जमेको पानीमा डुबेर बालकको मृत्यु, खोलामा पहिचान नखुलेको पुरुषको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं- अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण मोरङमा दुईजनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका र रंगेली नगरपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीका अनुसार आइतबार साँझ महानगरपालिका १६ स्थित दरैयाबस्तीमा एक बालकको मृत्यु भएको छ । बाढीका कारण पानी जमेको स्थानमा ५ वर्षीय एक बालकको मृत्यु भएको हो।

रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार स्थानीय शोभालाल कामतका ५ वर्षीय रोमन घर नजिक पानी जमेको स्थानमा डुबेका थिए । बेलुकाबाटै बेपत्ता अवस्थामा रहेका रोमनको खोजी गर्ने क्रममा करिब ७ बजे बेलुका पानीमा डुबेर बेहोस अवस्थामा फेला परेका थिए।

लगत्तै उनलाई उपचारका लागि कोसी अस्पताल पुराइएको भएपनि चिकित्सकले साँझ मृत घोषित गरेका थिए । त्यसैगरि, पहिचान खुल्न नसकेको अवस्थामा एक ब्यक्तिको शव मोरङको चिसाङ खोलामा फेला परको छ।

रंगेली नगरपालिका ८ भएर बग्ने चिसाङ खोलामा करिब ४५ वर्ष उमेरको पुरुषको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको अनुसार आइतबार राती भेटिएको शवको पहिचान खुल्न बाँकी रहेको छ।

खोलामा आएको बाढीका क्रममा शव कतैबाट बगेर आएको हुन सक्ने उनले बताए । हालसम्म चिनजानका कोही पनि सम्पर्कमा नआएको र शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दाहालले दिए ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्