भेडाहा खोलामा पक्की बाँध निर्माण गर्नुपर्ने माग, मेयर भन्छन्–हामी सक्दैनौँ, केन्द्रले बजेट दिनु पर्छ

वीरगञ्ज–३१ बेल्वास्थित भेडाहा खोलाले भत्काएको बाँध ।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलाको बाढीले महानगरको ग्रामीण भेगमा रहेका गाउँहरुमा लगाइएको धान बाली नष्ट गर्दै आएकोले पक्की बाँध निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।

बर्सेनि आउने गरेको बाढीले महानगरको ग्रामीण भेगमा लगाइएका धानबालीमा क्षति गर्दै आएको छ । हरेक वर्ष खोलामा कच्च बाँध बनाइन्छ । तर त्यो बाढीले बगाउने गरेको छ ।

सोही कारण बाढीको स्थायी समाधानका लागि पक्की बाँध बनाउनु पर्ने वडा नम्बर ३० लालपर्सा टोलका समसुल अन्सारीले बताए । महानगरका मेयर तथा सो क्षेत्रका सांसदलाई पक्की बाँध निर्माण गर्न आग्रह गरेको उनले बताए ।

खोलाको बाढीले यस वर्ष आफ्नो १२ कठा खेत सबै बालुवाले पुरेर नष्ट गरेको वडा नम्बर ३० कै झोटी साहले बताए । वडा नम्बर ३१ बेल्वा टोलका हसरुद्दिन अन्सारीले पनि पक्की बाँधको खाँचो रहेको बताए ।

भेडाहा खोलामा आउने बाढीले महानगरको ग्रामीण भेग पर्ने वडा नम्बर २८ बगही, २९ बस्डिल्वा, ३० लालपर्सा, ३१ बेल्वा टोलमा क्षति गर्दै आएको छ ।

भेडाहा खोलाको बाढी नियन्त्रण गर्नको लागि महानगरपालिकाले सकेजतिको प्रयास गरेकाले खोलाको बाढी अहिले बस्तीमा प्रवेश गर्न छोडेको महानगरका मेयर विजयकुमार सरावगीले बताए । खोलामा दुवैतर्फ ११–१२ किलोमिटरसम्म पक्की बाँध निर्माण गर्नुपर्ने भएकोले त्यसका लागि २० करोड रकम आवश्यक पर्ने जानकारी दिए । त्यति रकम महानगरले एक्लै तिर्न सक्ने अवस्था नरहेकाले केन्द्र सरकारले पनि बजेटको व्यवस्था गर्नु पर्ने बताए ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्