रोनाल्डोका दुई गोलले युभेन्टसलाई हारबाट जोगायो

उपाधि होडमा रहेको युभेन्टसलाई महत्वपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोले हारबाट जोगाएका छन्।

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा युभेन्टस एट्लान्टासँग २–२ को बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ५५ र ९० औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । रोनाल्डोले यो सिजन सबै प्रतियोगितामा गरेर युभेन्टसका लागि ३२ गोल गरेका छन् ।

एट्लान्टाका लागि जापाटाले १६ औँ तथा मालिनोभ्स्कीले ८० औँ मिनेटमा गोल गरेका हुन्।

बराबरीपछि शीर्ष स्थानको युभेन्टसको ३२ खेलबाट ७६ अंक भएको छ। लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा दोस्रो स्थानको लाजिओ भने सासुओलोसँग २–१ ले पराजित भयो । पराजित भएको लाजिओको ३२ खेलबाट ६८ अंक छ ।

अर्को खेलमा रोमाले ब्रेसियालाई ३–० ले पराजित गरेको छ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्