३५ सय मिटरको उचाइमा बन्यो वडा कार्यालय

सिमकोट– नाम्खा गाउँपालिकाको वडा नम्बर ६ ले हिमालपारीको गाउँ लिमीमा तीन हजार पाँच सय मिटर अग्लो स्थानमा वडा कार्यालय भवन बनाएर सञ्चालनमा ल्याएको छ।

अधिकांस वडा र गाउँपालिकाहरु भाडाका घरमा बस्दै आएको बेला लिमीमा भने बार्षिक बजेट व्यवस्था गरेर वडा कार्यालयको भवन बनाइएको हो।

वडा कार्यालय स्थापनाको समयमा भाडाको घरमा बस्दै आएको वडा कार्यालयले आफ्नै भवन पाएको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए।

उक्त वडा कार्यालय भवन तीन हजार पाँच सय मिटर अग्लो स्थानमा निर्माण गरी सञ्चालनमा आएको हो। गाउँपालिका र वडाको आफ्नै बजेटबाट भवनको निर्माण गरिएको हो।

गत वर्ष भवन मात्र बनेको भएपनि यस वर्ष कम्पाउण्ड लगाउने र घेरवार गर्ने कार्य सम्पन्न भएको उनले बताए। वडाका लागि आवश्यक पर्ने सबै संरचना भवनमा निर्माण गरिएका छन्।

बजेट अभावले अघिल्लो वर्ष पूरा हुन नसकेको भवनको संरचना स्थानीय बासिन्दाहरु मिलेर निर्माण गरेका हुन्।

असार ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्