कोरोनाका कारण काठमाडौँका दुईसहित थप तीनजनाको मृत्यु

काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ।

काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यससँगै नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए ।

१७ गते कोरोना पुष्टि भएका उनको २६ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै पाटन अस्पतालमै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी क्षयरोगको उपचारका लागि असार १८ गते अस्पताल भर्ना भएकोमा असार २२ गते कोरोना पुष्टि भएको थियो ।

उनको असार २५ गते मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै काठमाडौँ गोकर्णेश्वर नगरपालिका –४ घर भएका ५४ वर्षका एक पुरुषको पनि कोरोना संक्रमणका कारण असार २५ गते उपचारको क्रममा मृत्यु भएको गौतमले बताए ।

उनी मिर्गाैला रोगका बिरामी समेत रहेको गौतमले बताए ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्