हाम्रो आवाज पनि सुन्नुहोस्- १८

साथीले गिज्याउँदा हरेश खाएको मनलाई बाबाआमाको माया सम्झेर बलियो बनाएँ

भनिन्छ जिउन चाहेमा यो जीवन जिउन अति नै सुन्दर छ। तर सुस्त श्रवणहरुको लागी यो कल्पना बाहिरको कुरा हो। हुनत हामी जस्तो छौ त्यसैमा बाँच्न सिक्न पर्छ, त्यसैमा खुशि रहन सिक्नु पर्छ, अनि मात्र जिवन सुन्दर रहन्छ। म पनि एक सुस्त श्रवण हुँ।

मेरो बालापन राम्रोसँग बितेको थियो। तर ८ वर्षको हुँदा म हड्डि सम्बन्धि रोग (बोन इन्फेक्सन) बाट  सिकिस्तै बिरामी भए। मैले धेरै औषधिहरु खान पर्थ्यो, लामो समय सम्म एण्टिबायटिकको सेवनले मेरो सुन्ने क्षमतामा कमि आउन थाल्यो। उपचारको लागि ३ वर्ष लाग्यो । म विद्यालय जान सकिन ।

तर मेरो बुवाको साथ र सहयोगले स्कूल छुटाउन परेन। उहाँ सरकारी स्कूलको स्थायी अंग्रेजी  र स्वास्थ्यको शिक्षक हुनुहुन्थ्यो। त्यसैले मलाई घरमै पढाउनु भयो, परीक्षा पनि घरबाट नै दिन्थे। मेरो शैक्षिक मूल्यांकन पनि राम्रो नै आउथ्यो। मेरो बुबा मेरो पढाईमा प्रगति देखेर खुशी हुनुहुन्थ्यो।

मलाई सञ्चो हुन थालेपछि स्कूल भर्ना भए। कान कम सुन्ने भएकोले सरहरुले बोलेको बुझ्दिन थिए। त्यसैले बुवाले सरहरुलाई मेरो समस्या बताएर क्लासको अगाडि बेन्चमा बस्ने व्यवस्था गरिदिनु भयो। यस्तो समस्या भएपछि साथि बनाउन पनि कठिन हुँदो रहेछ। सबै साथीहरु बुझ्ने खालका हुँदैनन्। कान नसुन्ने भएर कुरा काट्ने साथिहरुको कमि थिएन। यस्तै गर्दा गर्दै एस. एल. सी. उत्तिर्ण गरे।

उच्च शिक्षा हासिल गर्न मैले  प्लस टुमा साईन्स विषय रोजे। मेरो सपना थियो बि. एस. सी. नर्सिङ पढ्ने र बिमारीहरुको सेवा गर्ने। त्यसैले पढाईमा केहि वाधा नआओस भनेर बुवा मामीले टिचिङ हस्पिटलमा कान जाँच्‍न लैजानुभयो। मेरो सुनाई क्षमता मध्यम वर्गमा पर्ने रहेछ। मेरो ‘सेन्सरिनल हेयरिङ् लस’  भएकोले उपचार नहुने डाक्टरले बताए र हेरिङ एडको लागी सल्लाह दिए।

मैले लगाएको हेरिङ एड कान बाहिर मजाले देखिन्थियो। हेरिङ एड लगाएपछि मनमा अनेक कुरा आउन थाल्यो ।कलेजमा साथिहरुले कान नसुन्ने रहेछ भनेर भेदभाव गर्लान, के सोच्लान, आदि आदि। कसैले नदेखोस् भनेर जहिले पनि कपालले छोप्थे। सुरुमा हेरिङ एडसँग बानी पार्न साह्रै गाह्रो भयो, टाउको दुख्ने, रिङ्गटा लाग्ने, कान दुख्ने समस्या हुँदो रहेछ। कहिले काहि क्लासमा हुँदा व्याट्री सकिएर चेन्ज गर्न पर्ने हुन्थ्यो र कति चोटि बाथरुम गएर अर्को व्याट्रि राख्थे। मनमा अरुले थाहा पाउलान् कि भनेर कति डर थियो । कहिले पनि मन ढुक्क र आनन्दले हिड्न पाउदिन थिए। यस्तै ६-७ महिना पछि लगाउन पनि छोडे। अहिले पनि यसै थन्किएको छ।

यस्तो गाह्रो विषय कान नसुन्नेले किन पढेको होला भन्नेहरु पनि थिए। जसले गर्दा मलाई हिनताबोध हुन्थ्यो तर बुबाको दरो साहस र प्रेरणाले उनिहरुको कुरालाई बेवास्ता गर्दै म अगि बढ्दै गए। फिजिक्स र गणित साह्रै गाह्रो लाग्थ्यो। अनि मलाई बुझ्न धेरै कठिन हुन्थ्यो। कोही सहयोगी साथिहरुको साथले मलाई सजिलो भएको थियो र +२ पनि सकाए। कान कम सुन्ने अनि हस्पिटलमा नर्स भएर काम गर्न धेरै कठिन हुने र बिमारीको जीवनमा खेलवाड हुन सक्छ भनेर साथिभाईले पब्लिक हेल्थ पढ्न सल्लाह दिए र सकाएर अहिले जनसंख्यामा मास्टर्स पनि गर्दैछु।

पब्लिक हेल्थ पढ्दा फेरी मलाई हेरिङ एड नदेखिने खालको लगाउन सल्लाह दिनु भयो बुवाले। तर कानको भित्री भागमा लगाउने हेरिङ एड प्रयोग गर्न पनि मिलेन। किनकी मेरो कानको प्वाल सानो रहेछ। अनि कानको प्वालको बाहिरी भागमा लगाउने (Canal) डिजिटल हेरिङ एड लगाए जुन अलि महंगो पर्ने रहेछ। आफ्नो सुनाई क्षमता अनुसार हेरिङ एडबाट सुन्ने  आवाजहरु सबै कम्प्युटरबाट मिलाउन पर्ने रहेछ। हेरिङ एड लगाएर सुन्नलाई सहयोग मात्र पुग्ने रहेछ। शतप्रतिशत सबैकुरा सुनेर बुझिन्छ भन्ने हुँदैन। तर यो हेरिङ एडले राम्रै काम दिएको थियो। बुझ्न सजिलो हुन्थ्यो तर कोहि त्यस्तै साथिहरु पनि थिए मेसिन लगाए पछि पनि राम्रैसँग बुझ्दैनौ रहेछौ भन्थे। कुनै दिन म रोए पनि। मनको व्यथा आफैलाई थाहा हुँदो रहेछ। मन मनै भन्थे कि “तिमिहरुको जस्तोकान टाठो भएको भए के के गरेर देखाउन सक्थे”।

पब्लिक हेल्थ पढेको सिलसिलामा समुदायमा धेरै काम गर्न पर्ने हुन्थ्यो। कान कम सुन्ने हुदा समुदायका व्यक्तिहरुसँग सञ्चार गर्न कठिन हुन्थ्यो र विभिन्न तथ्यांकहरु संकलन गर्न गाह्रो हुन्थ्यो। कसैले अलि निच व्यवहार देखाउदा रुन मन लाग्दथ्यो। बुवा ममिले त्यत्रो गरिदिनु भएको छ तर पनि किन दैनिकी सहज छैन भनेर दिक्क नभएको पनि होईन। तर लगाउन थालेको एक वर्ष नहुँदै हेरिङ एडमा समस्या आयो र मर्मत गर्न मिलेन। त्यसपछि हेरिङ एड लगाउन पनि छोडे। अर्को किन्न पनि त्यस्तो महंगो त्यस्तै बिग्रिने समस्या आउने डरले किन्ने आँट गरिएन। लगाउन छोडेको पनि ८ वर्ष भईसकेछ।

म एउटा बच्चाको आमा पनि हुँ। मलाई सधै मनमा पीर हुन्छकि कतै मेरो बच्चामा पनि कानको समस्या आउने त हैन?  तर म सुस्त श्रवण भएता पनि बालबच्चामा पनि त्यस्तै समस्या हुन्छ भन्ने हुन्न रहेछ भन्ने महसुस गरेको छु। कतिपय आवाजहरु मैले भन्दा मेरो बच्चाले थाहा पाईसक्छ र प्रतिक्रिया गरिसक्छ। जुन मेरो लागी भगवानको वरदान हो। सुस्त श्रवण आमा भएर बच्चा हुर्काउन त्यति सजिलो छैन र घरपरिवारबाट निकै साथ र सहयोग पाएकी छु। विशेष गरी गर्भ अवस्थामा जाँचको लागि सासु आमा र श्रीमान् बाट धेरै सहयोग पाएँ। म आफै पनि एक स्वास्थ्यकर्मी भएकोले पनि अलि सहज भएको छ। बाबु हुर्काउन र स्वास्थ्यमा ध्यान राख्न। साथै मेरो घर परिवारले समस्या बुझ्नु हुन्छ र एउटा राम्रो वातावरण पाएको छु र त मैले केहि गर्न अलि साहस मिलेको छ।

सुस्त श्रवण भएको कारणले जागिरको लागी धेरै ठाउँमा अन्तर्वाता दिए तर जहिले पनि अस्वीकृत हुन्थ्यो। मुख्य कारण भनेकै मेरो सुनाई क्षमता कमजोर भएकोले हो। मनमा हरेश नै नभएको पनि होईन। बल्ल एउटा गैर सरकारी संस्थामा जागिरको लागी फोन आयो र मैले कार्यालय प्रमुखसँग मेरो समस्याको बारेमा भने उहाँले हौसला दिनु भयो र म ईमान्दार भएर काम ५ वर्षसम्म गरे। सहकर्मिहरुको पनि सहयोगले आफ्नो जिम्मेवारी पूरा गरे।

हाल कोभिड-१९ ले गर्दा झनै हामी सुस्त श्रवणहरुको जीवन अति नै कष्टकर बनाईदिएको छ। हरेक दिन कोरोना संक्रमितहरु बढ्दै गईरहेको छ सँगसँगै मनमा त्रास पनि। हामी मानसिक रुपमा तन्दुरुस्त हुन सक्ने परिस्थिति छैन। कति सुस्त श्रवणहरु डिप्रेसनको सिकार पनि भए होलान। यस्तो परिस्थितिमा सबै जनाले मुखमा मास्क लगाउछन् अनि हामिलाई के भनेको भन्ने कुरा ओठको चाल हेर्न नपाए पछि, बुझ्न नपाए पछि निकै गाह्रो पर्छ। सरकारले पनि हामीहरुलाई मध्यनजर गर्दै हामीहरुलाई सूचनाको अधिकारको लागी राष्ट्रिय नेपाली चानलहरुबाट प्रसारण हुने समाचारहरुमा क्याप्सनिङ व्यवस्था गर्न विनम्र अनुरोध गर्दछु।

श्रुति जस्तो सुस्त श्रवणको संस्थाले धेरै पटक विनम्र अनुरोध गर्दा गर्दै पनि क्याप्सनिङको वास्ता नगरीएको होकि भन्ने लागिरहेको छ। म पहिलो पटक त्यहाँको अध्यक्षसँग प्रत्यक्ष रुपमा भेटे र उहाले धेरै काउन्सेलिङ गर्नु भएको थियो र म मात्र सुस्त श्रवण होईन रहेछु भन्ने प्रष्टसँग त्यहि संस्थामा गए पछि मात्र थाहा पाएँ। नत्र मलाई सधैं म मात्र किन यस्तो जस्तो लाग्थ्यो, आफै देख्दा दिक्क लाग्थ्यो र जीवन देखि नै विरक्तिन्थे।

नेपालमा अपांगतालाई हेर्ने दृष्टिकोणमा निकै फरक रहेको छ र अपांगता भएका व्यक्तिले चाहेर पनि यो सामाजिक र पारिवारीक डर र त्रासको कारणले अघि बढ्न सक्दैनन्। समाजमा सहज वातावरण हुने हो भने कति लुकेर नेपालको मेचि देखि महाकालिसम्म छरिएर बसेका हामी जस्ता सुस्त श्रवणहरु बाहिर आएर आफ्नो आवाज र अधिकारको लागि उत्रिन्छन जस्तो लाग्छ।

विभिन्न संस्थाहरु, विशेष गरेर अपांगता सम्बन्धि संस्थाभित्र पनि भिन्‍नता पाइएको छ। तर यदि सुस्त श्रवणहरुलाई पनि अवसर दिइयो भने केहि गरेर यो समाजमा केहि उदाहरण बन्न सक्छौ। नेपालमा सुस्त श्रवणहरुलाई अपांगताको रुपमा लिईएको छैन र हामीहरुलाई सधैं पछाडि पारिएको छ। अब नेपाल सरकारले हामि जस्ता सुस्त श्रवणहरुलाई पनि विभिन्न जीविकोपार्जन कार्यक्रमहरुमा सहभागी गराएर विभिन्न अवसर प्रदान गर्नु पर्छ।

(लेखिका श्रुति संस्थाको सदस्य तथा स्वास्थ्यकर्मी हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

असार ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्