सांकेतिक तस्बिर।

धनगढी-बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको छ।

पञ्चेश्वर गाउँपालिका-४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् भने पुर्चौडी नगरपालिका –१० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

दुई वर्षदेखि बुवाले आफ्नी छोरीलाई पटकपटक बलात्कार गरिरहेको सूचनाका आधारमा बुधबार पञ्चेश्वर गाउँपालिका –४का ४५ वर्षीय पुरुष पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले बताए।

आमा पहिले नै छाडेर गइसकेकी र बुवाले दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । उनले भने–‘म आफै गएर पक्राउ गरेको हुँ, पीडित छोरी सानै उमेरकी र उक्त घटनाका कारण उनको भविष्यमा असर पर्नसक्ने भएकाले अहिले बुवा–छोरी दुवैको नाम गोप्य राखेका छौं ।’

मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको उनले बताए। यस्तै बैतडीकै पुर्चौडी नगरपालिका –१० मा ३२ वर्षीय छोराले ६१ वर्षीय आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी विषादी सेवन गरेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्