देशभरको मौसम कस्तो रहला, भारी वर्षाको सम्भावना छ?

काठमाडौँ – देशभरको मौसम बुधबार दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । तर अघिल्ला दिनमा जस्तो धेरै पानी भन्ने नपर्ने जनाइएको छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्