अमृत डाँडा घटनाको ‘फलोअप’

पोस्टमार्टम रिपोर्ट भन्छ- ८ वर्षीया बालिकाले गरिन् झुन्डिएर आत्महत्या

८ वर्षीया बालिकाले झुन्डिएर आत्महत्या गरेको घरमा जम्मा भएका उनका आफन्त र छिमेकी । तस्बीर दीपा दाहाल

वीरेन्द्रगर- करिब एक साताअघि सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ अमृत डाँडास्थित आफ्नै डेरामा झुन्डिएको अवस्थामा फेला परेकी दैलेखकी ८ वर्षीया बालिकाले झुन्डिएर आत्महत्या गरेको उनको पोष्टमार्टम रिपोर्टबाट खुल्न आएको छ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको ती बालिकाको पोष्टमार्टम रिपोर्टमा ती बालिकाले झुन्डिएर आत्महत्या गरेको खुल्न आएको हो। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो।

‘बालिकाले झुन्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टमा देखियो। तर बालिकाले आत्महत्या गर्नुका कारणबारे प्रहरीले पक्कै पनि खोज्नेछ’, प्रहरी स्रोतले भन्यो।

ती बालिकाले ‘आत्महत्या नै गरेको’ भन्दै त्यसबारे छानविनको मागसहित उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा घटना भएकै दिन जाहेरी दिएकी थिइन्।

अब ती बालिकाकी आमा या पारिवारिक सदस्यले उनको आत्महत्याको कारणबारे छानविनको माग गर्दै प्रहरीमा पुनः जाहेरी दिएमा अनुसन्धान सहज हुने प्रहरी स्रोतको भनाई छ।

स्रोतले भन्यो, ‘प्रहरीले आत्महत्याकाे कारणबारे अनुसन्धान गर्ने एउटा पाटो छँदैछ। तर उनको घरपरिवारबाट आत्महत्याका कारणबारे थप अनुसन्धानको माग गर्दै जाहेरी दिएमा अझै सहज र थप जानकारी आउला।’

यसो त देशसञ्चारले रिपाेर्टिङका क्रममा ‘आत्महत्या’ गरेकी बालिकाकी आमासँग कुरा गर्दा उनले भनेकी थिइन, ‘साँचो हराएपछि मैलै छोरीलाई जसरी पनि साँचो खोज्, हैन भने तेरो ढाड भाँचिदिन्छु भन्दै गाली गरेको थिएँ। तर मेरो छोरीले त्यसपछि कुनै प्रतिक्रिया दिएकी थिइनँ।’

ती बालिकाले आत्महत्या गरेका दिन उनको मामाघरमा नयाँ घर सर्ने कार्यक्रम थियो। उक्त कार्यक्रममा ती बालिकाकी आमा व्यस्त बनेका बेला आफ्नो भाइलाई हेर्ने जिम्मेवारी पाएकी ती बालिकाले भाइले साँचो हराएको खबर आफ्नी आमालाई मामाघरमा पुगेर गरेकी थिइन्।

त्यसपछि आमाले अघिपछि जस्तै त्यसदिन ती बालिकालाई गाली गरेको देशसञ्चारलाई बताएकी थिइन्। आमाले गाली गरेपछि ती बालिका केही नबोली फेरि डेरामा आएको र त्यसको आधा घण्टापछि ती बालिकाकी आमा डेरामा आउँदा ती बालिका घरको दलिनमा झुन्डिएको अवस्थामा फेला परेको र उनलाई बचाउन सलबाट निकालेर बाहिर आँगनमा ल्याएको आमाले बताएकी थिइन्।

त्यसलगत्तै जम्मा भएका उनका आफन्त र छिमेकी मिलेर ती बालिकालाई वीरेन्द्रनगरस्थित एक निजी अस्पताल पुर्‍याएपनि चिकित्सकले ती बालिकाको मृत्यु भइसकेको घोषणा गरेका थिए। घटनापछि ती बालिकाकी आमा डेरा छोडेर दैलेखस्थित आफ्नो घरमा गएर बसेकी छन्।

यता मलेसियामा रहेका बालिकाका बुवाले आफ्नी आठ वर्षीया छोरीले आत्महत्या गरेको विषयमा विश्वास नै नगरेको बालिकाका काकाले बताए।  बालिकाका काकाले पनि ती बालिकाले आत्महत्या गर्न नसक्ने भन्दै यो घटनालाई शंकाको घेरामा राखेका थिए।

भनेका थिए ,‘मलाई ८ वर्षीया बालिकाले आत्महत्या गरिन् होला भन्नेमा विश्वास नै छैन। बालिकाको आमाको बयान पनि फरकफरक आइरहेको छ। प्रहरीले निष्पक्ष छानविन गरोस् भन्ने म चाहन्छु।’

८ वर्षीया बालिकाले झुन्डिएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेसँगै बालबालिका यस्तो घटनामा कुन मनोविज्ञानका साथ संलग्न भइरहेका छन्? आफैले आफैलाई मार्न कुन–कुन विषयले प्रोत्साहन गरिरहेको छ? भन्ने जस्ता चोटिलो प्रश्न उठेका छन्।

अमृत डाँडामा पुगेर स्थलगत रिपाेर्टिङ गर्दा देश सञ्चारसँग छिमेकी र वरपरका बालबालिकासहित अभिभावक ८ वर्षीया बालिकाले आत्महत्या गरेको कुरा आफूहरुलाई विश्वास नै नलागेको बताएका थिए।

यो घटनासँगै त्यहाँका अभिभावकले लकडाउन र स्कूल बन्द भइरहेका बेला आफ्ना बालबालिकालाई लिएर असुरक्षित महशुस भइरहेको अनुभव बाँडेका थिए।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू