फोटो फिचर

लकडाउनले बन्द भए पनि धमाधम संरचना थपिँदै छन् थारु संग्रहालयमा

दाङ–राप्ती नदी तर्न डुंगा चल्थ्यो। सय वर्ष अघि पनि मानिसले डुंगा खियाएर वारिपारी गर्थे। डुंगा बनाउने र खियाउने दुवै काम उतिबेलाका ‘थारु’ले गरेका थिए। अहिले त राप्ती नदीमा पुल बन्यो।अझैं चारवटा पुल बन्दै छन्। डुंगा खियाउने चलन हरायो। डुंगापछि पटेलाको चलन आयो। त्यो पनी हरायो। सय बर्षअघि थारु पुर्खाले बनाएको डुंगा दंगिशरण गाउँपालिका वडा नं. ३ चखौरा थारु संग्रहालयमा प्रदर्शनीमा राखिएको छ।

खेतमा फलेको धान वेच्न बजार पुर्‍याउनु पर्थ्यो।बोकेर लैजान टाढा पर्थ्यो। गोरु र रांगाले हिडाउन मिल्ने लडिया बर्दियामा खुबै चल्थे। अहिले त ट्र्याक्टर आयो। सबै सामान ट्याक्टरले बोक्छ। गाउँमा त्यसै कुँहिएर जान थालेको लडिया संरक्षण गर्न चखौरामा राखिएको छ।

थारु समुदायको कला संस्कृतिसँग जोडिएका गहना थुप्रै छन्। तीन-चार सय प्रकारका गहना थिए। ती गहना अहिले खोजेर भेटिदैनन्। लोप हुन थालेको थारु गरगहना संग्रहालयमा राखिएको छ। थारु समुदायको पोशाकको पनि उत्तिकै महत्व छ। अहिले त ती पोशाक लगाउने मान्छे भेट्न गाह्रो छ। तर, संग्रहालयमा आउनेलाई थारु पोशाक लगाउन दिइन्छ। एक छिन पुरुषले ‘भेगुवा’ र महिलाले ‘लेहंगा’ लगाउछन् अनि सेल्फी र फोटो दुवै लिन्छन अनि रमाउँछन्।

थारु समुदायको लोपन्मुख कला, संस्कृति र सम्पदाको संरक्षण गर्न चखौरामा वृहत संग्राहलय बनाइएको छ। थारु अगुवा तथा प्रदेश ५ प्रदेश सभा सदस्य डिल्ली चौधरीको संरक्षकत्वमा र योजनाका आधारमा चखौरामा बहृत थारु संग्राहलय निर्माण गरिएको हो।

यो संग्राहलयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका थारु समुदायका कला, संस्कृति र सम्पदा संरक्षण गरेर राखिएको संग्राहलयका संरक्षक तथा प्रदेश सभा सदस्य डिल्ली चौधरीले बताए। ‘दंगिशरण राजाका पालादेखिका कला संस्कृतीलाई समेटेर संग्राहलय बनाइएको हो।

यो संग्राहलयलाई थारु संस्कृती, सम्पदा र सभ्यता अध्ययन गर्ने स्रोत केन्द्र बनाउने लक्ष्य छ’ उनले भने–‘अहिले दाङदेखि पश्चिमसम्मका थारुको सम्पदा यहाँ राखेका छौं। अवको दुई वर्षभित्र पूर्व मेचि देखिपश्चिम महाकालि सम्मका थारुहरुको सम्पदा यहाँ राखिने छ।’

द्वापरयुगसँग जोडिएका र इतिहास झल्काउने सम्पदाको खोजी गरिएको र भेटिएका सबै सामाग्रीलाई संग्रहित गरिएको छ। थारु पुर्खा गुरुवा (उतिवेलाका डाक्टर)को काम गर्थे। मानिसलाई रोग व्यादले च्याप्यो भने औषधि गर्थे। ती कलाकौशललाई मूर्तिमा उतारिएको छ।

संग्राहलय प्रवेश गर्ने गेट नजिकै ठूलो कदको थारु राजा दंगीशरणको शालिक बनाइएको छ। त्यसपछि अली पर जाँदा थारु पुर्खा (महतौं)को पूर्ण कदको सालिक छ। अनी दाङको भूगोल सहितको नक्सा पनी संगै छ।अझैं यो संग्रहालयलाई जीवन्त बनाउने काम चलिरहेको थारु विज्ञ श्रमलाल चौधरीले बताए।

जीविति थारु संस्कृतिलाई प्रत्यक्ष अवलोकन गर्न सकिने पनि बनाइएको छ। ‘थारु समुदायको लोपन्मुख नाँच प्रत्यक्ष हेर्न पाइने व्यवस्था पनि गर्दै छौं’चौधरीले भने–‘थारु संस्कृतीको अध्ययन गर्ने एउटा तालिम केन्द्रनै बनाउने योजना छ।’

लकडाउनको प्रभाव, संग्राहलय बन्द


सरकारले लकडाउन गरेपछि चखौराको थारु स्रग्राहलय पनि बन्द भयो। लकडाउन हुनुअघि महिनामा ८ देखि १० हजार पर्यटक अध्ययन अवलोकनका लागि चखौरा पुग्ने गरेका थिए। अहिले लकडाउन भएपछि संग्राहालय बन्द गरिएको छ।

राष्ट्रिय संग्रहालय खुलेपछि चखौराको संग्राहलय पनि खोलिने थारु सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरीले जानकारी दिए। ‘अवलोकनको लागि संग्राहलय वन्द गरिएपनि त्यहाँभित्र अन्य संरचना बनाउने काम चलिरहेको छ’उनले भने–‘प्रदेश ५ सरकारको सहयोगमा संग्रहालयको सवलीकरण गरिएको छ।’

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्