ।

एकदिन दिनभरि डाँडाभाटा बोकेर उसले बाउले किनेको ऐलानी खोरियाको एउटा कुनामा छाप्रो हाल्यो । त्यो रात त्यहीँ बितायो । भोलिपल्ट बिहान बाउको घरमा गयो ।

‘त्यो खोरियामा अब म काम गरेर खान्छु है बाउ । म यो घरमा पनि बस्दिन । छुट्टै बस्छु ।’

‘तैले त्यहाँ गरेर खाए, यत्रो परिबारचाहिँ कहाँ गरेर खाने ?’

‘मलाई के थाहा त ?’

‘बढ्ता नबोल् ।’

बिहानभरि चलेको यो जुवारीको टुंगो लागेन ।

विवाद समाधान गरिदिने नाराद मुखिया हुन् । अक्कबहादुरलाई मुखियालाई बोलाउन आँट आएन । ‘खुच्चिउँ’ भन्ला भन्ने डर । ‘किन भागेर गइस् ?’ भन्ला भन्ने डर ।
अक्कबहादुरले गाउँकै बुढापाका जम्मा पारेर नियाँ माग्यो ।

बुढापाका जति सबै जमातेका दौतरी थिए । भित्रभित्रै कुरा खुवाउने गर्भे एक्लैले अक्कबहादुरलाई साथ दिने कुरै भएन ।

उसको अभिभावक पनि थिएनन्, साथी संगति पनि थिएनन् । आफ्नो पक्षमा आफू मात्रै भयो । अरु सबै विपक्षमा । न्याय र अन्याय चर्को स्वर, ठूलो ज्यान र हुलले निर्धारण गर्ने परम्परा परापूर्वदेखि चल्दै आएको हो ।

उसले दिनभरि पसिना काढेर बनाएको छाप्रो भोलिपल्टै नयाँ आमासंग आएका दाइभाइ पर्नेहरुले भत्काए ।

त्रिशुलीपारि राजमार्ग खन्ने बेला परेको थियो । आफ्नै पसिनाले किनेको खोरिया खोसिएपछि उ त्रिशुली तर्‍यो। साँझ, बिहान खान र बस्नलाई क्याम्प थियो । मझिमटारदेखि मुग्लिनसम्मको काम उसले छोडेन । एक महिना काम गरेपछि खाएर बसेर ३५ रुपैयाँ जोगिन्थ्यो ।

यही कमाइ लिएर एकदिन नारद मुखियाको घरमा गयो र बाउको सँगै रहेको ऐलानी खोरियाको मोल गर्न लगायो । नफाँडेको दुई रोपनी पाँच आना खोरियालाई मुखियाले १४ सय मोल गरे । १२ सयको उसको ढिपी मुखियाले सुन्दै सुनेनन् ।

उसलाई त बाउसंगैको खोरिया लिएर देखाउनु थियो । देखायो ।

एक्लैले खोरिया फाँड्यो । घैया छर्‍यो। आफ्नै खोरियामा लहलह भएर घैयाधान झुलेको पहिलो पल्ट देखेपछि उसलाई साह्रै झटक लाग्यो । धान नपाक्दै एकघान काट्यो । छिमेकीको ढिकीमा कुट्यो । राम्ररी नपाक्दै कुटेकाले चामल भन्दा पिठो धेरै भएको थियो । एउटा सुर्कोको छेउमा दुईबोट केरा पनि रोपेको थियो । त्यसले पनि घरी हालेको थियो ।

उसले एक हाता काँचो केरा काटेर ल्यायो । आफ्नै बारीको घैया धानको भात र केराको तरकारी पकायो । आफ्नै पौरखको कमाइ खाएको खुशीले उसलाई त्यस रात निदाउन पनि मुस्किल भएको थियो ।

…..

खन्खन्ती पैसा तिरेर जग्गा किनेपछि मालपोत कार्यालयमा गएर आफ्नो नाममा पास गर्नुपर्छ, अनि त्यसको लालपूर्जा आफ्नो नाममा हुन्छ भन्ने न उसको बाउले जानेका थिए, न उसले ।

उसले मुखियाको जग्गा लिएको २७ बर्षपछि देशभरि जग्गाको नापी टोली पुग्यो । ऐलानी जग्गामा बसेका देशभरका सबै बजारहरुको लालपूर्जा बन्यो । सोरानी भित्र्याएका देशभरका जग्गाधनीले थप जग्गासहितको नयाँ लालपूर्जा पाए । मूलबाटो, चौर, बगैँचा पनि दर्ता भए, लालपूर्जा बने ।

राजमार्गतिरका जग्गा नाप्ने नापी टोली डुङ्गा चढेर त्रिशुली तर्न सकेनन् । अक्कबहादुरहरुले नापी टोलीलाई खिरखिरे चढाएर लुप्राङतिर लैजान पनि सकेनन् । गर्भेहरुले नापी टोली आएको बारे सुइँको पनि पाएनन्, जमातेहरुले पनि पत्तो पाएन ।

उसलाई थाहा छ, गाउँमा १० बर्षे सशस्त्र युद्ध हाँक्ने नारद मुखियाका छोराहरु नै थिए । जुवातास, जातभात, शोषण, उत्पीडन, बिकृति अन्त्य गर्ने बर्गीय उत्थान गर्ने भन्दै बिभिन्न गाउँमा हिड्ने जत्थाको नाइके नारद मुखियाका छोराहरु नै थिए ।

उसले बुझेको थियो, त्यो सशस्त्र जत्था आफ्नो गाउँमा नआएकाले द्वन्द्वका बेला कसैले सहादत पाउनु परेन ।

युद्ध गयो, चुनाव आयो । अक्कबहादुरहरुकै भोटले मुखियाका छोराहरु कोही गाउँपालिकाको अध्यक्ष, कोही वडा अध्यक्ष बने ।

तर त्रिशुली किनारका अक्कबहादुरहरु अहिले पनि ऐलानी खोरिया किनिरहन्छन्, बेचिरहन्छन् ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्