श्रीनगर बसाइका ती अद्‌भूत दस दिन

६० घन्टे नुब्रा यात्रा (यात्रा र बसाइ) मा चिया र बिस्किटबाहेक केही खान पाइएन। यहाँ ग्रेगोरभन्दा पनि मलाई अक्सिजनको समस्या भयो। पहिलो रात्रि नै म त्यस भयंकर चिसोमा २-३ पटक कोठाको ढोका खोलेर बाहिर निस्केको थिएँ। मुस्किलले २-३ घन्टा सुतेँ होला। बिहान उठ्दा भने स्थिति सामान्य थियो। दोस्रो दिन बिहानदेखि नुब्रा आसपासका झण्डै सबै ठाउँ घुमेर फर्केपछि केही बेर फेरि टाउको घुमायो, तातोपानी र चिया खाएर सामान्य हुने प्रयास गरेँ।

अकस्मात् मलाई धेरैपटक पढेको कुरा याद आयो। ‘एलियन’का बारेमा धेरथोर सबैले पढेकै हुन्छन्,मैले भने यस विषयमा पाएसम्म र खोजेर भेटेसम्म पढ्ने गरेको छु। मलाई ठ्याक्कै रूचि त केमा छ भन्नेबारे कहिल्यै थाहा भएन तर अलि अलि रूचि र सामान्य जिज्ञासा खोज र विज्ञानसँग सम्बधित सबै विषयमा रहेको पाउँछु आफूभित्र।

कतिपय प्रसंगमा लद्दाखको पूर्वी र उत्तरी भाग सियाचिन – पैंगोंग लेकमाथिको क्षेत्रमा धेरै पटक ‘युएफओ’ (उड़नतश्तरी) देखिएको र कतिपय गसिप लेखकले यसै क्षेत्रमा कतै ‘एलियन’का विमान (उड़नतश्तरी) ओर्लिने प्लेटफार्म लेखेको सम्झना आयो। राति बाहिर निस्केर घुम्ने इच्छा भयो। मसँग तातो लुगाको नाममा २ जोर ‘इनर’ र एउटा सामान्य स्वेटर मात्र थियो। बाक्लो मोजा र टोपी लद्दाखमै पुगेर किनेको थिएँ। यस बाहेक थियो त एउटा सल। मैले लाउने गरेका गाउन म आफूसँग कहिले पनि ३ वटा भन्दा बढी राख्दिन।

श्रीनगर।

राति ११ बजेको समय हुँदो हो। इनर, मोजा र टोपी त मैले लाएकै थिएँ, गाउन हालेर त्यसमाथि स्वेटर भिरेर र त्यसमाथि सल ओढेर म ‘एलियन’को खोजीमा बाहिर निस्केँ। जाडोको अनुभूतिलाई ‘एलियन’ भेटिने चाहनाको रापले बिर्साएको थियो। म होटलको लनमा घुमिरहेको थिएँ। लनमा बत्ती बलिरहेका थिए, २ फन्को घुमेर म त्यहाँ रहेको काठको बेन्चमा आएर बसेँ।

अब विस्तारै ‘एलियन’ भेटिने सम्भावनाको प्रतिशत घट्दै गइरहेकोले जाडोले चाहनाको रापलाइ मन्द गरी विजय प्राप्त गर्दै गइरहेको थियो। १५ मिनटमै म कोठामा फर्केँ। ‘एलियन’सँग जम्काभेट हुने ख्वाब पूरा भएन। १२ वर्ष पहिला गरेको यो कौतुक सम्झेर अहिले पनि हाँस उठ्छ। यदि ‘एलियन’ भेटेको भए मैले के गर्ने थिएँ होला? मैले मात्र किन संसारभरिका ‘एलियन’ खोजीमा निमग्न रहेका ‘सेती’ जस्ता संस्था र विभिन्न प्रबुद्ध व्यक्तिले ‘एलियन’ भेटे भने गर्छन् के?

अर्बौँ प्रकाश वर्ष टाढाबाट आएका हुनसक्ने ‘एलियन’लाई बिर्सेर जम्मा ८-१० प्रकाश वर्ष टाढाबाट आएका ‘एलियन’कै बारे चिंतन मन्थन गर्ने हो भने हाम्रो लागि यो संयोग सुखदभन्दा दुखद नै साबित हुन्छ। ८-१० प्रकाश वर्षको यात्रा गरी हाम्रो ग्रहसम्म आई पुग्ने ती ‘एलियन’को विज्ञान कति उन्नत हुने होला! तिनका सामु हाम्रो अस्तित्व भुईँमा घस्रेर हिँड्ने ‘रेप्टाइल’ भन्दा माथि हुन्न। हाम्रो अहिलेसम्मको उन्नतभन्दा उन्नत रकेटलाई १ प्रकाश वर्षकै दूरी तय गर्न ( रकेटको गति १७ किमी प्रति सेकेण्ड ) ६४३६७१० वर्षको समय लाग्छ। हाम्रो विज्ञानले पृथ्वीमा मानिसको जन्म जम्मा २५ लाख वर्ष पहिला भएको भन्छ। अझ मानिसमा बुद्धि विकसित हुन थालेको जम्मा ७० हजार वर्ष पहिला हो भन्छ विज्ञानले । घर बनाएर बस्न थालेको र खेती गर्न थालेको दस हजार वर्ष मात्रै भएको भन्छ विज्ञानले। आधुनिक विज्ञानको उदय भएको पनि हद भए २०० वर्ष भन्न मिल्छ।

लेह फर्केपछि अब मेरो दायित्व छिटोभन्दा छिटो लेह छाड़ी श्रीनगर पुग्नु रहेको थियो। म नुब्राबाट फर्केकै साँझ श्रीनगर जाने उपायको खोजीमा बजार निस्केँ। भोलिपल्टकै ‘फ्लाइट’मा टिकट उपलब्ध थिए तर म ‘फ्लाइट’को सट्टा सडक मार्गबाट जाने रहरमा थिएँ। पहाड भ्रमणमा ‘फ्लाइट’ले यात्रा गर्दा समय र सुविधाको दृष्टिकोणले सराहनीय भए पनि प्रकृति अवलोकनका हिसाबले बाहियात हो। तपाईँ ३-४ जनाको ग्रुपमा हुनुहुन्छ भने ‘फ्लाइट’ले यात्रा गर्नु र ट्याक्सी / कारले यात्रा गर्नु आर्थिक हिसाबमा उस्तै उस्तै हुन आउँछ। ४ सय ३४ किमी रहेको श्रीनगरको कार भाडा मैले सोचेअनुसार ७ रूपयाँ किमीको दरले ६ हजार ७६ रुपैयाँ र एक दिनको बाटोमा ‘स्टे’को अरु ५ सय ०० जोड्दा झण्डै ६,५०० हुन्छ भन्ने अनुमान थियो। यसै मनस्थितिमा म एउटा ट्राभल एजेन्टकहाँ पुगेँ। भाग्य मेरो पक्षमा थियो।

तपाईँ भोलि नै जानू हुन्छ भने म ३ हजारमै इनोभा गाड़ी मिलाई दिन्छु, एजेन्टले भने।

होइन ३ हज़ारको गाडीले श्रीनगरसम्म त पुर्‍याउला! मैले मजाक गरेँ।

सरजी गाड़ी किनेको जम्मा ६ महिना भएको छ। त्यों त तपाईँ लक्की हो मेरो श्रीनगर अफिसबाट आज नै एउटा इनोभा लेह आउँदै छ। त्यस गाडीले भोलि नै श्रीनगर फर्किनु छ। तपाईसँग एकतिरको मात्रै भाडा लिइरहेछु। नत्र दुइतर्फी भाड़ा जोड्दा ६ हज़ार हुन्छ। तपाईँ अन्य कहीँ पनि गएर सोध्नुस्, यो भन्दा कम्तीमा पाउनु हुन्न।

भाड़ाको कुरा होइन, मैले त सस्तो भनेर जोक गरेको हुँ। तर मलाई एकै दिनमा श्रीनगर पुग्नु छैन। म बाटोमा कही एक रात बसेर दोश्रो दिन श्रीनगर पुग्न चाहन्छु।

त्यसो भए तपाईँले ५०० रूपया अरु थप्नु पर्छ।

यो किन नि?

सरजी ड्राइभरको खर्च बढ्छ नि हामीलाई।

ल ठीक छ तर तपाईले एउटा कुरा भन्नैपर्छ। तपाईँले मसँग गाड़ीको ६ हज़ार मागेको भए पनि म न त बार्गेनिंग गर्ने थिएँ, न अन्तै जाने थिएँ। तपाईँले एकातिरको भाडा मात्रै किन लिनुभयो?

सरजी उताबाट आइरहेको गाड़ीले दुइतर्फी भाडा (अर्थात श्रीनगर फर्किने) लिएर आउँदै छ। मलाई एकतर्फी भाड़ा लिँदा पनि ३ हज़ार ‘प्रोफिट’ नै छ। सरजी यस लेहको वातावरण नै यस्तो छ यहाँ बसेर बेइमानी हुँदैन। यहाँ अधिकांश सबै कुराको रेट फिक्स नै छ। र मेरो अर्को पनि स्वार्थ छ। लेहमा मेरो ट्राभल एजेन्सी मात्रै छ। श्रीनगरमा भने एउटा होटल, एउटा हाउसबोट, गलैँचा कारखाना, शोरूम र ट्राभेल एजेन्सी छ। मैले तपाईँलाई राम्रो सर्भिस दिएँ भने तपाई श्रीनगरमा मेरै हाउसबोटमा बस्ने सम्भावना हुन्छ। मेरै गाड़ी प्रयोग गर्ने सम्भावना हुन्छ। यो लेह र श्रीनगरमा आउने पर्यटक एकपटक मात्रै टुरिस्ट भएर आउँछन् त्यस पछि मानिस हाम्रो घरमा पाहुनाजस्तै आउने हो। हामी ८-१० पुस्तादेखि नै टुरिस्ट व्यवसायमा छौँ।

भारतको एनएच १ अर्थात लेह श्रीनगर हाइवे पनि भारतका तमाम दुर्गम र ‘एडभेन्चरस’ बाटो मध्येको एक हो। मनाली -लेह एनएच ३ बाट कैयन पटक गुज्रिने अवसर मिले पनि एनएच १ बाट म पहिलो पटक यात्रा गर्न गइरहेको थिएँ। लद्दाखको सामरिक महत्व नभएको भए लद्दाखभित्रका र लद्दाख जोडिने तमाम रोड यतिको ‘मेन्टेन’ हुने थिएनन्। हामीले एक दिनमै श्रीनगर पुग्ने प्लान गरेका थिएनौँ। त्यसले निस्कन ढीलो नै गर्यौँ। लेह छाडेको २० मिनटमै ड्राइभरले भने साहेबजी यो ‘म्याग्नेटिक हिल’ हो। यहाँ गाड़ीको इंजिन बंद भए पनि गाड़ी उकालो चढ्छ। अनेक किंवदन्ती छन् यस बारेमा। यहाँबाट ओर्लेपछि नीमूको आर्मी एरिया शुरू हुन्छ। लद्दाखको सबैभन्दा ठूलो आर्मी सेन्टर हो नीमू। केही दिन पहिला भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले यसै ठाउँमा पुगेर संसारलाई अचम्मित बनाएका थिए।

छेउछाउका लिकिर मोनास्ट्री, आलची मोनास्ट्री, रिंजोंग मोनास्ट्री डुल्दै हामी विस्तारै अघि बढिरहेका थियौँ। आखिर साँझ ५ बजे तिर हामी कारगिल पुग्यौँ। ड्राइभरले आफूले चिनेको होटलमा गाड़ी पार्क गरे। हामी तीनैजना थाकेका थियौँ। कोठा लिएपछि कोठाबाट बाहिर खाने बेलामा मात्रै निस्कियौँ र खाना खाएर पुनः कोठामा छिर्यौ। ड्राइभरले भोलिपल्ट बिहान छिट्टै निस्कने सुझाव दिए। आधी यात्रा बाँकी नै थियो।

बिहान ६ बजे नै कारगिल छाडी हामी अगाडि बढ्यौँ। डेढ़ पौने दुई घन्टामा ड्राइभरले चिया खान गाड़ी रोके। गाड़ीबाट ओर्लिनासाथ मुटु नै काम्यो। भयंकर चिसो ठाउँ पो रहेछ। चिया पसल बाहिर आगो बलिरहेको ठाउँमा गएर बस्यौँ हामी। पसलेसँग सोध्यौ,यहाँ चिसो बढी किन? पसलेले छेउमा रहेको बोर्डतिर देखाउँदै गएर हेर्न भन्यो। भारतको बस्ती भएको सबैभन्दा चिसो ठाउँ पो रहेछ यो। कुनै वर्ष यहाँको तापमान माइनस ४० डिग्री सेंटीग्रेड रेकर्ड भएको रहेछ। ३,३०० मिटरको यस सानो गाउँमा हामीले चिया मात्रै होइन रोटी तरकारी पनि खायौँ।

भनिन्छ साधू सन्यासीका चरण जहाँ पर्छन् त्यस घरका सबै समस्या समाधान हुन्छन्। तपाईँ यहाँ आएर यस कुराको प्रमाण पाएँ मैले। तपाईँलाई लाख लाख धन्यवाद। तपाईँको आगमनले मेरो परिवारको ठूलो समस्या हल भयो। तपाईँलाई काश्मीरमा सधै स्वागत छ।

यस राजमार्गको सबैभन्दा अप्ठेरोबाटो जोजिला पास आउन बाँकी नै थियो। जोजिलाबाट झरे पछि सोनमर्ग पुगिन्छ। झण्डै २५ किमीको जोजिला झर्न हामीलाई १ घन्टा लाग्यो। सोनमर्ग पुगेपछि मास्तिरको जोजिला हेर्दा अर्कै संसारमा आइपुगे जस्तो लाग्यो। सोनमर्गमा चारैतिर हरियाली तर माथि हेर्दा चारैतिर हिउँले ढाकिएका पर्वत श्रृंखला। काश्मीर भ्रमणमा जानेहरुका लागि सोनमर्ग एउटा ‘पपुलर डेस्टिनेसन’ हो। बाटताल हुँदै अमरनाथ दर्शनमा जानेहरु सोनमर्ग भएर जान्छन्। गाडीसँग आजै श्रीनगर पुग्ने सम्झौता नभएको भए मलाई एक दिन सोनमर्ग बस्ने मन थियो। तर बाध्यतापूर्वक सोनमर्गलाइ विदा भनेर हाम्रो गाड़ी श्रीनगरतिर हुइँकियो। अब बढीमा २ घन्टाको बाटो थियो श्रीनगर पुग्न।

हामीले ड्राइभरलाइ पहिला उसकै कंपनीको हाउसबोटमा लैजान भन्यौँ। अंततः ५ बजेतिर हाम्रो गाड़ी लेकको साइडमा पुगेर रोकियो।

ड्राइभरले ओर्लेर हाउसबोटमा हाम्रा लागि ढुङ्गा पठाई दिन भने। उभ्भिएर ढुङ्गा चलाउदै एकजना हामीलाइ लिन आई पुगे। हाउसबोट काठले बनेको महल जस्तै थियो।

दिनको भाड़ा कति सोध्दा जबाब आयो। साहेबजी हामी कहाँ पनि ‘अफ सीजन’ भइसक्यो, तपाईले जति दिए पनि हुन्छ। ‘रूम’ को भव्यता हेर्दा मलाई ५-६ हज़ारभन्दा कम्ती लागेको थिएन। कति पो भन्ने हामी दोधारमा पर्यौ। यत्तिमै आइपुगे रहिम, हाउसबोट साहू मध्ये सबैभन्दा कान्छा भाइ। उनले स्पष्ट पार्दै भने- श्रीनगरको ‘सीजन अफ’ भइसक्यो, एउटा कोठामा ३ जना इजरायली बसेका छन्। उनीहरु ७ दिन अरु बस्छन् बाँकी अब ४-५ महिना यहाँ कुनै ‘गेस्ट’ आउने वाला छैन। तपाईँहरु आई पुग्नु भयो, ‘टुरिस्ट’ होइन हाम्रो ‘गेस्ट’ भएर बस्नुस्। तर ग्रेगोर मानेनन्, उनले पैसा ‘फिक्स’ गर्न भने।

‘ओके, गीभ अस थाउजेन्ड रुपीज पर डे, इज इट अप्रोपिरेट फर यू?’ रहिमले भने।

उनको ‘अफर’मा हामीले भन्ने कुनै कुरा नै थिएन।

हालिना फ्रेश हुन बाथरूम गइन्, म भने चुरुट खान बाहिर डेकमा आएँ। २ जना इजरायली केटी र १ जना केटा डेकमा बसिरहेका थिए। रहिम पनि त्यहीँ बसेर चुरुट खाइरहेका थिए। म चुरुट सल्काएर रहिमको छेउमा बसेँ।

मा चरेशको लती नभए पनि बेला मौका २-४ सर्को तानेको अनुभव थियो मसँग, मलाई चरेशको वासनाले छोइहाल्यो। मैले सोचे इजरायली केटीहरुले आनन्द लिइरहेका होलान्। मैले रहिमलाई जिस्काउँदै भनेँ- ‘यहाँ बैठे रहे तो यह लड़किया और अच्छी लगती जायेगी।’

उनले पनि ठट्यौली गर्दै भने, ‘आप साधू सन्यासियों को क्या चरेश और क्या लड़कियाँ’, वाक्य समाप्त नगर्दै उनले मलाई एउटा चुरुट दिँदै भने- बहुत जगहों की क्वालिटी आपने देखी होगी काश्मीर की क्वालिटी भी देखिए।

चरेश जति उच्च भेगमा बनेको हुन्छ त्यसको क्वालिटी त्यति नै उम्दा हुन्छ, मलाई विगतमा मुक्तिनाथ र उत्तराखन्डको मलारी गाउँको चरेश तानेको अनुभव थियो। कश्मीरको क्वालिटी पनि त्यही दर्जाको थियो।

तपाईँहरु कति दिन श्रीनगर बस्नु हुन्छ, रहिमले सोधे।

हामीले १० दिन अझै बिताउनु छ, यहाँ मन लाग्यो भने यहीँ बस्छौँ।

तपाईँका १० दिन त थाहा नपाई नै बित्छन् श्रीनगरमा रहिमले जबाब दिए। म अहिले खाली नै छु, म आफैँ तपाईहरुलाई श्रीनगर घुमाउँछु। चरेशको असर थियो कि खाना नै मीठो, मैले सधै खानेभन्दा दोब्बर खाना खाएँ, खाना खाएपछि धेरै बेरसम्म डेकमा बसेर चुरुट उड़ाइरहेँ। बाल्यकालदेखि नै काश्मीर आउने सपना थियो, आज यो सपना पूरा भएको थियो। हालिनासँगको संगतले मेरा धेरै सपना पूरा भएको यथार्थ म आजका मितिसम्म त बिर्सन्न भने त्यो बेला त संगतको उत्कर्ष थियो। उनीसँग शुरू भएको मित्रता उनका श्रीमान र छोरा द्वय अलेक्स र ओलिभरसम्म सीमित नभएर उनका अन्य साथी यात्रो, स्वागत, रेमीसम्म व्याप्त भएको थियो। उनीसँगकै सहवासले जीवन र जगतबारे मेरो दृष्टिकोणमा व्यापक परिवर्तन आएको यथार्थ अस्वीकार गर्न सक्दिन।
म त जन्म र प्रारम्भिक हुर्काइले कट्टर हिन्दू थिएँ, अझै छु। मेरो चरित्र, व्यवहार र सोचमा जे जति ‘लिबरलपना’ छ त्यो उनकै देन हो। अन्य धर्मलाई हेर्ने दृष्टिकोण, सेक्सलाई हेर्ने दृष्टिकोण, ‘एलजिबिटी’, तन्त्र, बुद्धिज्म, झेन यहाँसम्म कि हिटलरलाई हेर्ने दृष्टिकोण हालिनाको संगतले सुधार एवं परिमार्जित भएका हुन्।

हाउसबोटमा मुस्लिम किचेनमा तयारी भएको नाश्ता गरिरहेका थियौँ हामी। एउटा थर्मसमा दूध चिया अर्कोमा कश्मिरी चिया कहवा, एउटा ‘हट पट’ मा आमलेट, अर्कोमा आलू पराठा, एउटा प्लेटमा उसिनेको अन्डा, दही, विभिन्न अचार थिए। हालिनाले त्यों सब हेर्दै भनिन् ‘हु विल ईट दिस अल!’ तर खाँदै जादा पराठा अरु थप्नु पर्यो, कहवा पनि थपेर पियौँ। हाम्रो ब्रेकफास्ट लन्चभन्दा पनि ‘ह्याभी’ भइसकेको थियो।

ब्रेकफास्टपछि शिकारा चढेर लेक घुम्न गयौँ। लेकभरि नै शिकाराको ताँती थियो, भनौँ ‘मार्किट अन बोट।’ विभिन्न रंगिचंगी र शाही अंदाजमा सजिएका शिकारामा विभिन्न सामग्री बेचिरहेका थिए काश्मीरका परम्परागत व्यापारीहरुले। डेढ दुई घन्टाको लेक भ्रमण पश्चात् हामी हाउसबोट फर्कियौँ। डेकमा बसेर एक पटक पुनः चिया खाए पश्चात् हाम्रो ‘डेस्टिनेशन’ निशात गार्डेन जानु थियो। रहिम आफ्नो गाडी लिएर लेकपारि आइसकेका थिए, हामी ‘बोट’ले लेक पार गरी रहिमको गाडीमा गएर बस्यौँ।

जम्मा १० रूपयाँको टिकट थियो निशात गार्डेनको। भित्र प्रवेश गरेपछि हामी अर्कै दुनियामा पुगेको आभास भयो, त्यही के ‘हमी अस्तो हमी अस्तो हमी अस्त, गर फिरदौस बरु ऐ जमीं अस्त । पृथ्वीमा कही स्वर्ग छ भने त्यों यही छ, यही छ,काश्मीरमै छ। सयौँ किसिमका फूलको वासनाले मस्तिष्क केही मिनेटमै उद्दिप्न भयो। हरियो कार्पेट ओच्छयाएझैँ टक्क मिलेका विशाल लन चारैतिर रंगी बिरंगी फूल ठूल्ठूला ४ सय वर्ष पुराना रुख, गार्डेनको रेखदेख गर्ने सयौँ माली। सबैको बोलीमा त्यै नफासत जसका लागि लखनऊ र काश्मीर विश्वविख्यात छ। यस गार्डेनमा पानीको व्यवस्था बिजलीको आविष्कार हुनुभन्दा धेरै पहिला गरिएको हो। मास्तिरको पहाड़बाट बगेर आएको खोलालाई ‘ग्राउन्ड लेभल मेंटेन’ गरी गार्डेनको बीचबाट लगी डल लेकमा मिसाइएको छ। ‘ग्राउन्ड लेभल’ बाटै ‘फ़ोर्स’मा आएको पानीले गार्डेनका फव्वारा सञ्चालित हुन्छन्। ग्रेगोर फोटोग्राफीमा व्यस्त भए हालिना आफ्नै धुनमा। म र रहिमले भने चरेशको एउटा सिगरेट चढाई लनमा सुत्ने काम गर्यौँ।

श्रीनगर बसुन्जेल हाम्रो दिनचर्या बिहान नास्ता गरेर घुम्न जाने, नाश्ताको गुरुत्वले ‘लन्च’ गर्नु नपर्ने ,साँझमा हाउसबोट आए पछि खाना खाएर सुत्ने। हामीले १० दिन यसरी नै बितायौँ। श्रीनगरमा अनेको गार्डेन छन्, ट्यूलिप गार्डेन, शालीमार, बदामवारी, जे एन मेमोरियल बोटानिकल गार्डेन, चश्मेशाही, नसीम बाग, चारमीनार आदि आदि। जुनसुकै गार्डेनमा पसे पछि निस्किन मन नलाग्ने। एक दिन बिहानै रहीमले केशर खेती देखाउन लगे,यसै बाटोमा कहीँनिर पाण्डव मन्दिर थियो। चोर औँला जति लामो केशरको बिरुवाले जता हेर्यौ उता भुईँलाई पेन्ट गरे जस्तो देखिने।

मेरा लागि अविस्मरणीय बन्यो हज़रतबल मस्जिदको भ्रमण। हिन्दू सन्यासीको पहिरनमा म त्यहाँ जान इच्छुक थिइन, रहिमले कर गरे। मस्जिदको ‘मेन हल’को पर्खालमा रहेको सानो झ्यालबाट मात्रै भित्रको दृश्य हेर्न पाइयो। एकजना मौलवीले आएर स्वागत गर्दै भने -पता नहीं लोगबाग क्यों हिन्दू मुस्लिम करते रहते है आखिर १०००-१२०० वर्ष पहले हमारे पूर्वज भी तो हिन्दू ही थे। यह काश्मीर की पहली मस्जिद है काश्मीर में इस्लाम के आने से पहले तो सभी लोग हिन्दू ही थे। हमारा इबादत का ढंग न बदल गया खून तो वही है।

रहिमले भनेझैँ दस दिन बितेको थाहा भएन। भोलि हामीले दिल्ली उड्नु छ र दिल्लीबाट पुणे। हामीले ‘पेमेन्ट’ गर्न रहिमका दाजुलाइ बोलायौँ। बिल कति भयो भनेर सोध्यौँ- उनले भने दस हजार।

हामीले खाना र नाश्ताको पनि जोड्न भन्यौँ।

‘साहेबजी इसका तो हम क्या जोडेँ, आप हमारे मेहमान है। आप बस दस हज़ार ही दीजिये।’

तर ग्रेगोर मानेनन्। कोठामा आएर मसँग सल्लाह गरे। खानाको कति दिँदा हुन्छ, सल्लाह भयो अर्को दस हजार गरेर बीस हजार दिउँ।

रहिमका दाजुले बल्ल बल्ल थप दस हज़ार लिन माने।

कोठामा आए पछि ग्रेगोर हाउसबोट मालिकको व्यवहारले हैरान बनेका थिए।

मैले संसार घुमेको छु यस्तो ‘फ्रेंडली बिह्यभिएर’ आजसम्म कतै पाएको छैन, ‘हाली व्हाट यु से?

‘स्योर दिस इज ट्रू।’ हामी जति यहाँ घुमेका छौँ, त्यसको गाडी भाड़ा मात्रै दिनको ३ हज़ार ले ३० हज़ार हुन्थ्यो। यो कोठाको दैनिक ४ हज़ार भन्दा कम्ती कल्पना गर्न सकिन्न। ‘ब्रेकफास्ट’ र ‘डिनर’ को प्रत्येक पल्ट एक हज़ार भन्दा घटी हुन्न। दसबाह्र हज़ार त डुंगा चढेकै हुन्थ्यो। ‘व्हाट वी क्यान डु फार दिस फैमिली? हाउ वी क्यान गीभ देम मोर मनी?’

‘व्हाट यु थिंक ,क्यान आई बाई अ कारपेट बाई देम?’

‘दिस इज गुड़ आईडिया।’

हामीले रहीमको दाजुलाइ बोलाएर कार्पेट किन्ने भन्यौँ।

उनले ‘सिल्क ऑन सिल्क’का कारपेट देखाए।

ग्रेगोरले एउटा कारपेट लिने इच्छा गरिसकेका थिए। पुणेमा उनले पहिला नै २ वटा कार्पेट किनिसकेका थिए। यस काममा उनले ४ लाख भारतीय मुद्रा खर्च गरेका थिए। ग्रेगोरले रोजेको कार्पेटको दाम पुणेको बाजार अनुसार डेढ लाखभन्दा माथि नै हुने अनुमान थियो। तर रहिमका दाजुले हामीलाई दाम बताउनुको सट्टा रहिमलाइ फोन गरेर बोलाए।

रहिमले त्यस कार्पेटको दाम जम्मा ७० हजार भने। अब यहाँ दुकानदारी र ‘बार्गेनिंग’ को कुरा थिएन। ग्रेगोरले भने -‘हाउ पोसिबल’ यो कार्पेटको दाम पुणेमा घटीमा डेढ लाख हुन्छ?

रहिमले हाँस्दै भने, सरजी यो पुणे होइन काश्मीर हो, र यो मेरो आफ्नै ‘प्रोडक्शन’ हो। मैले मार्किटमा कार्पेट पठाउँदा त्यसको पैसा आउन २ वर्षसम्म लाग्छ। तपाईले मलाई ‘क्यास’ दिनु हुन्छ। ७० हज़ारमा मलाई पर्याप्त नाफ़ा छ।

ग्रेगोर नाजवाफ बने। उनले रहिमलाई ७० हज़ार ‘पेमेन्ट’ गरे।

पैसा लिँदै गर्दा रहिमका आंख रसाए। हालीनातिर हेर्दै उनले भने, ‘यु नो मैडम गड इज ग्रेट।’ अर्को साता मेरो भतीजीको बिहे छ। ‘फेमिली’संग ‘क्यास’ पैसा छैन, कहाँबाट पैसा आउला भन्ने चिन्तामा थियौँ। ‘गड’ले तपाईहरुलाई पठाई दिनु भयो। यो बेला कार्पेट बेचेर पैसा आउला भन्ने हामी सोच्न पनि सक्दैनौँ। ‘थैंक्स यु अल माई फ्रेंड्स।’

श्रीनगर छाड्ने दिन, हाम्रो फ्लाइट २ बजे छ। दिल्लीबाट राति ८ बजे पुणेको फ्लाइट छ। बिहानको नाश्ता पछि म डेकमा बसिरहेको छु। रहिम आईपुगे। मलाई एउटा चुरुटको बट्टा दिँदै भने, हवाई जहाज र एयरपोर्टमा कड़ा चेकिंग हुन्छ चरेश लैजान सम्भव छैन। मैले १० वटा चुरुट भरेर यस बट्टामा राखी दिएको छु। यसमा चेकिंग हुँदैन। एउटा कुरा सुनेको थिए भनिन्छ साधू सन्यासीका चरण जहाँ पर्छन् त्यस घरका सबै समस्या समाधान हुन्छन्। तपाईँ यहाँ आएर यस कुराको प्रमाण पाएँ मैले। तपाईँलाई लाख लाख धन्यवाद। तपाईँको आगमनले मेरो परिवारको ठूलो समस्या हल भयो। तपाईँलाई काश्मीरमा सधै स्वागत छ। मेरो त्यो अर्को हाउसबोट भाडामा दिने गरेको छैन। मेरा साथीहरु आउँदा बस्ने हो तपाईँलाई जहिले मन लाग्छ आएर त्यहाँ बस्नुस्। मेरो पूरा परिवारलाई आफ्नो भगत ठान्नुस्।

नियतिको खेल त्यसपछि आजका दिनसम्म मलाई काश्मीर जाने सहजता उपलब्ध भएको छैन।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्