सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार पुग्यो

धनगढी– पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पुगेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ८ गरी २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराकै ८ जनामा संक्रमण पुष्टि भएको छ। आजै सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ८ पुरुष र ६ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो।

सेतीमा कैलालीको कैलारी गाउँपालिका–४ का दुई महिला र दुई पुरुष गरी ४ जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी ३ जना, कैलालीकै धनगढी उपमहानगरपालिका–१८ का एक पुरुष र एक महिला गरी २ जना, कैलालीकै टिकापुर नगरपालिका–१ का एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका–४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका–६ का एक महिलामा कोरोना पुष्टि भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी कैलालीमा ९ सय ४१, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा पाँच सय ७८, कञ्चनपुरमा चार सय ६२, डडेल्धुरामा दुई सय ९२, बैतडीमा दुई सय ७६, बझाङमा एक सय ७० र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू