काठमाडौँ– कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लागु गरिएको लकडाउनका कारण आफूहरुको गुजारा नै संकटमा परेको भन्दै राहतको माग गरी नाईहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नेपाल नाई ट्रेड युनियनको अगुवाईमा सैलुन सञ्चालक तथा मजदुरहरु मंगलबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।

आफूहरुका माग सरकारले पूरा नगरेकाले प्रदर्शन गर्न बाध्य भएको उनीहरुको भनाई छ । गएको वैशाख २९ गते इमेल मार्फत तथा असार ११ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मागसहित ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएको युनियनले उल्लेख गरेको छ ।

उनीहरुले देशभरका नाई श्रमिकलाई तुरुन्त राहतको व्यवस्था हुनु पर्ने, लकडाउन अवधिभर नाई श्रमिकहरुको बैंक ब्याज मिनाह गर्नु पर्ने, लकडाउन अवधिभर नाई श्रमिकहरुको पसल भाडा, कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नु पर्ने, लकडाउन अवधिभर नाई श्रमिकलाई मासिक २५ हजार रुपैयाँको व्यवस्था गरिनु पर्नेसहितका माग गरेका छन् ।

यस्तै निशूल्क पीपीईको व्यवस्था गरिनु पर्ने, सैलुन तथा पार्लर खोल्न दिनु पर्ने तथा नाई श्रमिकको कम्तिमा ५० लाखको जीवन बिमा गरिनु पर्ने माग पनि उनीहरुको छ ।

मास्क तथा पीपीई लगाएर प्रदर्शनमा सहभागी भएका नाईहरुले टाउकोमा कैँची र काइयो राखेका थिए । उनीहरुले कपाल काट्दा प्रयोग हुने अरु सामग्रीहरुसहित प्रदर्शनमा सहभागी भएका थिए ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नाईहरुको प्रदर्शनका केही तस्बिरहरु खिचेकी छन् ।