प्रदेश-१मा एकैदिन ३३ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ-पछिल्लो केहीदिनदेखि घट्दो क्रममा देखिएको प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ संक्रमितको नयाँ संख्या एकैदिन ३३ पुगेको छ।

विराटनगर सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार एकैपटक ओखलढुंगामा १५, इलाममा ६, सुनसरी र झापामा समान ४, मोरंगमा ३ र उदयपुरमा १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

विराटनगर महानगरपालिकाले २ महिला र १ पुरुषको पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको प्रस्टाएको छ । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार आज २ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।

कन्ट्याक्ट ट्रेसिंगका आधारमा उनीहरुमा संक्रमण देखिएको प्रमुख कार्कीले प्रस्टाए। विराटनगर १५ का उनीहरु ६५ वर्षीया, २८ वर्षीया महिला र एक ४ वर्षीय बालक रहेकाछन्।

कार्कीले अहिलेको अवस्थामा सावधानी र सचेतना पूर्याउन नसकिएको खण्डमा समस्या थपिन सक्नेछ बताए। बजार खुल्लाभएसंगै सर्वसाधारणले मास्क लगाउने र हात धुने कार्यलाई अनिवार्य रुपमा अनुसरण गर्नुपर्नेमा महाशाखा प्रमुख कार्कीले जोड दिए।

यससंगै महानगरपालिकामा ३० जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १९ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएसकेको बताएका कार्कीले ११ जना भने उपचाररत कोभिड १९ उपचार केन्द्रमा रहेका छन्।

अर्कोतर्फ मन्त्रालयले ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुषको पीसीआर परिक्षण पोजेटिभ आएको जनाएको छ। त्यसैगरी, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा समान २ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले प्रस्टाएको छ । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगेको छ।

प्रदेश १ बाट बिहीबार १४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्