पहिरोले बेपत्ता बनाइएकी महिलाको खोजी कार्य जारी

मोरङ-मोरङको केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाको सीमामा पर्ने सिंहदेवी २ खानी गाउँमा पहिरोले एक महिलालाई बेपत्ता बनाएको छ ।

लेटाङ नगरपालिकाका मेयर शंकर राईले घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराइसकिएको बताए ।

हाल लेटाङ भएर बग्ने चिसांङ खोलामा आएको बाढीका कारण त्यसतर्फ नगरपालिकाले ध्यान दिएको बताएका मेयर राईले बेपत्ता महिलाको छोरासंग सम्पर्क भएको र त्यसतर्फ सुरक्षाकर्मी पठाइएको बताए।

घरमा श्रीमानश्रीमति बसिरहेको अवस्थामा पहिरोले श्रीमतीलाई पुरेको भन्ने बुझ्नमा आएको मेयर राईले बताए।सुगम जिल्ला मोरङको विकट र दुर्गम मानिने सिंहदेवी नजिक पर्ने सो गाँउसम्म पुग्न कठिन रहेको केराबारी गाँउपालिकाका अध्यक्ष रोहित कार्कीले बताए।

अध्यक्ष कार्कीका अनुसार खोर्साने, केराबारी हुदैं चुलाचुली सिंहदेवीसम्म पुग्ने पहाडी सडकको विभिन्न ठाँउमा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । जसका कारण सिंहदेवीमा गएको पहिरोस्थलसम्म पुग्न कठिनाइ छ।

सञ्चार सम्पर्कविहीन रहेको घटनास्थलतर्फ आइतबार हिँडेको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुगेको पुग्न सकेको छैन । सोमबार घटनास्थलतर्फ जादै गरेको बताएका वडाध्यक्ष प्रेम लिम्बूले बाटैभरी पहिरैपहिरो गएकोले घटनास्थलमा पुग्न धेरै कठिन बताए।

बेलबारी नगरपालिका र केराबारी गाँउपालिकाको संयुक्त प्रहरी टोली त्यसतर्फ गएपछि घटनास्थलमा सोमबार दिउँसोसम्म पुग्‍न सकेको छैनन्।
त्यसैगरि, लेटाङ नगरपालिका भएर बग्ने चिसाङ खोलाले विभिन्न स्थानमा कटान सुरु गरेको मेयर राईले जानकारी दिए ।

कटानबाट कति क्षति पुगेको छ भन्ने यकिन भइनसकेको बताएका राईले कटान रोक्न तारजाली ढुंगा हाल्ने काम भइरहेको प्रस्टाए। खोलाले कटान गरेको क्षेत्रमा डोजर पस्न सक्ने अवस्था नभएपछि पानीको बहाव कम हुने अवस्था पर्खिएको उनले बताए।

असार २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्