महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रति प्रहार हो, हामी साइबर बुलिङमा परेका छौँ: दिपकराज गिरी

फाइल तस्बिर

काठमाडौँ – चलचित्र निर्माता तथा कलाकार दिपकराज गिरीले महानायक विवाद चलचित्रकर्मीप्रतिको मायाको स्वरुप नभई छक्का पञ्जा ब्राण्डप्रति प्रहार भएको बताएका छन्।

आफ्नो फेसबुक लाइभमा उनले भनेका छन्, ‘मानिसमा चलचित्र क्षेत्रप्रति यति धेरै प्रेम र स्नेह भएको भए चलचित्र क्षेत्र कहाँ पुगिसक्थ्यो ! जहाँको त्यहीँ वा झिनो विकसित हुने थिएन।’ उनका अनुसार यो सबै छक्का पञ्जा ब्राण्डप्रति नियाेजित प्रहार हाे ।

साढे २१ मिनेट लामो भिडियोको सुरुमा उनले भनेका छन्, ‘पछिल्लो समय विकसित घटनाक्रमको बारेमा नबोल्ने विचारमा थिए। कुनै पनि विषय ७ देखि १० दिनमा सकिन्छ तर यो कुरा लम्बिएर, तानिएर झनै बढिरहेको छ। देशमा विषम परिस्थिति छ, कोरोनाको महामारी बढिरहेको छ तर यो कुरा सक्किराखेको छैन, झण्डै राष्ट्रिय मुद्धा जस्तो भएको छ।’

उनले प्रश्न सोधेका छन्, ‘यो स्वाभाविक छ ?’

यसकाे कारण बताउँदै उनले भनेका छन्, ‘महानायकलाई यति धेरै समर्थन आएको छ, हाम्रो टोलीलाई यति धेरै गालीआएको छ। यति धेरै चलचित्रकर्मीहरु प्रति देखिएको चासो साच्चै भईदिएको भए नेपाली चलचित्रको अवस्था यस्तो हुन्थेन, वर्षमा एकाधमात्र चलचित्र चलेको हो कि जस्तो हुने थिएन। यो विवाद लम्बिनुको प्रमुख कारण छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार हो।’

उनका अनुसार ‘एउटा ठूलो ब्राण्डले अर्को ठूलो राजेश हमाल ब्राण्डलाई महानायक हो कि होइन भन्नेप्रति औँला उठायो। त्यहाँ गल्ती भयो। राजेश हमाल महानायक हो वा होइन भन्ने काम हाम्रो होइन, हामी एकै क्षेत्रमा छौँ, त्यो जनताको, इतिहासको काम हो।’

यदि जनता वा कलाकारिता क्षेत्रले कसैलाई महानायक ठान्छ भने हामीले मान्दा हामी सानो हुँदैनौँ। हामी त्यो होइनौँ पनि र हामीलाई त्यहाँ पुग्नु पनि छैन। एउटा कलाकार भइसकेपछि अर्को कलाकारको बारेमा टिप्पणी गर्दा हाम्रो साथी चुकेको हो, गलतलाई गलत भन्नु पर्छ।’

दिपक अगाडि भन्छन्, ‘दिपा जीले जुन हिसाबमा कुरा भन्न खोज्नु भएको हो अभिभावकत्व लिनु पर्ने कुरा थियाे, त्यहाँ प्रयाेग भएका शब्द अनि उहाँको बडी ल्याङ्वेजले उहाँलाई साथ दिएन र राम्रो सुनिएन। यो कुरा मैले पनि उहाँलाई भने। हाम्रो टिममा राजेश हमालको सबैभन्दा ठूलो फ्यान उहाँ नै हो, उहाँ वरपरको मान्छेहरुको कारणले प्रोभोक हुनुभो। त्यो बेलामा उहाँले शब्द मिलाउन सक्नु भएन। त्यो हाम्रो गल्ती हो। त्यसको लागि म राजेश हमालको फ्यान र राजेश हमालसँग माफी माग्न चाहन्छु।

तर,

यो अस्वाभाविक रुपमा कुरा यहाँसम्म आएको छ, माफी मागेपछि पनि कुरा सक्किएन। उहाँ रुनु हुन्छ कहिलेकाँही, मैले भन्न जानिनँ, अन्तवार्ताकारले त्यो अन्तर्वार्तालाई किन इडिट गरेनन्, आगोमा ध्यू हाल्ने काम किन गरे ? भन्नु हुन्छ।

हिजो, मैले माफी मागेपछि पनि किन यति धेरै गाली आइरहेकाे छ भनेर साइबरको साथीहरुसँग सल्लाह गरे, उहाँहरुले भन्नुभयो। तपाईँलाई गाली गरिएका ७५ प्रतिशत आइडीहरु नक्कली छन्। धेरै नराम्रा शब्द प्रयोग भएका छन्।

एक जना महिलाले गल्ती भयो भनेर माफी मागेकी छन्। तर त्यहाँ हेर्नै नहुने शब्द प्रयाेग भएका छन्।

तपाईँ आफ्नो घरको दिदीबहिनीले काम बिगारेर माफी माग्दा यस्तै शब्द प्रयोग गर्नुहुन्छ ? तपाईँको दिदी बहिनीहरु पनि कोही केटा साथीसँग काम गर्न जान्छन् होला, त्यस्तै भन्नु हुन्छ ? फरक मत राख्न नपाईने ‘किम जोङ’ को सोसाइटी बनाउँदै छौँ हामी ?

फरक मत राख्न पाइँदैन थियो। हामी के समाज निर्माण गरिरहेका छौँ ?

समाजिक सञ्जालमा जति पनि फेक आइडीबाट प्रहार भइरहेका छन्, त्यो संगठित रहेका छन्। सरकारलाई, प्रतिवादीलाई, सरकारको कुनै निर्णयलाई प्रहार गर्ने संगठित गिरोह हुन्छ। यसले सरकारसम्मलाई लडखडाउँछ। रवि लामिछानेको मुद्धामा पनि यस्तो भएको थियो।
जसको पक्ष बलियो छ, त्यसैले जित्ने हो। हाम्रो पक्षमा बोल्ने छैनन्।

हामी बोल्ने स्वतन्त्रताको कुरा गर्छौँ तर एक जना व्यक्तिले बोल्दा बौल्नै नपाइने जस्तो अवस्था सिर्जना गर्छौँ। अनि नक्कली आइडी खोल्नेलाई कारवाही गर्न सक्दैनौँ।

हाम्रा फ्यानले माफी मागीसक्नु भयो भनेर थाकिसके, तर त्याे कुरा सक्किएकाे छैन।’

यस्तै दिपकले सामाजिक सञ्जालमा हुने ट्रोलको बारेमा पनि कुराकानी गरेका छन्।

‘सामाजिक सञ्जालमा केही ट्रोलहरु, जो सेलाउन लाग्यो कि फेरि देखापर्छ। हामीलाई बुलिङ भइरहेको छ।’ यस्तै उनले अगाडि भने, हाम्राे समूह विरुद्ध केही पेज छन्, जसले बेलामा सपोर्ट गरेको जस्तो र केहीले विरोध गरेको जस्तो गर्छन्।’

दिपकले हातको इशाराले पैसा तिरेर गरिएको भन्ने संकेत गरेका छन्। बारम्बार याे कुरा दाेहाेरिनुकाे उद्देश्य मानिसमा यो कुरा स्मरण गराईराख्नु रहेकाे गिरीले भनेका छन्। गिरीका अनुसार यसले पतन हुने अवस्था सिर्जना हुन्छ।

दिपक अगाडि भन्छन्, ‘हामी सिक्दै सिक्दै आएका छौँ, चप्पल लगाएर आएका हौँ, हाँस्य व्यंग्य गर्दै आएका हौँ, बोल्ने बानी छ तर हामी घमण्ड गरेका होइनौँ। नेपाली समाजमा अलिकति अगाडि आएपछि भुईँमा खुट्टो छैन भन्छन्। तर हामीलाई भगवानको डर छ।’

यो विषय यति अगाडि जानुमा उत्तेजित पार्ने प्रवृति रहेको पनि दिपकले बताएका छन्। यसलाई मिलाउन तर्फ कोही पनि नगएको उनको भनाइ छ। केही सिनियरहरुले, कलाकारहरुले दोहोरो चरित्र देखाइरहेको र उनीहरुले जीवनभर राजेश हमाललाई गाली गरेपनि अहिले ‘आइ एम विथ राजेश हमाल’ भनेर लेखिरहेका छन्। यस्तै केही कलाकारहरुले आफू ट्रेण्डिङमा आउनको लागि पनि युट्युबरलाई अन्तवार्ता दिएको उनले बताएका छन्।

‘पछिल्लो समय दिपाजीले माफि माग्नुभयो, कतिपय कलाकारले यस बारेमा लेख्नुभयो। हामीले मनदेखि माफी मागेका छौँ। केही साइबर बुलिङ भएका छन्, केही पैसा तिरेर गराइएका छन्। हामीलाई खत्तम गर्न खोजिएको हो।


तर म यस्ता क्रियाकलापबाट डराउँदैन। म विद्यार्थी संगठनबाट करियर सुरु गरेको कलाकार पछि आए, धेरै व्यवस्थाको विरोध गरको छु। गल्ती भए खुट्टै ढोगेर माफी माग्छु तर मेरो बोल्ने स्वतन्त्रतामाथि प्रहार गरिन्छ भने, खेद्न चाहन्छन् भने घुँडा टेक्दिनँ।’

उनले आफूलाई घर लखेट्न खोजेको हो भने त्यो सफल नहुने बताएका छन्। विपक्षीलाई अहिलेको परिस्थिति मुतको न्यानो भएको उनले भनेका छन्। उनले गल्ती महसुस गरिसकेको मान्छेलाई डिप्रेशनमा धकेल्न नहुने भन्दै सोध्छन्, ‘हामी यति क्रुर भयौँ र ?’

उनले यो विषय मान्छे मारेको जस्तै बनाइएको बताए। जीवनमा सबैले गल्ती गर्ने र माफी दिइने चलन रहेको पनि उनले बताएका छन् । भिडियोको अन्त्यमा उनले आफू राजेश हमालको वास्तविक फ्यानप्रति माफी र यो विवाद मिलाउने तर्फ लागेका कलाकारहरुप्रति कृतज्ञ रहेकाे बताएका छन् । उनले मिलेसम्म राजेश हमालसँग भेटेर नै माफी माग्ने मेलो मिलाउन खोजेको पनि बताएका छन्।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्