बैंकमा दैनिक १७ घण्टा काम गर्दै कर्मचारी

सिमकोट– राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले दैनिक १७ घण्टा काम गर्नु परेको छ । आर्थिक वर्षको अन्त्य भएको कारण बैंकिङ कारोवार बढी गर्नु परेपछि बैंकका कर्मचारीहरुले अतिरिक्त समय काम गर्नु परेको हो ।

बिहान साढे छ बजे घरबाट निस्केका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु बेलुका साढे एघार बजे मात्र घर फर्कने गरेको बैंकका प्रबन्धक सबिता शाहीले बताइन् ।

आफूहरुलाई खाजा खाने फुर्सद पनि नभएको बैंकका कर्मचारी बताउँछन् । आर्थिक वर्षको अन्त्यतिर भएको कारण योजनाको भुक्तानी दिनु पर्ने भएकोले कामको चाप बढेको हो ।

केही दिन अगाडिसम्म दैनिक एक दुई करोडको कारोवार हुने गरेकोमा अहिले सात करोडसम्म भुक्तानी दिनु परेको बैंकले जनाएको छ ।

आर्थिक कारोवार बढेपछि बैंकमा भुक्तानी लिनेको लाम पनि धरै हुने गरेको छ । सामाजिक दूरी कायम गरि बैंकले भुक्तानी दिने व्यवस्था गरे पनि सेवाग्राही घण्टौँसम्म लाइनमा बस्दै आएका छन् ।

एक जनाले भुक्तानी लिन ६ घण्टासम्म कुर्नु परेको सेवाग्राहीको गुनासो रहेको छ ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्