सुशान्तको परिवारको मौनतापछि शेखर सुमन पछि हटे, भन्छन्– अगाडि बढ्न असहज भइरहेको छ

सुशान्त सिंह राजपूतको मृत्युपछि अभिनेता तथा कांग्रेसका नेता शेखर सुमन सुशान्तलाई न्याय दिलाउने अभियानमा लागेका थिए। शेखरले ट्वीटरमा सुशान्तको मुद्दामा सिआइबिको जाँच माग गर्दै आएका थिए।


सुशान्तको मृत्युपछि लगातार यो विषयमा टिप्पणी गरिरहेका शेखरले आफूलाई असहज परिस्थितिको सामना गर्नुपरेको बताएका छन्। उनले आफू यो अभियानबाट अब पछाडि हट्न लागेको पनि बताएका छन्। किनभने सुशान्तको परिवार यो विषयमा चुप बसिरहेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘सबै प्रियजन, मेरो आवाजलाई बलियो बनाउन सहयोग गरेकोमा धन्यवाद! कृपयामा मलाई यो सबैबाट पछाडि हट्नलाई अनुमति दिनुहोस्। अभियानको सुरुदेखि नै सुशान्तको परिवार एकदमै मौन छन्, यस्तो अवस्थामा मलाई अगाडि जान एकदमै असहज भएको छ। यो उहाँहरुको विशेषाधिकार हो र हामी सबैले उहाँको अधिकारको सम्मान गनुपर्छ।’

शेखर र सुशान्त दुवै विहारका हुन्। शेखरले सुशान्तको आत्महत्यालाई ‘हत्या’ भएको बताएका थिए। सुशान्तको मृत्युपछि उनले सुशान्तका समस्याहरु सार्वजनिक गरेका थिए।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्