योगी नरहरिनाथले संकलन गरेका ऐतिहासिक दस्तावेज धुजाधुजा (फोटो फिचर)

तस्बिरहरु: प्रकाश ढकाल

काठमाडौँ – योगी नरहरिनाथले संकलन गरेका हजारौँ पुस्तक तथा  दस्तावेजहरु धुजाधुजा भएको पाइएको छ।

संरक्षणको अभावमा नरहरिनाथले देश विदेशबाट संकलन गरेका ऐतिहासिक, धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्वका हजारौं पुस्तकहरु काम नलाग्ने अवस्थामा पुगेका हुन्।

पशुपति मृतस्थलस्थित योगी नरहरिनाथको आश्रममा रहेका पुस्तक, पाण्डुलिपी, नेपाल पक्ष भई गरेका सन्धि सम्झौतासँग सम्बन्धित पुस्तकहरु धुजाधुजा भएको अवस्था पुगेको हो।

योगी नरहरिनाथले नै स्थापना गरेको ‘श्रीबृहद् आध्यात्मिक परिषद्’ संरक्षणको प्रयास गरे पनि उचित स्थान र प्रविधिको अभावमा ती किताबहरु नाजुक अवस्थामा पुगेको महन्त योगी श्रीषःनाथले जानकारी दिए।

बिहीबार संसदको प्रत्यायोजित विधान तथा सरकारी आश्वासन समिति समक्ष महन्त श्रीषःनाथले भने, ‘हामीले सकेसम्म यसलाई संरक्षण गरेका राखेका छौं। धेरै किताबहरु काम नलाग्ने अवस्थामा पुगिसके। बाँकीको संरक्षण होस्।’

नरहरिनाथले संकलन गरेकामध्ये ८० प्रतिशत पुस्तक तथा दस्तावेजहरु नष्ट भइसकको उनले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषले पुस्तकालयमा १३ वर्षसम्म ताला लगाउँदा अधिकांश पुस्तक धमिरा, ओस, ढुसीका कारण बिग्रेको सचिव एनी कुवँर बालाले जानकारी दिइन्।

उनले समिति समक्ष भावुक हुँदै भनिन्, ‘विकास कोषले १३ वर्षसम्म ताला लगाएर राख्दा किताब नष्ट भए। बाँकी पनि जोगाउन नसकिने हो कि भन्ने अवस्थामा पुगेका छन्।’

भुकम्पका कारण भवन भत्केपछि मात्र विकास कोषले लाइबेरिमा लगाएको ताल खोलिदिएको थियो। योगी नरहरिनाथका उत्तराधिकारी महन्त श्रीषःनाथले बाँकी रहेका केही पुस्तकहरु लिनका लागि देश विदेशबाट प्रलोभन, धम्की आउने गरेको बताए।

उनले भने, ‘महत्वपूर्ण पुस्तक माग्नका लागि देश विदेशबाट धेरै व्यक्ति आउँछन्। कतिले प्रलोभन देखाइ रहेका छन् कतिले धम्कीसमेत दिने गरेका छन्। तर म कसैलाई दिन्न। पशुपतिमा एक दुई रुपैयाँ मागेर भने पनि यी पुस्तक बचाउँछु।’

उनले पुस्तक र दस्तावेजहरुलाई मृगस्थलभन्दा बाहिर लैजान नहुने धारणा संसदीय समिति समक्ष राखे।

योगी नरहरिनाथका अनुन्यायीसमेत रहेका अभिवक्ता प्रकाशमणि शर्माले राज्यका जिम्मेवार निकायसँग नभएका ऐतिहाससिक दस्तावेजहरु त्यहाँ संग्रहित रहेको उल्लेख गरे।

उनले बाँकी दस्तावेजहरुलाई अभिलेखका रुपमा राख्न ढिलो सकेको भन्दै चिन्ता व्यक्त गरे। नेपालले विभिन्न कालखण्डमा छिमेकी देशहरु भारत, तिब्बतसँग गरेका सन्धि सम्झौता तथा त्यहाँ रहेको उनको दाबी छ।

समितिका सभापति रामनाराणले सरकारले अहिलेसम्म ऐतिहासिक महत्वका दस्तावेज तथा पुस्तकहरुको व्यवस्थित रुपमा संग्रह नगरेकाले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

उनले योगी नरहरिनाथले संकलन गरेका महत्वपूर्ण दस्तावेजहरु संरक्षण गर्नु राज्यको दायित्व भएकाले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

राष्ट्र गुरुका रुपमा समेत लिइने योगी नरहरिनाथले लेखेका ५७१ पुस्तक प्रकाशन भएको छ। विस १९७१ मा जन्मिएका योगीको २०५९ निधन भएको थियो। गोरखनाथका भक्त योगी उच्चकोटीका आध्यात्मिक व्यक्तित्व हुन्।

यो भिडियो पनि हेर्नुहोस्:

 

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्