आउनुहोस् अब हामी सती पूजा गरौँ!

‘यो सतीले सरापेको देश हो’, सम्भवत यो भनाई नसुन्ने कुनै नेपाली छैनन् र यसलाई गम्भीरतापुर्वक लिने पनि कुनै नेपाली छैनन्। तर अब गम्भीरतापूर्वक लिनुपर्ने बेला आइसकेको छ। किनभने अब दोष दिनलाई कुनै शक्ती र कुनै व्यवस्था बाँकी रहेन। सती पूजा एकमात्र विकल्प बाँकी छ।

जनताले सतीले सरापेको देश भनिरहँदा नेताहरु भने यो स्विकार्न तयार छैनन् । देश पछाडि पर्नुको कारण उनीहरु आफ्नो अनुकुल अनेक दिन सक्छन्। कारण दिन छोडे भने उनीहरुको जागिर नै जान्छ त्यसैले उनीहरु बोलिरहन्छन् ।

कुनै बेला सारा दोष राजामाथि थुपारियो, कुनै बेला संविधान नभएर भनियो, कुनैबेला स्थायी सरकार नबनेर भनियो । त्यो भन्दा पहिले पनि कहिले राणा त कहिले पञ्च्यायतलाई अवरोध ठानियो। तर आफ्नो स्वमुल्याङ्कन कहिलै गरेनन् ।

उनीहरुमा ठ्याक्कै रावण र दुर्योधनको जस्तो अहंकार छ। उनीहरु ठान्दछन् उनीहरुबाट गल्ती हुनै सक्दैन। यदी हुन्छ भनेपनि प्रजाले त्यसलाई सहिदिनुपर्छ। कसैले गलतलाई गलत भन्ने शाहस गरे उनीहरु सत्ताको दुरुपयोग गरी कारवाही गरिदिन्छ्न् । रावणको बध गर्न राम आए, दुर्योधनको बध गर्न कृष्ण आए । तर हाम्रो देशमा यी निकम्मा नेताहरुको अन्त्य गर्न कोही पनि न आउनु किन होला ? कतै सतीले नै रोकेकी पो छन् कि ?

हाल देशमा माथि उल्लेखित सबै भन्ने गरेका अवरोध हटिसके । देशले जनप्रतिनिधिले बनाएको संविधान पाएको छ। करिव दुई तिहाई हाराहारी प्राप्त स्थायी सरकार पनि पाएको छ ।

राजनैतिक नेतृत्वले जनताले सुन्दै नसुनेको र चाहँदै नचाहेको मुद्दाहरु ( गणतन्त्र, धर्म निरपेक्षाता र संघियता) पनि लागु गरे । तर जनताले मागेको एउटा कुरा पनि दिन सकेनन्। जनताले पूर्ण लोकतन्त्र, शान्ति र समृद्धि मागेका थिए।

धर्म निरपेक्ष भन्ने शब्काे अर्थ स्वयं सबै नेताहरुलाई थाहा थिएन। संविधानमा लेखिसकेपछि जनताले शब्दकाेषमा अर्थ खोजिएको सम्भवत विश्वको पहिलो घटना होला यो । जनताले कल्पना सम्म नगरेको चामत्कारिक मायावी मुद्दा थियो त्यो । खोजेको कुरा नपाइने तर नखोजेको कुरा व्यहोर्नुपर्ने हाम्रा गह्र दशा बिग्रेकै मान्नु पर्ला।

हामीसँग श्रोत साधन र सम्भावना नभएको पनि होइन। विश्वमा द्रुतगतिमा आर्थिक फट्को मार्ने देशहरुभन्दा हामीसँग अधिक प्राकृतिक श्रोतहरु छन् । जडिबुटि तथा खनिज, कृषि, पर्यटन र जलविद्युतको धनि हौँ हामी । दुई विशाल विश्व शक्तिमान मुलुकहरुकोबीचमा पुल बनेर आर्थिक उपलब्धी हासिल गर्न सक्ने सम्भावना सँगसँगै छ तरपनि दुर्गती पथमा देश छ,जनतामा चरम निराशा छ।

हाल मुलुक सँगसँगै विश्व ‘कोभिड १९’ नामक भाइरसको महामारीबाट गुज्रिरहेको छ। देशमा संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै छ। देश बन्दाबन्दीमा छ, अर्थतन्त्र धरासायी छ, संकटमा पनि भ्रस्टाचारका समाचार आउन छोडेका छैनन्।

भ्रस्टाचारीलाई कारवाहीको साटो प्रधानमन्त्रीले नै तत्काल बचाउने प्रवृत्ति छ। दुइ तिहाई हाराहारीको सरकार आफ्नै यस्तै कुबुद्दिले कहिले गिर्ने हो टुंगो छैन।

जनताले स्थायी सरकारको चाहनामा विश्वाश गरेर भारी मत दिएर पठाएको दल सत्ताको झिना झम्टिमा व्यस्त छ । यी मध्ये जसले सत्ताको चावी पाएपनि देश र जनतालाई कुनै फाइदा हुने चाहीँ होइन । विकल्प उचित देखिन्थ्यो भने वर्तमान प्रधानमन्त्रीलाई च्यापिरहनु पनि जरुरी थिएन तर विकल्प उत्तम नदेखिँदा परिवर्तनको औचित्य पनि नहुँदो रहेछ।

वर्षौँ देखि जनताले प्रतिक्षा गरेको स्थायी सरकारको यो दुर्दशा श्रापकै लक्षण हुन सक्छ। हाम्रा सनातन धर्म ग्रन्थहरुमा श्राप लाग्दछ भन्ने विभिन्न तथ्यहरु भेटिन्छन्। अब व्यबहारमा पनि लाग्दो रहेछ भनेर विश्वाश गर्नुपर्ने देखियो।

विश्वका धेरै विकशित मुलुकहरुमा पनि आफ्नो देशका धर्म, संस्कृति प्रथाहरुमाथि अध्ययन र अनुसन्धान हुने गर्दछन्। आउनुहोस् हामी पनि एकपटक सतीको बारेमा सोचौँ।

केहो सती प्रथा ?

सती प्रथा हिन्दु धर्मावलम्बी भित्रका खास गरि राजघरानामा स्थापित एउटा प्रथा हो । जसलाई पछि राजाको निकट परिवारमा पनि देखासिकीको रुपमा भित्र्याउदै गरेको पाइन्छ। आफ्नो पति मर्दा पत्नी पनि जिउँदै चितामा जल्नुपर्ने हृदयविदारक प्रथा भारत र नेपालमा प्राचिन कालदेखि नै चलेको पाइन्छ।

यसको सुरुवात कहिले र कसले गरे भन्ने तथ्यमा एकरुपता छैन तर नेपालमा यसको चलन भारतबाट भित्रिएको अनुमान लाउन सकिन्छ । नेपालमा यसको प्रचलन लिच्छिवीकाल, मल्लकाल देखि नै रहेको प्रमाण छ। राजा मानदेवले सन् ४६४ मा भक्तपुरको चाँगुनारायणमा कुँदेको शिलालेखमा आफ्ना पिता धर्मदेवको मृत्युपछि आमा राज्यवतीलाई सती जानबाट आफूले रोकेको कुरा जनाइएका छन्।

सति सम्बन्धी इतिहासका विभिन्न तथ्यहरु अध्ययन गर्दा यो प्रथालाई हिन्दु धर्मका विभिन्न ग्रन्थहरु जस्तै गीता, महाभारत, रामायण आदिमा विभिन्न प्रसङ्गहरु उल्लेख गरेको पाइन्छ । महाभारत ग्रन्थमाराजा पाण्डुको मृत्युपछि उनकी एक रानी स्वइच्छाले सती गएको उल्लेख छ।

नेपालमा कहिँ कतै यसलाई राजदरवारमा राजनैतिक अस्त्रको रुपमा प्रयोग गरेको पनि भेटिन्छ । राजघराना भन्दा बाहिर पनि सम्पती वा अन्य रिसिवी साध्नको लागि सती जान बाध्य पारेको घटना पनि घटेका हुन सक्छन्।

धर्म निरपेक्ष भन्ने शब्काे अर्थ स्वयं सबै नेताहरुलाई थाहा थिएन। संविधानमा लेखिसकेपछि जनताले शब्दकाेषमा अर्थ खोजिएको सम्भवत विश्वको पहिलो घटना होला यो । जनताले कल्पना सम्म नगरेको चामत्कारिक मायावी मुद्दा थियो त्यो । खोजेको कुरा नपाइने तर नखोजेको कुरा व्यहोर्नुपर्ने हाम्रा गह्र दशा बिग्रेकै मान्नु पर्ला।

सती प्रथामा आधारित उपन्यास झोलाका लेखक कृष्ण धारावासीले ८ मंग्सिर २०७५ मा नेपालको एक रास्ट्रिय दैनिकमा लेख लेखेर सत्य घटना भन्दै उनकी टाढाकी एक नातेदार महिलालाई १९६२ तिर पतिको चिताबाट भाग्दै गर्दा गाउँलेहरुले ढुंगाले हानेर मारेको उल्लेख गरेका छन् ।

अन्य गाउलेहरुले ढुंगा हान्दा सतीलाई नलागेको तर आफ्ना देवरले हान्दा लागेको,सतिले देवरलाई ‘तेरो खरानी उडोस्’ भनेर श्राप दिँदा पछि ति देवरको सपरिवार पहिरोमा बगेको कुरा उल्लेख गरेका छन् ।

लिच्छिविकाल तथा मल्लकाल हुँदै आधुनिक नेपालका शाह व‌ंशका धेरै राजाहरुका रानीहरु पनि सती गएको तथ्यहरु पाइन्छन्। स्वयं पृथ्वीनारायण शाहको मृत्युपछि उनकी एकजना रानी नरेन्द्रलक्ष्मीदेवी सती गएकी थिइन् । राजा प्रताप सिंह शाहको मृत्यु पछि उनका दुईजना रखौटीहरुलाई सती पठाइएको थियो तर उनकी रानी राजेन्द्र लक्ष्मी सती गईनन् ।

राजा रणबहादुर शाहलाई उनका सौतेला भाइहरुले हत्या गरि उनकी रानीसहित केही रखौटीहरुलाई सती जान बाध्य पारिएको थियो । १९१० मा श्री ३ जंगबहादुरले सती प्रथालाई संसोधन गरि केहि खुकुलो बनाएको इतिहास छ । उनले १६ वर्ष भन्दा मुनिका विधवा र ९ वर्ष भन्दा साना सन्तान हुने विधवालाई सती जानु नपर्ने व्यवस्था गरेका थिए तर उनको मृत्युपछि उनका ४२ जना रानीहरुलाई सती पठाइएको थियो । पछि १९७७ मा श्री ३ चन्द्र्शम्सेर राणाले सती प्रथाको विधिवत अन्त्य गरिदिएका थिए ।

इतिहास देखिको मुल्यांकन्

आधुनिक नेपालका निर्माता श्री ५ पृथ्वीनारायण शाहको कार्यकाल बि.स. १७७९ देखि उनका माहिला छोरा बहादुर शाह र जेठी बुहारी तथा रानी राजेन्द्र लक्ष्मी शाहको कार्यकाल बिस १८१६ सम्मको ३७ वर्षे समय देशका लागि उपलब्धीमुलक रह्यो। स-साना बाइसे चौबिसे राज्यमा टुक्रिएको यो भूभाग एकीकृत नेपाल बन्यो र देशको सिमा कुमाउँ ( गढवासम्म पुग्यो। नेपालको इतिहासमा रास्ट्रको सबैभन्दा उपलब्धीमुलक कालखण्ड यहि नै हो।

बि.स.१८१६ मा राजा गृवानयुद्द बिक्रम शाहका पालादेखि नेपाल एकीकरणले पूर्णबिराम पायो । साथै विभिन्न राजनैतिक जालझेलमा मुलुक फस्यो र अझै मुक्त हुन सकेको छैन । बिस १८१६ देखि २०७७ सम्म आइपुग्दाका २६१ वर्ष सम्म पनि मुलुकले कुनै उल्लेख्य उपलब्धी हासिल गरेको छैन भन्दा अनुपयुक्त नहोला।

यसपछि नेपालको इतिहासमा विभिन्न पात्रहरू आए जंगबहादुर राणा , राजा महेन्द्र , राजा विरेन्द्र, बिपी कोइराला, मदन भण्डारी आदि । तर यी महापुरुषहरुले केही असल छाप छोड्न सफल रहेता पनि देशले छलाङ्ग मार्न भने सकेन । दश वर्ष सशस्त्र युद्द गरेर नेतृत्वमा आएका पुष्पकमल दाहाल, दुईतिहाई मत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओली यस्ता मै हुँ भन्ने नेताहरु पनि कुर्चीमा बस्यो कि पतन हुनुमा त्यो कुर्सीमा रहस्य त पक्कै छ  ।

किन गर्ने सती पूजा ?

इतिहासको कालखण्डमा कति जना सतीहरु ज्युँदै जले र तिनीहरुले ककसलाई कस्तो श्राप दिए यसको कुनै तथ्य छैन । तिनीहरु मध्ये कतिले त अवश्य देशलाई नै श्राप दिएका हुन सक्छन्। ‘यो देश कहिल्यै उँभो नलागोस्’ भन्ने श्राप दिएका हुनसक्छन्।

ब्रह्मा, विष्णु र महेश्वोरको पूजा गरिसक्यौँ। तेत्तिस कोटी देवी देवताको पूजा गर्‍याैँ । दिगंवत पित्रीलाई पूजा गर्‍याैँ। बुद्दको पूजा गर्‍याैँ, प्रकृतिको पूजा गर्‍याैँ। पूजामा हामी यति उदार छौं कि त्यतिले नपुगेर विदेशी धर्म आयात गरेर देशका कुना काप्चामा चर्च बनाई पूजा गर्‍याैँ।

हामीले मसानलाई पनि विभिन्न खालका सम्मान गर्दछौँ । बोक्सीलाई ‘पात्लो फाल्ने’ भन्दै विभिन्न खानेकुरा दिएर पूजा गर्छाैँ  । कतिपय नेपालीले राक्षशको समेत पूजा गर्दछन्।

मध्यपश्चिमका केही जातीले रावणको पूजा गर्ने गरेको पाइन्छ ।अब प्रश्न उठ्छ सतीको पूजा किन नगर्ने ?

यसै प्रसंगमा यस स्तम्भकारले बाल्मिकी विद्यापीठका प्राध्यापक डा आनन्दप्रसाद घिमिरेलाई ‘के सतीको श्राप लाग्न सक्छ’ भन्ने प्रश्न गरेको थियो। उहाँले सोलोडोलोमा देशको अवस्था हेर्दा सतीको श्राप लागेको कुरा नकार्न नसकिने बताउदै थप्नुभयो, ‘मान्छेलाई ईश्वरले दिएको विवेकशक्ति हो, त्यो गुमायो भने अर्थात् मानव, पशुपन्छी लगायत स्थावर जङ्गम आदि पंचतत्वोको सृष्टिचक्र मैत्री भएन भने अनि देश र जनताको हित विपरित क्रियाकलाप गर्यो भने अप्राकृतिक क्रियाकलाप विरुद्दमा सती अर्थात् प्रकृतिको श्राप लाग्छ ।

विज्ञको यसप्रकार भनाईबाट पनि सतीको श्राप नलागेको मान्न सकिएन । धेरै काल हेरियो, धेरै वाद र तन्त्र देखियो। एकसे एक सबै हाम्रा लागि फलदायी त रहेनन् नै उल्टो घातक पो देखिए। रहस्य के होला एउटा लोभी हुन सक्छ सबका सब लोभी भेटिए ।

एउटा पापी हुनसक्छ तर यहाँ त सबका सब पापी भेटिए । एउटा धोके हुनसक्छ तर यहाँ त सबका सब धोके भए । रहस्य के त ? आखिर हामी धर्म र अध्यात्ममा विस्वाश गर्दै नगर्ने पनि त होइनौँ । त्यसैले आउनुहोस् अब सती पूजा गरौँ । सतीसँग माफी मागौँ, पुर्खाको गल्तिको प्रयास्चित गरौँ कतै देशको सराप पखालिन्छ कि ।

 

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्