अमेरिकाको फ्लोरिडामा अवस्था खराब, एकै दिन १५ हजार भन्दा बढी संक्रमित थपिए

अमेरिकामा कोरोना भाइरस महामारीको हालको इपिसेन्टरका रुपमा विकास हुँदै गएका राज्य मध्येको एक फ्लोरिडामा संक्रमण अति तीव्र गतिमा फैलिएको छ ।

फ्लोरिडामा एक दिन १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । फ्लोरिडामा पछिल्लो २४ घण्टामा १५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अमेरिकाका ५० राज्य मध्ये एकै दिन यतिधेरैको संख्यामा एउटै राज्यमा एकै दिन संक्रमित थपिएको यो पहिलो पटक हो । अमेरिकाको कुल जनसंख्याको सात प्रतिशत मात्रै जनसंख्या रहेको फ्लोरिडाले यसअघि क्यालिफोर्नियाको रेकर्डलाई पार गरेको हो ।

गएको मे देखि लकडाउन खुकुलो बनाएको फ्लोरिडामा अहिले संक्रमण निकै खराब बनेको छ। यसको प्रमुख कारण त्यहाँको पर्यटन व्यवसाय र पाको उमेरका व्यक्ति बढी हुनु रहेको बताइएको छ।

फ्लोरिडाका ४० भन्दा बढी अस्पतालले आफ्नो सघन उपचार कक्ष भरिभराउ रहेको बताएका छन्।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सल्लाहकार वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले फ्लोरिडामा लकडाउन खुकुलो बनाइएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

विश्वमै कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कुल संक्रमितको संख्या ३३ लाख एक हजार भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या एक लाख ३५ हजार नाघेको छ ।

विश्वभर संक्रमितको संख्या एक करोड २८ लाख ६५ हजार भन्दा धेरै रहेको छ। त्यसमध्ये पाँच लाख ६८ हजारको निधन भएको छ ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्