‘होटल क्वारेन्टिनमा काम गरे पनि मनमा डर छैन’

काठमाडौँ – ‘लकडाउनमा नयाँ कामको थालनी गरेँ’ उनी भन्छन्। सराकरले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण अरु जस्तै उनले पनि आफ्नो रोजगार गुमाए।

केही समयका लागि रोजगार गुमाए पनि उनको आम्दानी आउने बाटो नै रोकियो। विगत एक वर्षदेखि सब्रिना होटलका सेफ (खाना पकाउने व्यक्ति) छन्, गोकर्णका भोला भण्डारी।

रोजगार गुमाएपछि भण्डारीलाई महसुस भयो, यस्ता विपत्तिहरुले सधैँ गर्दै आएको जागिरमा ब्रेक लाग्ने या छोड्नुपर्ने परिस्थिति पनि आउन सक्छ। लकडाउनले उनलाई यस्तो सोच्न बाध्य बनायो।

लकडाउनले धेरैका जागिर खोसे पनि नयाँ अवसरको पनि सिर्जना गरेको छ। एक अवसर भोलाले पनि पाएका छन्। उनले लकडाउनकै समयमा सानो कुखुरा फार्म सञ्चालनमा ल्याएका छन्।

करिब २० हजारको लागतमा सञ्चालनमा ल्याएको कुखुरा फर्मलाई उनी आफ्नो सेफको काम सँगै निरन्तरता दिने बताउँछन्। उनी भन्छन्, ‘अहिले सानो कुखुरा फार्म खोलेको छु। बिस्तारै बढाउँदै लैजान्छु।। सबै राम्रो भए स्टाफहरु राखेर अझै बिस्तार गर्छु। यसमा मलाई परिवारले पनि साथ दिनुभएको छ। पछि पनि दिनुहुन्छ।’

‘शायद……. सानै भए पनि यो कामको सुरुवात हुने थिएन होला ! लकडाउन नभएको भए’, उनले सुनाए। अन्य संस्थामा आबद्ध भए पनि आम्दानीको स्रोतका लागि आफ्नो व्यवसाय पनि हुनुपर्ने उनी बताउँछन्। ‘लकडाउनको समयलाई सदुपयोग गर्दै र यस्ता विपतिरका कारणले काम गुमाएपछि पनि अरु विकल्प रहेछ भन्ने सोच्ने मौका पाए’ उनले भने ‘काम पनि सुरु गरे।’

उनले नयाँ कामको थालनी मात्र गरेनन्, परिवारको महत्व पनि थाहा पाए, लकडाउनमा । उनले लकडाउनभर कुखुराको हेरचारमा र परिवारसँग बिताए।

करिब तीन महिनापछि खुकुलो भएको लकडाउनले दिनचर्या बदलिएको छ। उनी असार १ गतेदेखि पुनः पुरानै काममा फर्किएका छन् अथात् होटल सब्रिना फर्किका छन्।

उनी पाहुनाका लागि होटलमा मीठा परिकार बनाउँछन् ।

उसो त उनले होटलमा परिकार पकाउन थालेको १० वर्ष भइसक्यो। तर सब्रिनासँग जोडिएको एवर्ष मात्र भएको छ। नयाँ होटल भए पनि काम गर्ने अनुभव उनको पुरानै छ। ‘खाना पकाउनमा रुची भएर मैले पढाइबिचमा छोडेर सेफको तालिम लिएँ’ उनी भन्छन्, ‘तालिम सकिए लगत्तै नेपालका विभिन्न होटलमा काम गर्दै गरेको १० वर्ष पुगेको पत्तै भएन।’

तर पहिले जस्तो उनले धेरै ग्राहकका लागि परिकारहरु पकाउनु पर्दैन। लकडाउन अघिभन्दा उनलाई अहिले केही सहज भएको छ। धेरै ग्राहकको अहिले चाप नहुने भएकाले कामको त्यस्तो धपेडी नभएको उनी बताउँछन्। तर उनले परिकार बनाउने काम भने रोकेका छैनन्।

होटलमा इटालीबाट स्वदेश फर्किएका नेपालीहरु क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरुका लागि उनले पोषिलो तथा नेपाली खानाका परिकारहरु पकाउने गर्छन्। कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता बढी चाहिने भएकाले सोही कुरालाई मध्यनजर गरेर आफूहरुले खानेकुराहरु पकाउने गरेको उनी बताउँछन्।

होटललाई क्वारेन्टिन बनाउँदा कतिको डर लाग्यो भन्ने प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘होटललाई क्वारेन्टिन बनाउँदा सुरुमा निकै डर लागेको थियो। कसरी काम गर्ने, आफुलाई सर्ने हो की धेरै कुरा मनमा आए। तर काम सुरु गरेपछि डर हराउँदै गयो।’

उनलाई डर भन्दा पनि आफ्नो संस्थाप्रतिको जिम्मेवारी निर्वाह गर्नु पर्ने र होटलमा सबै प्रकारका सुरक्षाको व्यवस्था गरेकाले उनको मनको डर धेरै बेर टिकेन।

अहिले उनले सुरक्षित भएर काम गरिरहेका छन्। पहिले जस्तो कामको चाप नभए पनि स्टाफहरु कम भएकाले पूरा दिन काम गर्छन्, उनी।
उनलाई जस्तै होटलका अर्का हेड सेफ प्रदीप भण्डारीलाई पनि अहिले कोरोना भाइरसको डर लाग्न छोडेको छ। प्रदीपलाई पनि होटलमा क्वारेन्टिन बनाउने कुराले निकै डर लागेको थियो। त्यसमाथि इटालीबाट आएका नेपालीहरु। इटालीमा कोरोनाले भयावह रुप लिएको कुरा उनलाई राम्रोसँग थाहा थियो।

उनको मनमा पनि भोलाका जस्तै थरी–थरीका प्रश्नहरु खेलेका थिए। तर होटलले सुरक्षाको व्यवस्था मिलाएकाले उनको डर हरायो। ‘सुरुमा निकै डर लागेको थियो नि ! दिनभरि मास्क र गल्भ्स लगाउँथेँ, तर अहिले सामान्य लाग्छ’ उनले भने । डर भए पनि समस्यासँग भागेर काममा सफलता नपाइने उनको धारणा छ।

सफलतासँगै जोखिम भएकाले आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरी उनी सामाजिक दूरी कायम गर्नुका साथै अन्य सुरक्षाका उपाय अपनाएर काम गरिरहेको छन्। उनले होटलमा किचेन डिपार्टमेन्ट सम्हाल्दै आएका छन्।

होटल सञ्चालनमा आएदेखि उनले राति अबेरसम्म काम गर्नु परेको छैन। लकडाउन अघि उनले रातिसम्म काम गर्नु पर्ने र कामको पनि निकै चाप हुने उनी बताउँछन्।

विगत एक वर्षदेखि सो होटलमा काम गर्दै आएका उनले लकडाउनका कारणले परिवारसँग केही समय बिताउने समय पाए। ‘लामो समयपछि मैले आफ्नो परिवारसँग यति धेरै समय सँगै बस्न पाए’ उनले भने ‘लामो समय विदेशमा बसेकाले मैले मेरी सानी छोरी, आमाबुवा र श्रीमतीलाई समय दिन पाएको थिएन। लकडाउनले त्यो मौका पाए।’ उनले होटल क्षेत्रमा नै ७ वर्ष कतारका काम गरेर नेपाल फर्किएका हुन्।

प्रदीप जस्तै बहराइनमा एक वर्ष होटल क्षेत्रमा काम गरेर नेपाल फर्किएकी हुन्, सुस्मिता भेटवाल। तर उनी वैदेशिक रोजगारीका लागि नभई पढाइका सिलसिलामा प्रयोगात्मक अनुभवका लागि विदेश गएकी हुन्। आफ्नो प्राक्टिकल सक्काएर उनले सब्रीना होलमा काम गर्न सुरु गरिन्।

उनी सो होटलमा विगत डेढ वषदेखि काम गरिरहेकी छन्। ‘म बिएचएमको विद्यार्थी भएकाले इन्टनसिपका लागि बराइन गएकी थिए’ उनले भनिन् ‘एक वर्ष इन्टर्न सक्काएर नेपाल फर्किए र काम सुरु गरेँ।’

नेपाल र विदेशमा काम गर्ने शेली उस्तै भए पनि उनीहरुले गर्ने व्यवहार फरक हुने उनी बताउँछिन्। ‘नेपालमा काम गर्दा सानो कर्मचारीदेखि हाकिमसम्म एउटै व्यवहार हुन्छ तर बाहिर काम गर्दा अरु देशको भनेर गर्ने व्यवहार फरक हुन्छ त्यसमाथि इन्टर्नलाई गर्ने व्यवहार झन् फरक हुन्छ’ उनले भनिन्।

नेपालमा काम गर्ने वातावरण निकै सहज भएको बताइन्। तर लकडाउनका कारणले करिब तीन महिना उनलाई असहज भयो। ‘सधैँ काम गर्ने बानी भएर होला कलकडाउनले घरमा बस्दा निकै गाह्रो भयो’ उनले सुनाइन्।

असार १ देखि होटल सञ्चालनमा आएसँगै उनी निकै खुशी छिन्। होटललाई क्वारेन्टिन बनाउने कुराले मनमा डर भए पनि नियमित काम गर्ने पाइने भएकाले आफू दंग भएको उनी बताउँछिन्।

होटलले सुरक्षाको सबै प्रबन्ध मिलाएकाले काम गर्न सुरक्षित भएको उनी बताउँछिन्। पहिले जस्तो कामको चाप अहिले नभएको उनले सुनाइन्। ‘पहिले होटल रातभर खुल्ला हुन्थ्यो’ उनले भनिन् ‘तर अहिले ९ बजे बन्द भइहाल्छ।’

तर लकडाउन अघि होटल रातभर सञ्चालन हुने भएकाले ‘सिफ्ट’ अनुसार काम गर्नु पर्ने उनले बताइन्। तर अहिले उनले रातभर काम गर्नु पर्दैन। अहिले रातभर उनी मज्जाले सुत्न पाएकी छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्