यातायात कार्यालयमा अस्तव्यस्त भीड, छैन कोरोनाको सावधानी(तस्बिरहरु)

फाइल तस्बिर

काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन केही खुकुलो भए पनि पूर्ण रुपमा हटेको छैन ।

संक्रमणको जोखिम पछिल्लो समय काठमाडौँ उपत्यकामा बढी रहेको भन्दै विज्ञले सर्तकता अपनाउन भनेका छन् । तर पनि प्रायः सरकारी कार्यालयमा पुग्ने सेवाग्राहीका लागि कुनै पनि सुरक्षात्मक उपाय अपनाइएको देखिँदैन ।

साेमबार बिहान काठमाडौँको सानो भर्‍याङ्गमा पुग्दा सेवाग्रही अस्तव्यस्त देखिन्थे । बिहान पाँचबजेदेखि लाइनमा बसेका सेवाग्राहीको पालो आएको थिएन । लामो लाइनमा भौतिक दूरी पालना भएको देखिँदैन ।

भद्रगोल अवस्थामा रहेको यातायात कार्यालय सानो भर्‍याङ्गमा आएका केही सेवाग्राहीले मास्क लगाएको देखिए पनि कार्यालयका तर्फबाट कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि गर्नु पर्ने प्रयास त परको कुरा सावधानीका लागि सूचना पनि टाँसिएको छैन ।

सवारी चालक अनुमति पत्र तथा सवारी धनी प्रमाणपत्र नविकरण तथा सवारी कर तिर्नका लागि पुगेका सवारी धनीहरुले आफूहरु जोखिम मोलेर कर तिर्न आउँदा पनि सेवा राम्रो नपाएको गुनासो गरेका छन् ।

उनीहरुको गुनासो छ, ‘संक्रमणको यस्तो जोखिमका बेला सरकार कर नतिरे जरिवाना लगाउँछु भन्छ, तर आयो पालो पाईँदैन । सेवा पनि राम्रो छैन । सावधानी अपनाएको छैन । पैसा तिर्छु भन्दा पनि जहिले यस्तो दुःख पाइन्छ ।’

यातायात कार्यालयले शुक्रबार २०० तथा शनिबार बाहेक हप्ताका अरु दिन ३०० जनालाई टोकन बाँडेर सेवा प्रदान गर्ने गरेको बताएको छ । तर धेरै सेवाग्राही टोकन नपाएर फर्किन बाध्य हुने गरेका छन् ।

तर यातायात कार्यालयका सूचना अधिकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कार्यालयको गेटमै स्यानिटाइजरको व्यवस्था गरिएको, गेटमा थर्मगन मार्फत ज्वरो नाप्ने गरिएको, लाइनमा भौतिक दूरी कायम गर्ने गरिएको तथा आएका सेवाग्राहीलाई बिना सेवा नफर्काइएको बताए पनि वास्तविकता भने सो विपरित रहेको छ ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्