बुबा-आमाका हत्यारालाई सजायको पर्खाइ: हत्या गर्न लगाइएको थियो कि!

काठमाडौं- १४ वर्षअघि राजधानीको सीतापाइलामा कान्तिपुर मिलका सञ्चालक दम्पती नातिकाजी सुवेदी र सानु सुवेदीको धारिलो हतियारले हत्या भयो।

२०६३ साल पुस २० गते साँझ खान खाएर डेरामा बसिरहेका सुवेदी परिवारमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको थियो। आमाबुबा ढलेको देखेपछि १५ वर्षीय छोरा विलभ दौडँदै आए।

उनीमाथि पनि धारिलो हतियार प्रहार भयो। १२ वर्षीय छोरा दुर्लभ भित्रै लुकेर बसे।  ४५ वर्षीय नातिकाजी र ४४ वर्षीया सानुको मृत्यु भयो। विलभ उपचारपछि बाँच्न सफल भए। दुवै छोराहरुले चाल पाउन सकेनन्- आँखिर हतियार प्रहार गर्ने को थिए ?

विलभ अहिले २९ वर्षका भए। दुर्लभ २६ वर्षका। आमाबुबामाथि भएको त्यो घटना र उनीहरु नहुनुको पीडा त उनीहरुलाई हरेक दिन हुन्थ्यो नै, हत्याराको पहिचान नहुनुले अझ दुखित बनाउँथ्यो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो- सीआईबीले सुवेदी दम्पतीको हत्या आरोपमा सोमबार एक जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको पिपरियाका ३४ वर्षीय जयकिशोर शाह छन्। शाह र बाँकेका प्रताप रानाले दम्पतीको हत्या गरेको प्रहरीको दाबी छ।  राना र शाह दुवै कान्तिपुर मिलमा काम गर्थे।

प्रारम्भिक अनुसन्धानका क्रममा काम गर्दा गाली खाएको आरोपमा उनीहरुले सुवेदी दम्पतिको हत्या गरेको देखिएको सीआइबीले जनाएको छ। सीआइबी प्रमुख सहकुल थापाले प्रारम्भिक अनुसन्धानको विषय भएकाले कारण यही नै हो भन्न सकिने अवस्था नरहेको बताए।

‘सुवेदी दम्पतीको डे‍राबाट गरगहना र पैसा लुटेर लगेको अवस्था देखिदैन’, थापाले भने, ‘उनीहरुले रिसको आवेशमा मारे कि अरु कसैले उनीहरुलाई मार्न लगाएका थिए भन्ने थप अनुसन्धानले खुलाउने छ।’

प्रहरीले शाह र राना हत्यापछि भागेर भारत  गई दुई वर्षसम्म सँगै बसेको र त्यसपछि रानाले शाहलाई छाडेर हिँडेको जनाएको छ। शाहले जय शर्माको नामबाट लखनउमा आधारकार्ड लगायत कागजात बनाई पहिचान बदलेर बसेको प्रहरीको दावी छ। शाह पछिल्लो समय लखनउमा डान्स सिकाउने गर्थे। उनि विवाहित हुन्। रानाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्