कार्बनमुक्त हरित उर्जा उत्पादनका लागि बाइडेनले घोषणा गरे महत्वकांक्षी योजना

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले महत्वकांक्षी हरित उर्जा योजना सार्वजनिक गरेका छन् ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले २० खर्ब अमेरिकी डलर बराबरको हरित उर्जा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले सन् २०३५ सम्ममा कार्बनमुक्त विद्युत उत्पादन गर्ने योजनामा उल्लेख गरेका छन् ।

कार्बन उत्सर्जन कम गर्नका लागि चार वर्षको अवधिमा स्वच्छ उर्जाका पूर्वाधारमा लगानी गर्ने प्रस्तावित योजनामा उल्लेख छ ।

गृह राज्य डेलवेरमा भएको चुनावी कार्यक्रममा बाइडेनले भने, ‘अब थप समय बर्बाद नगरौँ । काम गर्न थालौँ ।’

बाइडेनले जलवायु परिवर्तन वास्तविक र मानव समुदायले सामना गरिरहेको टड्कारो समस्या रहेको बताउँदै आएका छन् र जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नो प्रयासले प्रमुखता पाउने बताउँदै आएका छन् ।

तर उनका रिपब्लिकन प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने त्यस विपरित छन् । ट्रम्पले जलवायु परिवर्तनलाई ‘मिथ्या’ भन्ने गरेका छन् ।

बाइडेनले भनेका छन्, ‘डोनाल्ड ट्रम्पले जब जलवायु परिवर्तन बारे सोच्छन्, उनले बोल्ने एक मात्र शब्द छल हो । तर म यसलाई गम्भीर समस्या र रोजगारको रुपमा लिन्छु ।’

प्रस्तावित योजना अनुसार कार्बन रहित उर्जा उत्पादन कसरी हुनेछ र त्यसका लागि बजेटको व्यवस्था कसरी गरिने छ भन्ने कुरा आउँदा दिनमा स्पष्ट पारिने बाइडेको चुनावी अभियानले जनाएको छ ।

बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिकालाई पुनः फर्काउने पनि बताएका छन् । सन् २०१५ मा भएको सम्झौताबाट अमेरिका सन् २०१७ बाहिरिएको घोषणा गरेका थिए ट्म्पले ।

पेरिस जलवायु सम्झौता जलवायु परिवर्तनको असर नियन्त्रण तथा कार्बजन उत्सर्जन कम गर्ने पक्षमा विश्वको सबैभन्दा महत्वपूर्ण प्रयास मानिन्छ ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्