उपाधि दिलाउदाँको क्षणमा बगेको हर्षको आँसु, अर्थहीन जस्तो भएको छ: प्रशिक्षक

काठमाडौं- प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद-सागको विभिन्न खेल विधामा पदक हात पारेका प्रदेशका ८८ जना खेलाडीलाई सम्मान र पुरस्कृत गरेको छ। तीनै खेलाडीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा खेलेका १९ जना प्रशिक्षक र ५ जना टोली ब्यवस्थापकले आफूहरुको भूमिकाको मुल्यांकन गर्न नसकेको जनाउदै असन्तुष्टि ब्यक्त गरेका छन्।

पुरस्कारमा ८० लाख रुपैया खर्चिएको सरकारले बजेट अभावका कारण सबैलाई समेट्न नसकिएको जनाउदै आएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित खेलाडी सम्मान कार्यक्रममा खेलाडी सम्मानित भइरहदाँ उनीहरुसंगै मैदानमा खटिएका प्रशिक्षक भने आ–आफ्नो घरमा समाचार सुन्नेमा सीमित बने।अन्य प्रदेशको तुलनामा सरकारले खेलाडीप्रति देखाएको उदारतालाई सकारात्मक रुपमा लिएपनि समग्रलाई समेट्न भने नसकेको प्रशिक्षकहरुको गुनासो छ।

‘८८ जना खेलाडीलाई नगदले पुरस्कृत गरिरहदाँ प्रशिक्षकलाई खादामात्र लगाएर सम्मान गर्दापनि चित्त बुझ्थ्यो। तर, हामीलाई हाम्रो भूमिकाको मुल्यांकन समेत सरकारले गर्न सकेन्,’ महिला फुटबल टोलीका तत्कालिन प्रशिक्षक हरि खड्काको गुनासो छ।

उनले सामाजिक सञ्जालमा जिज्ञासा राखेकाछन्, ‘प्रशिक्षक र टोली ब्यवस्थापकको भूमिका के ? यदि छैन भने भन्नूपर्यो नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् या ब्यवस्थापन सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले सम्मान आफ्नो मुल्यांकन होस भनेर काम गरेका हुन्छन्।

मुलुकमा बसेर काम गर्ने प्रशिक्षक होस् या व्‍यवस्थापक सबै सम्मानका भोका हुन्छन् त्यसैले यसतर्फ मुख्यमन्त्री ज्यूको ध्यानाकर्षण गर्न चाहान्छु। जय नेपाली फुटबल।’ सागमा पुरुष फुटबलबाट स्वर्ण हातपार्दा ८ जना र महिलातर्फ रजत पदक हात पर्दा ८ जना खेलाडी प्रदेश १ बाट रहेकाछन्।

मैदानमा प्रतिस्पर्धीसंग भीड्न मानसिकदेखि शारिरीक रुपमा तयार पर्ने प्रशिक्षकहरुको भुमिका अवमुल्यन गर्नुनै ठूलो भुल भएको एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक सुशील नरसिंह राणा बताउँछन्। खेलाडी तयार पार्नेदेखि उपाधी दिलाउनेसम्म प्रशिक्षकको मेहनत र भूमिकालाई यस्ता कार्यक्रमले गौण बनाइदिने बताएका राणाले पुरस्कार वितरणमा खटिएका खेलकुदका आसेपासेले नै कुरा विगार्ने गरेको उल्लेख गरे।

उनले भने, ‘प्रदेश सरकारले पुरस्कृत गर्नु सुखद कुरा भएपनि, पुरस्कारका लागि सर सल्लाहदिने ब्यक्ति उपयुक्त नहुदाँ सबै कुरा नमिठो हुने गरेको छ। खेलाडीले पाए प्रशिक्षकले पाएनन् भन्ने कुरा भन्दापनि, सम्मानबाट बन्चित ती प्रशिक्षकले पुनः खेलाडी कसरी अब मैदानमा लैजालान्, त्यो चाही विचारणीय कुरा हुनेछ।’

यस्तै कुरामा खेलकुदका महारथीहरु चुकेको बताएका राणाले भने, ‘यस्तो बेला नगद नदिएपनि कम्तीमा प्रशिक्षकलाई सम्बोधन गर्न सक्नुपर्थो जसले उनीहरुलाई उत्प्रेरित गर्न सकिन्थ्यो। तर, मन्त्री तथा पदाधिकारीका निकट खेलकुद गतिवीधि गर्ने ब्यक्ति सही हुन नसक्दा सबैलाई अमिलो बनाएको छ। यही रवैयामा प्रशिक्षक फेरि मैदानमा किन उत्रने जस्तो प्रश्न उब्जिएको छ।’

खेलाडीको आफ्नो शतप्रतिशत क्षमतालाई पहिचान गरि मैदानमा उतार्ने क्षमता प्रशिक्षकको हुने भएकाले खेलमा जति खेलाडीको महत्व हुन्छ त्यति नै जिम्मेवारी र भूमिका प्रशिक्षकको रहने गर्छअ एउटा सानो गल्तीले हार ब्यहोर्दा नैतिकको आधारमा प्रशिक्षकले टोली छोड्नुपर्ने अवस्था हुन्छ। यस विषयलाई सम्मान गर्ने निकायले विर्सिएको देखिन्छ।

उदयपुरबाट महिला ह्याण्डबलकी प्रशिक्षक विन्दा थापाले पनि सरकारको कामप्रति असन्तुष्टि जाहेर गरेकी छिन्। महिला ह्याण्डबलले सागमा रजत पदक हात पारेको छ। प्रदेशबाट ७ जना खेलाडी सहभागी खेलाडी सबै पुरस्कृत हुदाँ प्रशिक्षकलाई सम्बोधन किन गर्न सकिएन प्रस्ट नबुझेको बताएकी थापाले भनिन्, ‘निरन्तर रुपमा ६ महिना घर छाडेर खेल र खेलाडीलाई पदक दिलाउन मेहनत गयौं। तर आज सरकारले हाम्रो मेहनतमा आँखा चिम्लिएको छ।’

प्रदेश सरकार अभिभावक भएको बताउँदै थापाले भनिन्, ‘हाम्रो मेहनतलाई सरकारले विभेद गरेर दुई पाटामा छुट्याउने काम गरेको छ। प्रदेशबाट कति नै संख्यामा थियौ र हामी? पैसाभन्दा पनि ठूलो त उदार ह्रदयले दिइने सम्मान र प्रसंशा नै हो। हामी त्यसमै चित्त बुझाउथ्यौ। तर, आज पुरस्कार कार्यक्रमले हाम्रो मनोबल उच्च बनाउने होइन घटाउने काम भयो।’

प्रदेश सरकारले प्रशिक्षकलाई सम्मान गर्नबाट चुकेको बताएका राष्ट्रिय खेलकुद परिषद्का टोली तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले पुरस्कार राशीको विषयमा समेत प्रदेश सरकारका निकटहरुलाई जानकारी गराएको बताए।

संघीय सरकारले खेलाडीसँगै प्रशिक्षकलाई समेत सम्मान गरेको बताएका उनले सम्मान भन्दापनि पुरस्कार राशीको विषयमा कुरा उठेको र तत्कालै सरकारले त्यसको समाधान गरेको बताए।

यसअघि, आठौं साफमा प्रशिक्षक र ब्यवस्थापकलाई पुरस्कारको ब्यवस्था गरेको भएपनि त्यसयता पुरस्कारदिने क्रमभंग हुदै आएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। यद्यपि, यसपटक स्वर्ण पदक दिलाउने प्रशिक्षकको भूमिका मुल्यांकन गर्दै ५ लाख र सहायक प्रशिक्षकलाई ३ लाख रुपैया प्रदान गरेको थियो।
पुरस्कारमा विभेद नहोस र सबैको मनोबल उच्च राख्नका लागि गरिएको समान ब्यवहारका क्रममा रजत र कास्य उपाधि दिलाउने प्रशिक्षकले ३ र २ लाख रुपैया र सहायक प्रशिक्षकले २ र १ लाख रुपैया पाएका थिए। जसमा १ सय ८ जना प्रशिक्षक पुरस्कृत भएका छन्।

विराटनगर फुटबलका एक पूर्वप्रशिक्षकका अनुसार सरकारले एकैपटक पुरस्कार राशी घोषणा गर्दा सबैतिर अन्यौल भएको र प्रशिक्षक समेत शून्यतामा रहनुपरेको बताए। सामान्यतया देखेर सरकारले हचुवाको भरमा पुरस्कार राशी घोषणा गर्नु, खेलाडीलाई घोषणा गरे अनुसार राशि दिन नसक्नु नै प्रशिक्षकलाई शुन्य बनाउदै गर्दा मुख्यमन्त्रीको खेलकुदप्रति ढृड संकल्प बालुवामा पानी हाले सरह हुने देखिएको प्रशिक्षकहरुको भनाई छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्