विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका

क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयको खाली प्राङ्गढ । तस्बिर : टोनी लङ्ग/द न्यूर्योक टाइम्स

विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम हालै ल्याएको थियो ।

त्यसको चौतर्फी आलोचना भएपछि ट्रम्प प्रशासन त्यसबाट पछि हट्न बाध्य भएको हो। सरकारको सो निर्णय विरुद्ध हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी (एमआइटी) ले अदालतमा मुद्दा दायर गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण कक्षा अनलाइनमा गएका विश्वविद्यालय तथा शैक्षिक संस्थाका विदेशी विद्यार्थीहरुले आफ्नै देशमा फर्किनु पर्ने नियम घोषणा गरेको एक हप्तामै ट्रम्प प्रशासनले सो फिर्ता लिएको हो ।

हार्वर्ड र एमआइटीले दायर गरेको मुद्दा पनि सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताएकी छन् । सहमति अनुसार गएको मार्चमै लागु भएको नियम कार्यान्वयनमा हुनेछ । जस अनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने द न्यूयोर्क टाइम्सले जनाएको छ

अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले गएको हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति सार्वजनिक गरेको थियो ।

सो नियम अनुसार आफ्नो कोर्सलाई ‘इन–पर्सन ट्यूसन’ अर्थात प्रत्यक्ष अध्यापन गर्नु पर्नेमा परिमार्जन नगरेको विदेशी विद्यार्थीहरु अमेरिका बस्न पाउने थिएनन् ।

नियम नमान्ने व्यक्ति डिर्पोट हुने आइसिइले बताएको थियो । तर अब भने सो नियम लागु नहुने भएको छ।

कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयलहरुले अहिले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् । हार्वर्ड विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका सबै कक्षाहरु अनलाईन मार्फत सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ ।

अमेरिकी विश्वविद्यालयलमा अध्ययन गर्नका लागि बर्सेनि ठूलो संख्यामा विदेशी विद्यार्थीहरु जाने गर्छन् । अमेरिकी विश्वविद्यालयहरुका लागि विदेशी विद्यार्थी आयको प्रमुख स्रोत पनि हुन् ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्