अभिनेता राजेश हमालको आग्रह–सम्बन्धित व्यक्ति (दीपाश्री) लाई माफी दिनुहोला!

काठमाडौँ – ‘महानायक’ विवादको केन्द्रमा रहेका सो उपाधि धारण गरेका अभिनेता राजेश हमालले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई व्यक्तिगत स्तरमा उत्रेर कुनै पनि प्रकारको गाली वा दूर्व्यहार नगर्न आग्रह गरेका छन् । हमालले आफ्ना समर्थक दर्शकलाई दीपाश्रीलाई माफी दिन आग्रह गरेका हुन् ।

दीपाश्रीले केही समयअघि एक अन्तर्वार्ताको क्रममा राजेश हमाललाई दिइएको महानायक उपाधिमा प्रश्न उठाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जालमा दीपाश्रीको चर्को विरोध गरेका थिए हमालका फ्यानहरुले । दीपाश्रीले माफी मागे पनि सो क्रम रोकिएको थिएन ।

व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफू अति तनावको अवस्थामा पुगेको र मनोसामाजिक समस्या नै देखिने हो कि भन्ने चिन्तामा रहेको बताएकी थिइन् ।

विवादले खराब दिशा लिएपछि अभिनेता हमालले अन्ततः त्यसलाई साम्य पार्नका लागि आफ्नो तर्फबाट प्रयास गरेका छन् । उनले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आग्रहसहितको भिडियो सन्देश पोस्ट गरेर ‘सम्बन्धित व्यक्तिलाई माफी’ दिन सबैसँग आग्रह गरेका हुन् ।

भिडियोमा हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

दर्शकले कलाकारलाई उसको क्षमता प्रस्तुत गर्नका लागि जहिले पनि प्रेरित गर्नु पर्ने भन्दै त्यसका लागि अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्छु । कलाकारलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्छु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

सम्बन्धित समाचारहरु

हामीले आङ कन्याएर छारो उडायौँ

महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रति प्रहार हो, हामी साइबर बुलिङमा परेका छौँ: दिपकराज गिरी

केदार घिमिरे भन्छन्, ‘छक्कापञ्जा टिमबाट माग्ने निकालौँ’ भन्ने कुरा पनि आएको रहेछ

‘गल्ती मान्छेबाटै हुन्छ र माफी मान्छेले नै माग्छ, तर हामी मान्छे बन्नु नै अपराध!’

स्वस्तिमाको चित्तदुखाइ ‘हिरोइन भएर त यति सहनु पर्छ’ भन्नु जतिको अपमानजनक अरु हुन सक्दैन

नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले भिडियोमा भनेका छन्, ‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो । भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र ?’

अभिनेता हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र दर्शकको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन् ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्