नेपालमा अधिकांश कोरोना संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका

काठमाडौँ– विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको जोखिम ६० वर्षमाथिका उमेर समूह र लामो समयदेखि कुनै रोगसँग लडिरहेका व्यक्तिमा बढी हुने बताउँदै आएको छ ।

तर उसले युवा, प्रौढ वा बालबालिकामा संक्रमण नहुने वा संक्रमण घातक नहुने बताएको छ । उसले मात्रै बढी जोखिम पाको उमेरका व्यक्तिमा हुने भएकाले विशेष ख्यालको खाँचो रहेको जोड दिएको हो । धेरै देशमा संक्रमित हुने र कोभिड–१९ को मृत्युदर पाको उमेरका व्यक्तिमा तुलनात्मक रुपमा बढी रहेको छ ।

तर पछिल्ला समय संक्रमण दर तथा मृत्युदर युवा तथा प्रौढमा पनि बढ्दो गएको छ । वैज्ञानिकहरुले कोरोना कम उमेरका व्यक्तिमा पनि देखिएको भन्दै चिन्ता जताएका छन् ।

नेपालमा अहिलेसम्म संक्रमित भएका मध्ये पाको उमेरका भन्दा युवाहरु बढी छन् ।

असार २९ गते सोमबारसम्म संक्रमितको संख्या १६ हजार ९ सय ४५ थियो । यो मध्य १० हजार ७ सय ३८ संक्रमितको उमेर समुह २१ वर्षदेखि ४० वर्षसम्मको रहेको छ। जसमध्ये महिलाको संख्या १ हजार ४ सय ५७ रहेको छ भने पुरुषको संख्या ९ हजार २ सय ८१ रहेको छ।

तुलनात्मक रुपमा अन्य प्रदेशको भन्दा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या धेरै रहेको छ। संक्रमित भएको मध्ये २१ वर्षदेखि ४० वर्ष उमेरका व्यक्तिको संख्या यी तीन प्रदेशमा ७ हजार ७ सय ४३ (९ सय ५६ महिला र ६ हजार ७ सय ८७ पुरुष) रहेको छ।

नेपालमा ११ वर्षदेखि २० वर्षको उमेर समूहका व्यक्तिको भाइरसको संक्रमण उच्च नै देखिएको छ। यो उमेर समूहका २ हजार ८ सय ६९ जनामा संक्रमिण देखिएको छ। जसमध्ये २ सय ६७ बालिका वा किशोरी हुन् भने २ हजार ६ सय २ जना बालक वा किशोर रहेका छन्।

संक्रमित भएको उक्त उमेर समूहका व्यक्तिहरु धेरै जसो लक्षण बिहीन छन्। लक्षण नभएका व्यक्तिबाट संक्रमण फैलिँदैन भनेर ठोकुवा गर्न नसकिने विज्ञहरु बताउँछन्। तुलनात्मक रुपमा लक्षण भएका व्यक्तिबाट भन्दा लक्षण नभएका व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना कम भएपनि संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ ।

इन्फोग्राफ: नरेश राउत

अझ पछिल्लो समय विश्वका विभिन्न देशमा लक्षण नभएका व्यक्तिबाटै महामारीले विकराल रुप लिएको भन्दै वैज्ञानिकले चासो र चिन्ता व्यक्त गरेका छन् । लक्षण नभएका व्यक्तिहरु आफूलाई संक्रमण नभएको बुझे पनि तर उनीहरुबाट अरुमा सर्न सक्ने जोखिम उत्तिकै हुने विज्ञले बताएका छन् ।

नेपालमा युवामा बढी संक्रमण देखिनुको मुख्य कारण वैदेशिक रोजगारी रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

‘यही उमेर समूहका व्यक्तिहरु रोगजारीका लागि देश बाहिर गएका थिए। लकडाउन भएपछि नेपाल फर्किए। उनीहरुमा परीक्षण भयो। जसले गर्दा युवा अवस्थाका व्यक्तिहरुमा संक्रमण धेरै देखियो’, उनले भने, ‘नेपालमा पनि समुदायमा संक्रमण फैलिएर सबैमा परीक्षण भएको भए। यही उमेर समूह मात्रै संक्रमित भएको हो वा विश्व स्वास्थ्य संगठनले भने जस्तो बढी उमेर भएका व्यक्तिमा संक्रमणको जोखिम धेरै हो भन्ने थाहा हुने थियो। वृद्धाहरुमा परीक्षण हुन सकेको छैन।’

हुन त सरकारले पनि भनेको छ, ‘स्वास्थ्यमा कुनै पनि समस्या भएर अस्पताल पुगेका ६० वर्ष माथिका र दीर्घरोगीहरुमा अनिवार्य रुपमा पीसीआर परीक्षण गरिने छ।’ तर सरकारले भने अनुरुप उक्त व्यक्तिहरु परीक्षण खासै प्रभावकारी रुपमा भने हुन सकेको छैन।

उमेर पुगेका व्यक्ति घर बाहिरको काममा धेरै सक्रिय नहुने भएका कारण युवाहरुमा संक्रमण धेरै देखिएको उनले बताए।

‘युवाहरु नै व्यापार तथा जागिरमा सक्रिय भएर काम गरिरहेका हुन्छन्। उनीहरु बाहिर धेरै एक्सपोज हुने गर्छन्। जसले गर्दा संक्रमण हुने सम्भावना उनीहरुमा धेरै रहन्छ। तर बराबर संख्यामा वृद्धा र युवालाई राखेर परीक्षण गरेको भए संक्रमणको जोखिम कसलाई धेरै भनेर भन्न सजिलो हुन्थ्यो होला’, डा. पुनले भने, ‘तर अहिलेको परीक्षणको दायरा हेर्ने हो भने युवाकै वरिपरी गरेको देखिन्छ। त्यसले गर्दा जुन समुहलाई लक्षित गरी परीक्षण गरियो। त्यही समूहमा संक्रमण धेरै देखिएको हो।’

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्