अमेरिकामा १७ वर्षपछि राष्ट्रिय तहमा हत्या दोषीलाई मृत्युदण्ड दिने तयारी

अमेरिकामा १७ वर्षपछि संघीय तहमा हत्या आरोपमा दोषी ठहर भएका व्यक्तिलाई मृत्यदण्ड दिइने भएको छ।

अपिल अदालतको रुलिङ्ग अनुसार तीनजनाको हत्या गरी शव तालमा फालेका ड्यानियल लुइस लीलाई सोमबार मृत्युदण्ड दिने तयारी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनको मृत्युदण्ड गएको शुक्रबार संघीय अदालतका न्यायाधीशले तत्कालका लागि रोकेका थिए।

मृत्युदण्ड दिने ठाउँमा जाँदा आफूहरुलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै परिवारका सदस्यले सजायको मिति पछि सार्न अपिल गरेका थिए । सोही अनुसार शुक्रबार न्यायाधीशले तत्काल मृत्युदण्ड नदिन आदेश दिएका थिए ।

तर सरकारले त्यसविरुद्ध अपिल गर्‍यो र सेभेन्थ युएस सर्किट कोर्ट अफ अपिलले सरकारको पक्षमा रुलिङ गरेको हो । लीका आफन्तले मृत्युदण्ड पछि सार्नका लागि माग गरी सर्वोच्च अदालतमा अपिल गर्ने भएका छन् ।

लीले हत्या गरेका व्यक्तिकी आफन्त एर्लिन पिटरसन

ली एक पटकका ह्वाइट सुप्रिमिस्ट हुन् । उनले एकै परिवारका तीनजनाको हत्या गरी शव तालमा फालेका थिए । उनलाई गएको डिसेम्बरमै मृत्युदण्ड दिने तयारी थियो । तर अदालतको अवरोधका कारण रोकिएको थियो ।

लीले हत्या गरेका व्यक्तिकी आफन्त एर्लिन पिटरसन मृत्युदण्डको विपक्षमा रहेकी छन् । उनकी छोरी, नातिनी तथा ज्वाईँको लीले हत्या गरेका थिए । पिटरसनले गएको वर्ष सिएनएनसँग आफ्नो छोरी तथा नातिनी र ज्वाईँको नाममा कसैको हत्या होस् भन्ने पक्षमा आफू नरहेको बताएकी थिइन् ।

अमेरिकाको न्याय प्रणाली अनुसार अपराधहरुको सुनुवाई संघीय अदालत (राष्ट्रिय तह) वा राज्य तहका अदालत (क्षेत्रीय तह) मा हुन्छ ।

अमेरिकामा सन् १९७२ मा सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय र राज्य तहमा मृत्युदण्डमाथि प्रतिबन्ध लागेको थियो । तर सन् १९७६ को सर्वोच्चको फैसलाले राज्य तहमा मृत्युदण्ड कायम राख्न छुट दिएको थियो । सन् १९८८ मा सरकारले संघीय तहमा पनि मृत्युदण्ड दिन मिल्ने गरी कानून बनायो ।

डेथ पेनाल्टी इन्फरमेशन सेन्टरको तथ्यांक अनुसार अमेरिकामा सन् १९८८ देखि २०१८ सम्म संघीय तहमा ७८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । त्यसमध्ये मात्रै तीनजनालाई मृत्युदण्ड दिइएको छ । ६२ जना अहिले मृत्युदण्ड पाउने लाइनमा छन् । तर संघीय तहमा पछिल्लो पटक सन् २००३ मा मृत्युदण्ड दिइएको थियो ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्