नेकपाका दुवै पक्ष भोलिको बैठकका लागि रणनीति बनाउन व्यस्त

मंगलबार प्रधानमन्त्री निवासमा बसेको नेकपा स्थायी समिति बैठक। फाइल तस्विर

काठमाडौँ – दिउँसो भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेकपाका दुई पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

बिहीबार अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफल विना निष्कर्ष सकिएको थियो।

बैठकपछि बेलुका ओलीले आफू निकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् भने दाहाल नेपाल पक्षमा पनि प्रचण्ड निवासमा भावी रणनीति तय गर्न बसेका छन्।

दुई पक्ष भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन व्यस्त भएका हुन्। प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र उनीहरु पक्षीय स्थायी समिति उपस्थित भएको स्रोतले जानकारी दियो।

त्यस्तै उता बालुवाटारमा ओली निकट रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेता सहभागी छन्। बिहीबार बालुवाटारमा भएको कुराकानीमा दाहाल–नेपालले यसअघि झै ओलीलाई राजनीतिक र कुटनीतिक रुपमा सरकार असफल भएकाले दुई पदमध्ये एक (प्रधानमन्त्री) पद त्याग्न आग्रह गरेका थिए।

जवाफमा ओलीले ‘म कुनै पनि पद छोड्दिन। तपाईंहरुलाई स्थायी समिति बैठकबाट जे जस्तो निर्णय लिन मन लाग्छ लिनुहोस्’ भनेका थिए। दुवै पक्ष आफ्नो अडानबाट टसका मस नभएपछि नेकपाभित्रको विवाद वार कि पारको अवस्थामा पुगेको छ।

असार १८ गतेदेखि स्थगित हुँदै आएको बैठक असार २ गते(भोलि) बस्दैछ। भोलिको बैठक नरोकिएसँगै अब नेकपाभित्रको विवाद जोड घटाउन प्रवेश गर्ने भएको हो। ४५ सदस्यीय स्थायी समितिमा दाहाल र नेपालको पक्षमा ३० हाराहरी संख्या छ।

साउन १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्