ह्वाइट हाउसले ममाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’: डा. एन्थोनी फाउची

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूविरुद्ध हालै ट्रम्प प्रशासन संगठित रुपमा गरेका प्रचारहरु विचित्र र अनर्गल रहेको बताएका छन् ।

आफूलाई बदनाम गर्ने मनसायबाट प्रेरित रही भएको सो प्रयासबाट अचम्मित भएको डा. फाउचीले प्रतिक्रिया दिएका छन् ।

डा. फाउचीले द एट्लान्टिकलाई दिएको अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘अन्ततः यसले राष्ट्रपतिलाई नै घात गर्छ । यसले केही गर्दैन तर उनीहरुमा यसको प्रतिबिम्ब देखिन्छ ।’

गएको आइतबार ह्वाइट हाउसका अधिकारीले डा. फाउचीले विगतमा गरेका टिप्पणीहरु जो अन्ततः गलत साबित भएका थिए, त्यसलाई एकीकृत गरेर पत्रकारहरुलाई बाँडेका थिए ।

ह्वाइट हाउसका अधिकारीले बाँडेको सामग्रीमा डा. फाउचीले महामारीको अवधिमा मास्कका सम्बन्धमा गरेका फरक सुझाव तथा कोभिड–१९ को गम्भीरतालाई लिएर गरेका सुरुवाति टिप्पणीहरु रहेका थिए ।

डा. फाउची अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) का प्रमुख हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डा. फाउचीबिच तनाव उत्कर्षमा पुगेका बेला ह्वाइट हाउसले फाउचीविरुद्ध गोप्य रुपमा संगठित प्रयास गरेको हो । तर बुधबार राष्ट्रपति ट्रम्पले डा. फाउचीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘डा. फाउचीसहित हामी सबै एकै टिममा छौँ । हामी सबै चीनले पठाएको यो समस्याबाट मुक्ति चाहन्छौँ । त्यसैले हामीले सबैले एक भएर काम गरेका छौँ र राम्रो गरिरहेका छौँ ।’

ह्वाइट हाउसले आफूमाथि गरेको आक्रमण पूर्णतः गलत रहेको डा. फाउचीले द एड्लान्टिकसँगको अन्तर्वार्तामा भनेका छन् । उनले भनेका छन्, ‘मैले सपनामा पनि यो बुझ्न सकेको छैन कि उनीहरुले त्यस्तो किन गर्न चाहे भन्ने कुरा । अहिले उनीहरुले यस्तो गर्नु विवेकपूर्ण हुँदैन भन्ने बुझे जस्तो छ, किनकी यसबाट उनीहरुकै कमजोरी झल्किन्छ ।’

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेका बेला महामारीलाई लिएर गम्भीर रहेका डा. फाउचीलाई ‘बर्खास्त’ गर्ने वा उनको प्रतिष्ठा कमजोर बनाउने असफल प्रयासमा ह्वाइट हाउस लागेको देखिन्छ ।

तर ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनीले सोमबार ट्रम्प र डा. फाउचीबिच राम्रो सम्बन्ध रहेको दाबी गरेकी थिइन् । उनले सोमबारको पत्रकार सम्मेलनमा डा. फाउचीका सम्बन्धमा बाँडिएको जानकारी उनीविरुद्धको अभियान नरहेको दाबी गरेकी थिइन् ।

ट्रम्पले लगातार कोरोना भाइरस गम्भीर नरहेको बताउँदै आएका छन् । उनले महामारी नियन्त्रणका लागि राम्रो काम गरेको बताएका छन् । तर डा. फाउचीले भने कोरोना भाइरस अति खराब बन्दै गएको र प्रयास राम्रो नभएमा थप भयावह अवस्था आउने बताए बताउने गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प तथा ह्वाइट हाउस डा. फाउचीको प्रतिष्ठा कमजोर बनाएर उनलाई बर्खास्त गर्ने प्रयासमा ‘असफल’ भएपछि पुनः सम्बन्ध राम्रो रहेको बताउन थालेका हुन् ।

सन् १९८४ देखि सरकारसँग काम गरिरहेका डा. फाउचीलाई बर्खास्त गर्न अति कठिन रहेको तथा उनलाई बर्खास्त गरेमा त्यसको राजनीतिक घाटा गम्भीर हुने सल्लाहकारले बताएपछि ट्रम्प र ह्वाइट हाउसको बोली फेरिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३४ लाख ९५ हजार भन्दा बढी पुगेको छ । यस्तै त्यहाँ एक लाख ३७ हजार तीन सय भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १९ लाख ६६ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७५ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख चार हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ८२ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्