कोरोना कहरले गुम्यो सुदूरका युवाको रोजगारी

रोजगार लागि भारत जाने सुदुरपश्चिम क्षेत्रका युवाको यात्रा कोरोना महामारीलेअनिश्चित बन्नुको साथैँ स्वदेशमा पनि रोजगार नमिल्दा दैनिक गुजारा चलाउन सकस पर्न थालेको छ ।

डोटीको शिखर नगरपालिका, ४ कोटाञ्जरका विष्णु साउद (२६) रोजगार पाइने आशमा २०७६, पुषमा भारतको जोधपुर गएका थिए । कोरोना महामारीले लकडाउन नभएको भए उनी होटलमै काम गरिरहेका हुन्थे । ‘लकडाउन भएपछि होटल बन्द भयो । गाउँका दाइको रुममा एक महिना बसेँ,’ नेपाल फर्किएपछि क्वारेन्टीनबाट उनले भने, ‘काम कहिले सुरु हुन्छ यकिन थिएन । त्यसैले, भारतमा लकडाउन खुकुलो भएपछि महँगै भाडा तिरेर घर फर्किएँ ।’ १३ जेठमा भारतबाट फर्किएका उनलाई अब के काम गर्ने, कसरी आर्जन गर्ने भन्ने चिन्ताले सताएको छ ।

११ चैतमा नेपाल सरकारले लकडाउन घोषणा गरेपछि२५ असारसम्म साउद जस्तै सुदुरपश्चिम प्रदेशका २ लाख ५७ हजार ४२७ जना भारतबाट स्वदेश आएका छन् ।सुदरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदी भारतमा काम गर्दै आम्दानी गर्ने दुई लाखभन्दा बढी परिवारले आर्थिक संकट बेहोर्ने बताउँछन् ।

तर, भारत लगायत विभिन्न देशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका र फर्कन सक्ने नागरिकलाई कसरी रोजगार दिने भन्नेमा संघ जस्तै प्रदेश सरकारले पनि ठोस योजना बनाउन सकेको छैन ।

बजेट मार्फत संघ र प्रदेश सरकारले कोरोना महामारीले रोजगार गुमाएका व्यक्तिलाई कृषि क्षेत्रमा स्वरोजगार बनाउन सहयोग गर्ने घोषणा गरेपनि कार्यान्वयनमा अलमल देखिएको छ ।
समाजिक विकास मन्त्री सुवेदी अगामी आर्थिक वर्ष मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजनाबाट करिब ५० हजारले रोजगार पाउने दाबी गर्छन् । हाम्रो मन्त्रालय अन्तर्गतका सबै आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन हुन्छन्’, उनी भन्छन्, ‘त्यसले गाउँ गाउँमा रोजगारी सिर्जना गर्नेछ ।” तर, पछिल्लो समय नामका उपभोक्ता समिति बनाएर स्थानीय ठेकेदारले काम लिने प्रचलन बढ्दो छ।’

गुजारा चलाउन कठीन

लकडाउनको समयमा भारतको पञ्जाबबाट घर आएका डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ रेलका टेक राज फुलारा (३६) कोरोना महामारीको प्रकोप समाप्त हुने दिनको प्रतीक्षामा छन् ।

तीन महिनादेखि बेरोजगार भएका उनी दैनिक खर्च चलाउन समस्या भएको बताउँछन् । उनलाई कृषि क्षेत्रमा स्वरोजगार सिर्जना गर्ने सरकारको नीतिमा विश्वास छैन । ‘तरकारी र फलफूल  उत्पादन गरेर मात्रै भएन । बिक्री गर्ने ठाउँको अभाव छ,’ उनी भन्छन्,’त्यसैले कोरोना महामारीको असर कम भए फेरि भारत नै जाने थिएँ।’

कैलालीको टिकापुर नगरपालिका ११ का गम्बबहादुर रावल (४०)२० वर्षदेखि मुम्बईमा काम गर्छन् । मुम्बई जान थालेदेखि लगातार ५ महिना घर बसेको उनलाई सम्झना छैन । एकातर्फकोरोना महामारीले परिवारसँग समय बिताउने अवसर त दिएको छ । अर्कातर्फ, काठमाण्डौमा पढिरहेका छोरोहरुको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने तचिन्ता पनि छ । ‘महामारी अन्त्य हुने छाँट देखिदैन,’ उनी भन्छन्, ‘बचत सकिन्न लागेको छ।’

तरकारी/फलफूल उत्पादन गरेर मात्रै भएन। बिक्री गर्ने ठाउँको अभाव छ। त्यसैले कोरोना महामारीको असर कम भए फेरि भारत नै जाने थिएँ।

कोरोनाले विश्वभर त्रास उत्पन्न गरेपनि नेपाल सरकारले सीमानाका बन्न नगर्दासम्म रोजगारीका लागि भारत जाने क्रम रोकिएको थिएन । कृष्णपुर नगरपालिका ९ का राजेश राना(२३)भारत सरकारले लकडाउन गर्नु भन्दा एक साता पहिले मात्रै भारतको पुना पुगेका थिए । होटलमा काम सुरु गरेको साता नपुग्दै रोजगार गुमाएका उनी लकडाउन खुकुलो भएपछि घरबाट बुबाले पैसा पठाएपछि स्वदेश फर्किए । नवज्योति आधारभूत विद्यालयको क्वारेन्टीनमा भेटिएका उनि घर नजिकै पुग्दा प्रफुल्ल थिए । ‘होटल बन्द भएपछि एउटै रुममा १० जनासम्म बसेका थियौँ’, उनी भन्छन्, ‘साथीहरुले एक महिना बस्न र खाना नदिएको भए बाँच्नै कठिन हुन्थ्यो ।’

कैलालीस्थित नेपाल भारत सीमा गौरिफण्टामा १३ जेठमा भारतबाट नेपाल फर्कन लागेका व्यक्तिहरुको भिड। तस्बिर: दिनेशखबर

यशोदा ओझा (३६) तीन वर्षदेखि भारतको बेंगलुरुमा थिइन् । स्वदेशमा खान बस्न पुग्ने थियो । तर, परिवारका अन्य आवश्यकता पूरा गर्ने आयस्रोत नभएपछि विदेशिनु उनको बाध्यता थियो । कोरोनाको कहर सुरु हुनु पूर्वआम्दानी राम्रै थियो । श्रीमान श्रीमतिले काम गर्दा मासिक ४० देखि ५० हजार रुपैयाँसम्म बचत गर्ने उनीहरुका विभिन्न सपना कोरोना महामारीले थन्काएको छ । चार दिनमा घर पुग्ने बाटोमा ४ गुणा बढी भाडा तिर्दै ६ दिनमा उनीहरु कैलालीको सीमा नाका गौरिफण्टा पुगेका थिए । “घर नजिकै पुग्दाको खुशी थियौँ । तर, कोरोना संक्रमण भयो कि भन्ने डर छ ।” क्वारेन्टीनमा उनले भनेकी थिईन । अहिले उनिहरुको मनमा कोरोना संक्रमणको भय त छैन । तर, रोजगार कहाँ पाईन्छ र तीन जना सन्ततिको पढाई लगायत खर्चको जोहो कसरी गर्ने भन्ने पिरलो छ ।

बाध्यकारी गन्तव्य
भारत किन जानुभएको भन्ने प्रश्नमा क्वारेन्टाईनमा भेटिएका प्रायः युवाको एउटै जवाफ हुन्छ, ‘नेपालमा काम पाईएन । घर चलाउन अप्ठ्यारो भयो । कामको खोजीमाभारत गयौँ ।”नेपालका कुनै पनि सरकारी निकायसँग भारतमा रहेका नेपालीको अपैचारिक तथ्यांक छैन । त्यसैले भारतमा कति नेपाली छन् भन्न सकिदैन् । कोरोना महामारिका कारण भारतबाट फर्कनेको संख्या बढेको छ।

संवाददाता धनगढी उपमहानगरपालिका, कृष्णपुर नगरपालिकार अत्तरीया नगरपालिकाको क्वारेन्टीनमा रिपोर्टङका लागि स्थलगत अवलोकनमा जादाँ त्यहाँभेटिएका अधिकांश व्यक्तिहरुले भारतमा कोरोनाका बिरामीको संख्यामा भएको वृद्धिसँगै त्रास समेत बढ्न थालेकोले स्वदेश फर्किएको बताएका थिए ।उनिहरुमा नेपाल फर्किन पाउँदाको हर्ष त थियो । अर्कातर्फ महामारी लम्बिदा दैनिक गुजरा कसरी चलाउने भन्ने चिन्ता पनि देखिन्थ्यो ।

सामाजिक विकास मन्त्री सुवेदी स्वदेशमा कामलाई सानो ठूलो भन्ने प्रवृतिले वैदेशिक रोजगारमा निर्भर हुनेको संख्या बढेको बताउँछन् । ‘गत वर्ष हामीले ६ हजार ५ सयलाई सिकर्मी, डकर्मी, पल्म्बीङ, मार्वल टाइल लगाउने, विद्युत वाइरिङ गर्ने लगायतका तालिम दिएका थियौँ’, उनी भन्छन्, ‘तर, एउटा विद्यालयमा फर्निचर बनाउनु पर्‍यो, मार्बल टाइल लगाउनु पर्‍यो भने भारतीय नागरिकलाई काम दिनु पर्ने अवस्था छ ।”

१४ दिन क्वारेन्टीनमा बसेर एक टोली घर फर्किएपछि विद्यालयका कोठाहरु पर्याप्त सफा नगरी प्रयोग गर्न लगाएकोेमा पनि क्वारेन्टीनमा बस्ने असन्तुष्ट छन् । कञ्चनपुरको विणा माध्यामिक विद्यालयको क्वारेन्टीनमा बसेका योगेन्द्र साउदले सरसफाई नगरी क्वारेन्टीनमा बस्न लगाएको आक्रोश व्यक्त गरेका छन् ।

क्वारेन्टीनका दुःख
क्वारेन्टीनमा बस्ने सबैका आफ्नै पिरमर्का थिए । क्वारेन्टीनमा भेटिएका प्रायः व्यक्तिका स्थानीय सरकारभन्दा प्रदेश र संघ सरकारप्रति धरैे गुनासा थिए ।सीमा नाकाबाट उद्दार र १४ दिन क्वारेन्टीन व्यवस्थापनमा क्रममा स्थानीय सरकार अग्रभागमा देखिएकाले स्थानीय सरकारले काम देखिएको थियो । तर, प्रदेश र संघ सरकारप्रति क्वारेन्टीनमा बस्नेहरुमा पर्याप्त गुनासा छन् । सामाजिक विकास मन्त्री सुवेदी प्रदेश सरकारले काम गरेन भन्ने पूर्वाग्रही सोच भएको बताउँछन् ।

प्रदेश सरकारले गरेका भनेको कामको परिणाम जनताले पाउन सकेका छैनन् । कृष्णपुर नगरपालिकाको क्वारेन्टीनमा बसेकी यशोदा ओझालाई क्वारेन्टीनमा बस्दातीन वटा फरक फरक स्कुलमा सारियो । २० दिन बस्दा पनि पिसिआर परीक्षण नगरी घर फर्काएको थियो । चिकित्सकले नै आरडीटी परीक्षणको विश्वसनीयता माथि प्रश्न उठाएकाले गाउँ समाजमा आरडीटी परीक्षणमा नेगेटीभ देखिएका व्यक्तिहरुलाई पनि कोरोना संक्रमित झैँ व्यबहार गरिन्छ । ओझालाई पनि आरडीटी परीक्षण गरेर घर फर्किएको दुई सातासम्म एकतर्फ संक्रमणको भय थियो । अर्काेतर्फ उनले घर परिवार र समाजबाट विभिन्न परिबन्दको सामाना गर्नु परेको थियो । भारतबाट स्वदेश फर्किएका व्यक्तिको संख्या नै तिन लाख पुग्दा सुदूपश्चिम प्रदेशमा २८ असारसम्म २६ हजार ३ सय ९७ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ ।

यस्तै, क्वारेन्टीनमा दिने गरिएको खानाको गुणस्तरमा प्रायः मानिसहरु असन्तुष्ट छन् । ‘खाना सधैँ दिन्छन्,’ अछामको मंगलसेन नगरपालिकाका प्रेम बोगटी (३२) भन्छन्, ‘तर, कुनै दिन खान सकिन्छ । कुनै दिन सकिदैन । गुनासो कति गर्ने भन्ने भइसकेको छ ।’ १४ दिन क्वारेन्टीनमा बसेर एक टोली घर फर्किएपछि विद्यालयका कोठाहरु पर्याप्त सफा नगरी प्रयोग गर्न लगाएकोेमा पनि क्वारेन्टीनमा बस्ने असन्तुष्ट छन् । कञ्चनपुरको विणा माध्यामिक विद्यालयको क्वारेन्टीनमा बसेका योगेन्द्र साउदले सरसफाई नगरी क्वारेन्टीनमा बस्न लगाएको आक्रोश व्यक्त गरेका छन् । स्थानीय तहका अधिकारीहरु पीपीइ नलगाई कोठा सफागर्न कोही जान नमान्दा पूर्ण सरसफाई गर्न नसकिएको स्वीकार गर्छन् ।

यस्तै क्वारेन्टीनमा बस्नेको सबैभन्दा ठुलो दुःख, सक्रमण सर्छ कि भन्ने हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले तोकेका कुनै पनि मापदण्ड पुरा नगरी क्वारेन्टीन स्थल बनाइएकाले ती ठाउँहरु कोरोना संक्रमण फैलने हटस्पट सेन्टर पनि बनेका छन् ।

महँगो यात्रा
कृष्णपुर नगरपालिका ८ का दीपक घर्ती (३५) गत फागुनमा भारतको चेन्नई सहर गएका थिए । तर, कोरोना महामारिले गर्दा तीन महिना नपुग्दै स्वदेश फर्किए । ‘अपार्टमेन्टमा सेक्युरिटी गार्डको काम गर्थे । काम चालु नै थियो,’ उनी भन्छन्, ‘तर, रोग लाग्ने डरले घर फर्किएको हुँ ।’ १२ चैतबाट भारत सरकारले लकडाउन घोषणा गर्दा घर्तिले सेक्युरिटी गार्डको काम गर्न थालेको एक महिना मात्र पुगेको थियो । ‘लकडाउनको समयमा सबै व्यक्ति अपार्टमेन्टमा भएकाले संक्रमणको जोखिम थिएन’, उनी भन्छन्, ‘तर, लकडाउन खुकुलो भएसँगै हरेक दिन सयौँ व्यक्तिको तापक्रम नापेर रेकर्ड राख्दै अपार्टमेन्ट प्रवेश अनुमति दिन पर्थ्यो। कोरोना संक्रमण बढिरहेको समयमा डरको वातावरणमा काम गर्नुभन्दा घर फर्किएको हुँ।’

बाध्यताले विदेशिएका सबै व्यक्तिलाई घर फर्कने निर्णय गर्न सजिलो थियो । तर, सार्वजनिक यातायाता सहज नभएकाले घर फर्कन निकै सकसपूर्ण थियो । चेन्नईसम्म २ हजार रुपैयाँमा पुगेका घर्तीले चेन्नईबाट नेपालको सीमानाका गौरीफण्टा पुग्न ८ हजार रुपैयाँ खर्च गर्नु परेको थियो । लकडाउनका कारण सार्वजनिक यातायात सहज नहुदाँ गाडी रिजर्भ गरेर आउँदा यात्रा महँगो भएको साउद बताउँछन् । “गाडीले दुई जनाको सिटमा एक जना मात्रा राखेका थिए,” उनी भन्छन्, ‘यस्तै दुई तर्फी भाडा पनि लिएकाले यात्रा महँगो भएको हो ।”

पञ्जाबबाट फर्किएका फुलारा चण्डीगढबाट २५ हजार रुपैयाँ तिरेर ५ जनागोरिफण्टा नाकासम्म पुगेको बताउँछन् । “विगतमा एक जना १ हजार रुपैयाँमा आउने गरेका थियौँ । कोरोना भन्दै बढी पैसा तिर्नु पर्याै”, उनी भन्छन् ।

गुमनाम दुताबास
भारतमा रोजगारी गुमाएपछि अलपत्र परेका अधिकांश व्यक्तिहरुलाई त्यहाँ नेपाली समुदायले सहयोग गरेको थियो । यस स्टोरीमा उल्लेख भएका दीपक घर्ती, राजेश राना, विष्णु साउदले नेपाली समुदायबाट सहयोग नपाएका भए बाँच्न नै कठिन हुने बताएका छन्।

‘अतिथि देवो भवः’ भन्ने मान्यतालाई नेपालीले विदेशमा हुँदा पनि निर्वाह गरेका छन्। बैतडीका नरेश बिष्ट सहित १५ जना व्यक्ति बेंगलुरुबाट घर फर्कदै थिए । तर, दिल्ली पुगेकै दिनबाट भारत सरकारले लकडाउन घोषणा गरेपछि अलपत्र परेक थिए । उनिहरु एक महिना दिल्लीमा रहेका गाउँले साथीहरुको डेरामा बसेका थिए ।

‘एउटा रुममा ८ जना बसेका छौँ”, दिल्लीबाट ह्वाट्स एपमा भनेका थिए, ‘दिल्लीको राजदूतावासलाई सयौँ पटक फोन गर्दा पनि कुनै रेस्पोन्स गरेन, ‘बरु गाउँका साथीहरुले बस्ने व्यवस्था गरे।’

क्वारेन्टीनमा बसेर घर फर्किएका उनी भन्छन्, “अब पनि सरकारले केही सहयोग गर्ला र केही काम पाइएला भन्ने आशै छैन ।अलपत्र परेका व्यक्तिलाई सहयोग नगर्ने सरकारबाट कुनै अपेक्षा गर्नु नै गल्ती हो ।”

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू