धुम्रपान भन्दा ‘एक्स्पोज’ हुने व्यक्तिमा कोभिड–१९को संक्रमण

‘जो व्यक्ति धेरै ‘एक्स्पोज’ हुन्छ, उही संक्रमित हुन्छ’

काठमाडाैँ– नेपालमा कोरोना भाइरस संक्रमणको तुलनात्मक रूपमा महिलामा भन्दा पुरूषमा धेरै देखिएको छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि महिलामा भन्दा पुरूषमा नै बढी देखिएको छ।

हुन त नेपालमा मात्रै नभएर विश्वभर नै महिलाभन्दा संक्रमित र संक्रमणका कारण ज्यान गुमाउनेमा पुरुषको संख्या धेरै छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिदै जाँदा यसबारे विभिन्न अनुसन्धन थालिएका थिए। संक्रमण फैलिएका विभिन्न देशमा गरिएका अध्ययन अनुसार कोरोना भाइरसको संक्रमणको जोखिम महिलामा भन्दा पुरूषमा बढी रहेको उल्लेख गरिएको छ। तर के कारणले महिलालाई भन्दा पुरुषलाई संक्रमणको जोखिम धेरै भएको एकिनका साथ भन्न नसकिने बताउँदै आएका छन्।

विज्ञहरु पनि वास्तविक कारण यही हो भनेर निश्चिन्त हुन सकेका छैनन्। तर धेरै देशमा महिला र पुरुषहरुको बीचमा रहेको धुम्रपान र मध्यपान गर्ने व्यवहारको फरकपनमा रहेको भिन्नतालाई मुख्य कारण मानिएको थियो। चीनकै कुरा गर्ने हो भने त्यहाँका अधिकाशं धुम्रपान गर्ने पुरुषहरुमा संक्रमण बढी देखिएको थियो।

तर धुम्रपान वा मध्यपानका कारण महिलाभन्दा पुरुषमा संक्रमणको दर धेरै देखिएको भन्ने कुरालाई महिला पुरुषले बराबर धुम्रपान वा मध्यपान गर्ने देश र धुम्रपान वा मध्यपान गर्दै नगर्ने देशहरुमा पनि बढी पुरुषमा नै संक्रमण देखिएको छ।

यसको कारण विज्ञहरुले पुरुष र महिलाबिचको खानपानको शैलीलाई हुन सक्ने बताएका छन्।

धेरैजसो महिला घर बाहिर ननिस्कने र पुरुष रोजगारीका लागि तुलनात्मक रुपमा महिलाको भन्दा पुरुषमा बढी संक्रमण देखिने गरेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बासुदेव पाण्डेले बताए।

उनले भने, ‘नेपालबाट रोजगारीका लागि विदेश जानेहरु महिलाभन्दा पुरुष धेरै छन्। घर फर्किएर क्वारेन्टाइनमा बसेका तिनै विदेशबाट फर्किएका पुरुषहरुमा संक्रमण देखिएको हो। जसका कारण महिलाको भन्दा पुरुषको संख्या स्वतः बढी देखिएको छ।’

नेपालमा बिहीबारसम्म संक्रमितको संख्या १७ हजार ३ सय ४४ रहेको छ। जसमध्ये संक्रमित महिलाको संख्या २ हजार ४ सय ५१ रहेको छ भने संक्रमित पुरुषको संख्या १४ हजार ८ सय ९३ रहेको छ।

अर्थात संक्रमित भएका पुरुषको संख्या ८५.९ प्रतिशत र महिलाको संख्या १४.१ प्रतिशत रहेको छ।

पुरुषको तुलनामा संक्रमित महिलाको संख्या निकै कम रहेको छ। यसको कारण भनेकै सिमित समूहमाथि गरिएको परीक्षण भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। उनले भने, ‘रोजगारीका लागि भारत लगायत विभिन्न देशबाट फर्किएका व्यक्तिहरुको मात्र परीक्षण गरिएको छ। तुलनात्मक रुपमा विदेश जाने र विदेशबाट फर्किनेहरुमा महिलाको संख्या न्यून छ। त्यसैले महिलाहरुमा धेरै परीक्षण पनि भएको छैन। कुनै समुदायमा गएर परीक्षण गरेको भए थाहा हुन्थ्यो कि?’

उसो त यूरोप, अमेरिकाको तथ्याङ्क हेर्ने हो भने पनि महिलाको तुलनामा संक्रमित हुनेमा पुरुषको संख्या धेरै देखिएको छ। यही विषयमा विभिन्न अनुसन्धानहरु भइरहेका पनि छन्। तर अहिलेसम्म स्पष्ट रुपमा पत्ता भने लागेको छैन।

तर डा. पुनका अनुसार नेपालको हकमा पछि परीक्षण गर्दै जाँदा संक्रमण पुरुषमा बढ्न पनि सक्छ र घट्न पनि सक्छ। रोजगारीको सिलसिलामा पुरुषहरु नै बाहिर गएका कारण उनीहरुमा संक्रमण धेरै देखिएको उनले बताए।

‘भारत लगायत विभिन्न देशबाट फर्किएका पुरुष भएका कारण अहिले संक्रमण व्यापक रुपमा उनीहरुमा देखिएको हो। तर केही गरी संक्रमण समुदायमा फैलियो। र त्यहाँ पनि महिलाभन्दा पुरुषमा धेरै संक्रमण देखियो भने त्यसको अन्य कारणहरु खोज्नुपर्ने हुन सक्छ’, उनले भने, ‘हुन त धेरै अगाडि चीनमा भएको अनुसन्धान अनुसार धेरै धुम्रपान गर्ने भएका कारण पुरुषहरुमा संक्रमण धेरै देखिएको पनि भनिएको थियो। तर अरु देशमा पनि पुरुषको संख्या उस्तै देखिएको छ। त्यसैले अरु थुप्रै कारणहरु पनि हुन सक्छन्। तर धुम्रपान वा मध्यपान गर्ने व्यक्तिहरुमा भने धेरै मानवीय क्षति हुने आइसियू वा भेन्टिलेटर भर्ना हुने सम्भावना धेरै हुन्छ। धुम्रपानले फोक्सोमा असर गर्छ। यो रोगले छाती, स्वास प्रश्वासमा असर गर्ने भएका कारण धुम्रपान वा मध्यपान गर्ने व्यक्तिहरुमा जोखिम हुन्छ नै।’

उनका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा संक्रमणको सम्भावना धेरै हुन्छ।

हुन त विज्ञहरु समाजको बनावट अनुसार हरेक रोगको प्रभाव पर्ने गरेको बताउँछन्।

तर यो सर्ने रोग भएका कारण पुरुषहरु धेरै ‘एक्स्पोजर’ हुँदा धेरै संक्रमित भएको हुन सक्ने जनस्वास्थ्य विज्ञ डा. केदार बरालले बताए। उनले भने, ‘नेपालमा मात्र नभएर अन्य ठाउँमा पनि पुरुषहरुको संख्या धेरै छ। नेपालको कुरा गर्ने हो भने विदेश काम गर्न जाने पुरुष धेरै छन्। यो रोग बाहिरैबाट आएको हो। जसले गर्दा समुदायमा संक्रमण पूर्ण रुपमा फैलियो भने कस्तो हुन्छ, फरक पनि हुन सक्छ। अहिलेको कुरा गर्ने हो भने पुरुषहरु धेरै ‘एस्पोज’ भएका कारण उनीहरुका संक्रमण धेरै देखिएको हो।’

‘धुम्रपान गर्नेहरुलाई संक्रमण हुने सम्भावना पनि धेरै हुन्छ र संक्रमित भइहाले गम्भीर हुने सम्भावना बढी हुन्छ। चुरोटले सम्भावना बढाउँछ। तर हाम्रोमा अहिलेसम्मको तथ्याङ्क बाहिरबाट आएका व्यक्तिहरु धेरै छन्। त्यसैले समुदायमा नफैलिँदै अहिले नै फरक तर्क गर्न उपयुक्त हुँदैन।’

डा. बरालका अनुसार यो रोग नयाँ भएका कारण संसारका सय प्रतिशत मानिसहरुमा लाग्न सक्छ।

उनले थपे, ‘यसमा पनि सबैलाई लाग्छ र रोग लाग्यो भने सबैमा रोगका लक्षण देखिन्छन् भन्ने हुँदैन। जसका कारण यसलाई दुई तरिकाबाट हेर्न सकिन्छ ‘साइन्स अफ पोसिविलिटी’ र ‘साइन्स अफ सटेर्निटी’। यस्तो कुरा हेर्दा ‘साइन्स अफ पोसिविलिटी’ को भ्यू बनाउनु पर्ने हुन्छ। यो बेला व्यक्तिको उमेर, विशेषता, पोषण, स्वास्थ्य स्थिति जस्ता व्यक्तिगत कुराहरुले गर्दा पनि फरक हुन सक्छ। तर ‘साइन्स अफ पोसिविलिटी’ हिसाबले सबैलाई संक्रमण हुन्छ। यद्यपि संक्रमण हुने बित्तिकै सबैलाई रोग नै हुन्छ भन्ने हुँदैन। रोग हुने र संक्रमित हुने फरक कुरा हो।’

उनका अनुसार यो रोग विशेष गरी स्वास प्रश्वासबाट सर्ने भएका कारण महिलाको तुलनामा पुरुषहरु धेरै घर बाहिरको कम गर्ने गर्छन्। कामकै लागि ‘एक्स्पोज’ हुँदै गर्दा उनीहरु धेरै संक्रमित भएको देखिन्छ।

‘सरुवा रोगमा जो व्यक्ति धेरै बाहिर एक्स्पोज हुन्छ, उही संक्रमित हुन्छ’, उनले थपे।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्