सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनमा रहेका सबैको पीसीआर परीक्षण सुरु

धनगढी – सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न जिल्ला तथा भारतबाट आई प्रदेशका विभिन्न क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षणका लागि नमूना संकलन गर्न थालेको छ ।

निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टिनमा बसिरहेका तथा अवधि पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो ।

आज सम्म प्रदेशका क्वारेन्टिनमा बसिरहेका ५ हजार ५ सय ८९ जनाको नेपाल सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार नमूना पठाउन अनुरोध गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

सुरुका दिनमा भारतबाट आउनेको संख्या बढी भएकोले लक्षण देखा परेकालाई मात्र पीसीआर परीक्षण गर्ने भनिए पनि अहिले सबैको परीक्षण गरिने उनले बताए ।

उनले भने– ‘अहिले क्वारेन्टिनमा रहेका सबेको पीसीआर परीक्षण गरिने र त्यसपछि समुदाय स्तरमा पनि पीसीआर परीक्षणको नयाँ नीतिको तयारीमा लागेको छौँ ।’

संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पीसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनिएको स्वास्थ्य निर्देशक अवस्थीले बताए ।

प्रदेशका विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका स्वाव मध्य ९ सय भन्दा बढीको स्वावको नमूना परिक्षण हुन बाँकी छ ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू