सम्पादकीय

अल्पज्ञानको दम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीमा अनेकौँ योग्यता र क्षमता छन् । तर उनमा संयमको सर्वथा अभाव देखिएको छ । प्रधानमन्त्री मुलुकको सर्वोच्च कार्यकारीसँगै सर्वाधिक आधिकारिक प्रवक्ता पनि हुने हुनाले त्यो पदमा आसिन व्यक्तिको संयमहीनताले मुलुककै लागि असहज परिस्थितिसँगै संकट निम्ल्याउन सक्छ ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भगवान राम सम्बन्धी अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् । रामको जन्मस्थल चितवन (वीरगञ्ज पश्चिमको ठोरी नजिक) भएको र अहिले ‘अयोध्या’ का रुपमा भारत (उत्तर प्रदेश) को फैजावादस्थित क्षेत्र नक्कली भएको सार्वजनिक अभिव्यक्ति मात्र दिएनन् उनले, सांस्कृतिक थिचोमिचो गर्ने नियतले कृत्रिम अयोध्या जन्माएको अरोप पनि लगाए भारतमाथि ।

पुरातत्व, इतिहास, सभ्यता र संस्कृति अनि तीसँग जोडिएका व्यक्तित्वबारे सर्वत्र एकमत हुँदैन, र निरन्तर अनुसन्धान (सर्च एण्ड रिसर्च) का विषय मानिन्छन् ती । रामायण सम्बन्धी अनेक ‘जातक’ छन् र विभिन्न घटनाहरुलाई त्यहाँ फरक ढंगले प्रस्तुत गरिएको छन् ।

तर, त्यसबारे कुनै विशिष्ठ या विज्ञ ज्ञान नभएको व्यक्तिले यी गहन विषयबारे हचुवाका भरमा बोलिदिँदा त्यसले निम्त्याउने खतरा गम्भीर हुन सक्छ । त्यसमा पनि अज्ञान र अल्पज्ञानलाई नै सर्वज्ञान मानेर मुलुकको प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक र आस्थाका केन्द्र रामको जन्मथलो बारे मनपरी बोल्नु ‘ज्ञान’ माथि सर्वसत्तावादको नियन्त्रण प्रयासका रुपमा हेरिने छ ।

नेपालका प्रधानमन्त्री र एकजना आध्यात्मिक व्यक्तिका रुपमा मुलुकका हरेक कणमा, हरेक नेपालीमा राम देख्ने र सो अनुसारको आचरण गर्ने पूर्ण छुट छ ओलीसँग ।

तर, बुद्धको जन्मथलो बारे कृत्रिम प्रमाण र प्रस्तुतिका आधारमा नेपाललाई विस्थापित गर्ने प्रपञ्चको सफलता पूर्वक प्रतिवाद गरेको मुलुकको प्रधानमन्त्रीबाट त्यस्तै अपुष्ट र कपटपूर्ण दाबी प्रस्तुत हुनु सनातनी आस्थामाथि नै चोट हैन र ? के राम कहाँ जन्मेका हुन्, त्यसकै आधारमा उनीप्रतिको सम्मान र श्रद्धा नेपाल र नेपालीहरुमा कम भएको छ र ?

आजन्म अध्येता, अनुसन्धानकर्ता र विद्धान योगी नरहरिनाथले महाभारत युद्ध र त्यसका अन्य पात्रसँगै युद्ध क्षेत्रबारे बृहत शोध र अध्ययनपछि वैकल्पिक मान्यता अघि सारे।

ज्ञानबाट प्रेरित व्यक्तित्वमा दम्भ हैन, विनम्रता र अरुको आलोचना खप्ने अनि त्यसबाट सिक्ने साहस र चरित्र दुवै हुन्छ । किनकि ऊ ज्ञान पिपासु हुन्छ । ज्ञानको मूल सत्य हो भन्ने मान्यता हुन्छ उसको । तर सत्ताको दम्भ र अज्ञानको प्रचार, ज्ञान र तथ्यलाई षडयन्त्रबाट अवमूल्यन गर्न उद्यत रहन्छ ।

ज्ञानी देखिने क्रममा नेताले असन्तुलित मानसिकता, मस्तिष्क र अभिव्यक्ति प्रदर्शन गर्नु समग्र मुलुकप्रति पनि अपराध बन्न जान्छ । त्यसैले ओलीको त्यो दुस्साहसलाई तत्काल बौद्धिक जमात, खासगरी इतिहास, संस्केति र समाजशास्त्रका अध्येतासँगै दल र व्यक्ति पूजाबाट माथि उठेको तथा प्रज्ञा र धर्ममा सम्झौता नगरेका नागरिक समाजका अगुवाहरुले खारेज गर्नु आवश्यक छ ।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्