विपद

मनसुनको पहिलो महिनाः बाढी पहिरो र चट्याङ्गले कम्तिमा ९५ जनाको मृत्यु

बाह्रबिसेको पहिरो।

काठमाडौँ – मनसुनको पहिलो महिनामा यो वर्ष नेपालमा बाढी, पहिरो तथा चट्याङ्गका कारण कम्तिमा ९५ जनाको ज्यान गएको छ ।

गएको जुन १२ अर्थात जेष्ट ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरोसहितका घटना भएका हुन् । यी घटनामा यो अवधिमा ३८ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको ज्यान गएको छ । त्यसमध्ये ७१ जनाको शव भेटिएको छ भने पाँचजनाको अझै पनि शव फेला परेको छैन । यस्तै पहिरोमा परेर देशभर यो अवधिमा ३५ जना बेपत्ता भएका छन् भने ७२ जना घाइते भएका छन् ।

पहिरोका कारण देशभर २६६ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । १२६ निजी आवास पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने २० घरमा आंशिक क्षति पुगेको प्राधिकरणले उल्लेख गरेको छ ।

यस्तै पछिल्लो एक महिनामा चट्याङ्गका कारण देशभर १७ जनाको ज्यान गएको छ भने ४२ जना घाइते भएका छन् । यसैगरी बाढीमा परी दुईजनाको ज्यान गएको छ । तीनजना बेपत्ता रहेका छन् । बाढीका कारण देशभर ७९ परिवार प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी क्षति  म्याग्दीमा भएको छ । त्यहाँ पहिरोमा परेर अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको हो । अझै चारजना बेपत्ता छन् ।

यस्तै कास्कीमा अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एकजनाको मृत्यु भएको हो ।

यसैगरी जाजरकोटबाट अहिलेसम्म नौजनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौजनाको मृत्यु भएको हो । अझै ६ जना बेपत्ता रहेका छन् ।

यसैबिच यो वर्ष मनसुनमा सामान्य वर्षा हुने पूर्वानुमान मौसमविदले गरेका थिए । सो अनुसार जुनमा औषत भन्दा बढी वर्षा भएको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

यस्तै जुनको पहिलो १२ दिनको तथ्यांक हेर्दा पनि औषत भन्दा बढी नै वर्षा भएको देखिएको उनले बताएका छन् । मनसुनको अबको अवधिमा पनि सामान्य वर्षा हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाको छ ।

गएको वर्ष भने मनसुनमा औषत भन्दा कम वर्षा भएको थियो । यो वर्ष मनसुन लगातार सक्रिय रहेकाले मनसुनमा हनु सक्ने विपदको जोखिम बढी देखिएकाले सचेत रहनु पर्ने र पूर्वतयारीलाई जोड दिइनु पर्ने मौसमविदको सुझाव छ ।

असार २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्