पैसाका लागि हैन राष्ट्रको लागि खेल्यौं: सुजल श्रेष्ठ

मोरङ-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशलाई खेलकुदको राजधानी बनाउने संकल्प लिएको बताएका छन्।

विराटनगरमा १३ औं सागका विजयी खेलाडीलाई सम्मान गर्ने क्रममा मुख्यमन्त्री राईले खेलकुद क्षेत्रले मुलुकको इज्जत प्रतिष्ठा, नामलाई शिखरको उचाईमा पुराउने भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

सागमा प्रदेश १ बाट स्वर्ण, रजत र कास्य पदक हात पार्ने ८८ जना खेलाडीलाई ८० लाख रुपैया पुरस्कार र प्रसंसा पत्र प्रदान गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्र अब छायाँमा नपर्ने जानकारी दिए। उनले भने, खेलकुद क्षेत्र अब छायाँमा पर्नेछैन। कुनै कसैको राजनीतिक कोपभाजनमा पर्नेछैन।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले परिस्थिती र समय अनुकुल नहुदाँ सम्मान गर्ने नपाईएको प्रस्टाए। पदकधारी खेलाडीलाई समयमा सम्मान र पुरस्कृत गर्न नपाईएको बताएका मन्त्री घिमिरेले प्रदेश सरकारले १ सय ३७ पालिकालाई नै खेलकुदमय बनाइने उल्लेख गरे।

खेलाडीका तर्फबाट सागमा फुटबल टोलीको कप्तानी गरेका धनकुटाका सुजल श्रेष्ठले प्रदेश सरकारले पदक दिदाँ हौसला पाएको बताए। सरकारले पदक दिन विर्सेको जस्तो लागेको बताएका श्रेष्ठले असार ३१ मै पुरस्कृत र सम्मान गर्दा बजेट हतारमा सके जस्तो अनुभव भएको बताएका थिए।

आफूहरु पैसाको लागि नभएर राष्ट्रको खेल्ने भएको बताएका श्रेष्ठले भने, ‘हामीले पैसाका लागि खेलेनौं। पैसा प्राथमिकतामा परेन। हाम्रो सोच अन्य राष्ट्रलाई पराजित गरेर पदक जित्नु र राष्ट्रको नाम उच्च बनाउनु मात्र रहेको छ।त्यसैले मन दुखेको छैन।’

प्रदेश सरकारले पुरस्कृत गर्ने क्रममा खेल, इभेन्ट र सहभागिताका अनुसार पुरस्कार वितरण गरेको थियो। सोही क्रममा भुटानलाई १ काविरुद्ध २ गोलले पराजित गरेर स्वर्णपदक हात पारेको फुटबल टोलीका सदस्यले ७५ हजार ५ सय रुपैया पाएका थिए। प्रदेशबाट फुटबलमा ८ जना खेलाडी रहेका छन्।

प्रदेश सरकारले स्वर्णपदक हात पार्ने एकलतर्फ भने ३ लाख रुपैया, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैया प्रदान गर्ने घोषणा गरेको थियो। त्यसैगरि महिला फुटबलतर्फ रजत पदक हात पारेका ८ जना खेलाडीले जनही ६० हजार रुपैया प्राप्त गरेका छन्।

प्रदेश सरकारले पुरस्कृत ८८ जना खेलाडीका लागि ८० लाख रुपैयाले पुरस्कार प्रदान गरेको हो। यसमा एकतर्फ स्वर्ण हात पार्ने ६, रजत पदकमा ४ र कास्यमा १० जनाले पदक हात पारेकाछन्। त्यसैगरि, टोलीतर्फ स्वर्ण १५, रजत २२ र कास्य ४१ जनाले हात पारेका थिए।

प्रदेश १ बाट सागमा खेलाडीले १० स्वर्ण, १० रजत र २९ कास्य गरी ४९ पदक दिलाएका थिए। सागमा नेपाल कुल २ सय ७ पदकसहित दोस्रो भएको थियो।

यस विषयमा प्रदेश सभाको बैठकमा कुरा उठान भएपछि सरकारले आर्थिक वर्षभित्रै सबैलाई पुरस्कत गर्ने जनाएको थियो। गतवर्ष मंसिर १५ देखि २४ गतेसम्म सागको आयोजना भएको थियो। मंसिर अन्तिममा बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो।

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्