कोरोना कहर

सांसदलाई कोरोना देखिएपछि कर्णाली प्रदेशसभामा खैलाबैला, स्वाब परीक्षण गर्नेहरुको तँछाडमछाड

फाइल तस्बिर।

वीरेन्द्रनगर– कर्णाली प्रदेशका प्रमुख विपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले निरन्तर अडान लिँदा कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको धेरै दिन भएको छैन।

यसो त शाहीसहित ६ जना कांग्रेसका सांसदले संसद अवरुद्ध गरेपछि कर्णाली प्रदेश सरकार बजेट प्रस्तुतिको शैलीसमेत सच्याउन बाध्य बन्यो।

सामाजिक दूरी कायम नगरी स्वाब संकलनका लागि शंकास्पद सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतको अभिलेख राखिँदै।

प्रदेशसभा बैठकमा प्रायःजसो महत्वपूर्ण विषयमा सभामुखसँग समेत एक्लै निरन्तर सवाल-जवाफ गर्न माहिर तिनै प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको छ।

स्वाब संकलनका लागि आफ्नो नाम नआएपछि नामवाली हेर्न जम्मा भएकाहरु।

एक किसिमले भन्ने हो भने सांसदहरुमा कोरोनाका कारण फेरि भय उत्पन्न भएको छ।

कर्णालीको दुःखसँग नजिक भएर आवाज उठाइरहेका हुम्ला–२ बाट निर्वाचित कांग्रेस प्रदेशसभा सदस्य शाहीलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री, शाहीका परिवारिक सदस्य, आफन्तसँगै प्रदेशसभामा प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब परीक्षण सुरु गरिएको छ।

स्वाब दिँदै प्रदेशसभा सचिवालयका कर्मचारी।

मंगलबार मात्रै जिल्ला जनस्वास्थ्य कार्यालय र सामाजिक विकास मन्त्रालयको समन्व्यमा स्वास्थ्यकर्मीको टोली इत्रामस्थित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवासमा पुगि शाहीको स्वाब संकलन गरे।

त्यस लगत्तै नजिकै रहेको प्रदेशसभामा पुगेर दिनभरजसो एक जना स्वास्थ्यकर्मीले प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय कर्मचारी, सुरक्षाकर्मी, क्यान्टिन सञ्चालक, शाहीको सम्पर्कमा आएका परिवारिक सदस्य, आफन्त र छिमेकीसम्मको स्वाब संकलन गरेका छन्।

स्वाब दिँदै प्रदेशसभाका सदस्य।

मंगलबार मात्रै एक सय १८ जनाको स्वाब संकलन गरिएको छ। संकलित स्वाब राख्ने भाँडो एउटा मात्रै भएपछि बाँकी प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी र अन्य व्यक्तिहरुको बुधबार स्वाब संकलन गरिने भएको छ।

सोमबार साँझ शाहीमा कोरोना पुष्टि भएकोमा प्रदेशसभा सचिवालयले स्वाब संकलनका लागि मगंलबार सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो। त्यसपछि लामो दूरीको यात्राका लागि ठिक्क परेका सांसद पनि हतारहतार प्रदेशसभा पुगेका थिए।

स्वाब दिँदै प्रदेशसभा सदस्य जीवनबहादुर शाहीको सम्पर्कमा आएका बालक।

कतिपय सांसदले प्रदेशसभामा पुगिसकेपछि मात्रै शाहीलाई कोरोना पुष्टि भएको जानकारी पाएका थिए। त्यसपछि झन् त्रासमा परेका उनीहरुले ‘मलाई कोरोना देखियो भने के गर्ने होला’ भन्दै चिन्ता व्यक्त गरेका थिए।

स्वाब संकलनका लागि भीड बढेपछि तनावमा परेका कर्मचारी।

नेकपाका तर्फबाट प्रदेशसभा सदस्य बनेकी कौशीला खत्रीले सुर्खेतमा आफू डेरामा बस्दै आएको, कोरोना पुष्टि भएपछि घरबेटीले डेरा नदिन सक्ने खतरा रहने दुखेसो गरिन्।

उनले भनिन्, ‘म त काठमाडौँ जानलाई ठिक्क परेको थिए। अचानक प्रदेशसभाबाट अनिवार्य उपस्थित हुनुपर्ने भनियो।अहिलेसम्म त हामी जोगिएका थियौँ। अब कोरोना पुष्टि भएपछि सबैभन्दा पहिले आफूलाई तनाव हुनेछ। दोस्रो डेरामा बस्न पाइँदैन कि भन्ने चिन्ता लागेको छ।परिवारलाई कसरी सम्झाउने र कहाँ राख्ने भन्ने चिन्ता पनि छ।’

कोरोनाको जोखिममा परेको थाहा पाएपछि खत्री जस्तै अन्य प्रदेशसभा सदस्य पनि चिन्तग्रस्त अवस्थामा भेटिए।

अर्कोतिर स्वाब सकंलन गरिरहेको ठाउँमा प्रदेशसभा सचिवालयका कर्मचारी तछाडमछाड गरिरहेका थिए। उनीहरुले सामाजिक दूरी कायम गरेका थिएनन्। कतिपय मास्क बिना कुराकानीमा व्यस्त देखिन्थे।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका कर्मचारीहरु स्वाब संकलन गर्नेहरुको नामावली, ठेगाना र फोन नम्बरको अभिलेख राख्न हैरान परेका थिए। मगंलबार स्वाब सकंलन गर्न नपाएका केही कर्मचारीहरु आक्रोशित भए।

यता सभामुख राजबहादुर शाहीले कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमै बसेका प्रदेशसभा सदस्य शाहीले फोनमा आफू विल्कुलै ठिक रहेको तर कोरोना पुष्टि भएपछि खानापानमा विशेष ध्यान दिएको बताएको जानकारी दिए।

सभामुख शाहीले, ‘माननीय शाही ठिक हुनुहुन्छ। उहाँसँग मेरो फोनमा कुरा भएको थियो। खानपानमा ध्यान दिएर आइसोलेसनमा बसेको बताउनुभयो।’

कोरोनाले देशव्यापी रुप लिन थालेपछि केन्द्रमा प्रदेशसभा, राष्ट्रियसभासँगै प्रदेशसभामा सदस्यहरुको पहिले पनि स्वाब संकलन गरिएको थियो।

शाहीले आफ्नो गृह जिल्ला हुम्ला पुगेर छलफल लगायतका कार्यक्रममा सामेल हुने योजनासहित पीसीआर परीक्षण गरेका थिए। शाहीसँगै उनका स्वकीय सचिव र अर्का एक जनाको पीसीआर परीक्षण गरिएको थियो।

कर्णाली प्रदेशमा हालै मात्रै सरकारले प्रस्ततु गरेको बजेट पारित भएपछि सूचना टाँसेर अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो। कर्णालीमा कोरोना संक्रमण घट्ने लक्षण अझै देखिएको छैन।

पछिल्लो २४ घण्टा २७ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ सय ९० पुगेको छ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णालीमा हाल संक्रमितको संख्या स्थिर रहेको बताए।

उनले भने, ‘संक्रमित हुने र निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या उस्तै उस्तै छ। हाल आएर संक्रमितको संख्या बढेको भन्न मिल्दैन। बरु स्थिर भन्न मिल्ला।’

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्