व्यङ्ग्य

सबै छोडी पुच्छरमा हात

हाम्रा सरकार प्रधानले दक्षिणी छिमेकीलाइ पाठ सिकाउने, त्यसैको आडमा ज्यादै महत्वपूर्ण वाणीहरु निकाल्दै राष्ट्रवादी अति राष्ट्रवादीको रुपमा आफूलाई उभ्याएर सत्ता टिकाउने र आफ्नो बोलीलाइ जनता सामु अझ राम्रो भाउमा बिकाउने कसरत गरेर अहिलेसम्मका सबै सरकार प्रधानहरुलाइ मात दिन सक्नु चानचुने कुरा हुँदै होइन ।

यस पटक सरकार प्रधान भइसकेपछि औसतमा महिनाको एउटा जस्तो नयाँ उद्गार व्यक्त गरेर र त्यसलाई व्यापक रुपमा छरेर अनि त्यसको चर्चा सेलाउन थाल्यो भन्ने जस्तो लाग्नासाथ फेरि अगाडि सरेर नयाँ उद्गार व्यक्त गरिहाल्ने र यसबाट पुरानो उद्गारले पैदा गरेको माहौल केही समयलाइ टरिहाल्ने अनि उनी पनि पुरानोलाई चटक्क बिर्सेर नयाँमा झरिहाल्ने गजबको सिलसिलालाई कायम राख्न सकेकोमा सबै भोटरहरुले गर्व गरेका छन् ।

उनले चुनाव अघिदेखि अहिलेसम्म दिने गरेका उखानटुक्का, हँस्यौलो ठट्यौलो प्रस्तुतिसहितका सामान्य मान्छेले पनि सजिलै बुझ्ने खालका विचारहरु सुन्दासुन्दा अब त जनताले अरुका कुरा र भाषणहरुलाइ सुन्न मन पराउन र त्यो अनुसार काम गराउन छाडिसके ।

हाँस्यरस प्रयोग गर्न सक्नेले सबैलाइ बशमा राख्न सक्छ भनेको सोह्रै आना सही रहेछ भन्ने अहिले सबैले महसुस गरेका छन् । सबै रसमा आआफ्नै खालको शक्ति हुने भएता पनि हाँस्यरसको शक्तिवालाको भक्ति अलि फरक खालको हुने रहेछ ।

बोल्ने कला र राम्रो गला भएको मान्छे जुन ठाउँमा जुन विषयमा जहिले बोलेपनि सुन्नेलाई थला बसाल्ने गरि बोल्न सक्ने रहेछ भन्ने उदाहरण खोज्न टाढा नगइकन हाम्रै सरकार प्रधानको बोली सुने पुग्छ । उनले व्यक्त गरेका उद्गारहरु गनेर र भनेर साध्य नै छैनन् ।

आधिकारिक भाषणमा त उनले त्यस्तो प्रष्टसित कसैको प्रतिक्रिया वा टिप्पणीलाई कुनै मतलव नराखिकन बोल्ने र आफनो पेटका आन्द्राभुँडी खोल्ने काम गर्नुहुन्छ भने उहाँका पारिवारिक गफगाफ र साथिभाइहरुसितको ठट्टा मजाकहरु कति चाखलाग्दा र रमाइला होलान् भन्ने सम्झँदा पनि देश विदेशका नाम चलेका र फुले फलेका हाँस्य कलाकारहरुले पनि जीवनमा कमसेकम एकपल्ट यिनको दर्शन पाउन पाए हुन्थ्यो भनेर पक्का पनि कल्पना गरेका हुन सक्छन् ।

आफ्नो राष्ट्र्वादी छविलाई अझ तिखार्ने र हँसिमजाकलाई अझ निखार्ने सिलसिलामा यिनले कूटनीतिक मर्यादाका सबै सिद्धान्त र अभ्यासहरुलाइ धोती लगाउने अनि त्यसको परिणामको कुनै हेक्का नराखिकन जे मन लाग्छ त्यहि बोलेर राष्ट्रवादी ठेक्का मजाले चल्छ भन्ने यिनको सोच नै ज्यादै उच्च स्तरको छ ।

त्यही भएर यसलाई सबैले मन पराएका छन र यहि राष्ट्रवादले यिनि भविष्यमा अझ बलियो हुन सक्ने देखेर यिनका विरोधीहरु चाहिँ डराएका छन । यिनले बोलेका र विभिन्न सभा समारोहहरुमा खोलेका विचारहरु मध्येबाट हाँस्यरसवाला भाग मात्रै संकलन गरेर विभिन्न भाषाहरुमा ग्रन्थ निकाल्ने हो भने त्यसले अहिलेसम्मका सबै बेस्ट सेलर पुस्तकहरुलाई मात दिएर यिनका घोर विरोधीहरुको समेत साथ पाउने निश्चित नै छ ।

राजनीतिज्ञहरु सबै नै परिस्थिति अनुसार बोल्न जान्ने र बोलेका कुराहरुलाई अरुले पनि मान्ने हुन्छन् । तर अहिलेसम्म यिनले जत्तिको जुनसुकै परिस्थिति र अवस्थामा पनि मिलाएर र सुन्नेहरुलाई मनोरन्जन दिलाएर बोल्ने अर्को भेटिएको छैन भने पनि हुन्छ । यिनको भाषण सुनिसकेपछि अरुको भाषण त ज्यादै फिका लाग्ने हुनाले जनतालाई भाषण सुनाउनकै लागि भएपनि यिनलाइ कुर्सीमा राखिराख्न जरुरी देखिन्छ ।

भाषण सुनाएर र सपनाको गीत गुनगुनाएर यहाँसम्म आइपुगेका हुनाले यिनको उखाने राष्ट्रवाद र बेसारे बिद्वतालाई सबैले मन पराएको कुरा छिमेकी देखि यिनको कुर्सीको खुट्टा काट्न करौँती लिएर हिँडिरहेका यिनकै पार्टिका एकै तहका अर्का अध्यक्ष र पूर्व सरकार प्रधान भइसकेका महानुभावहरुलाइ पनि थाहा छ ।

अन्यत्र कार्यक्रममा गएमा फर्केर आउँदा भित्र पस्न र प्यारो कुर्सीमा बस्न नदिने हुन् कि भन्ने डरले आफ्नै सरकारी निवासमा आयोजना गर्न लगाइएको भानु जयन्तीको कार्यक्रममा भानुभक्तलाई पनि थाहा नभएको नयाँ कुरा बोलेर यिनले आफ्नो राष्ट्रवादलाई अझ बलियोसित प्रस्तुत गरेछन् र राम जन्मभूमि हाम्रै देशमा भएकोले छिमेकमा भएको चाहिँ त नक्कली हो भन्ने नयाँ बहस छरेछन् ।

अहिलेसम्म कसैलाई थाहा नभएको र कसैको सोचमा पनि नगएको असली अयोध्या त हाम्रै पर्सा जिल्लामा पो रहेछ । राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराउने ब्राह्मण पनि रिडीका पण्डित रहेछन् । ति पण्डितको थर ओली नै हुनसक्ने कुरा उनले गोप्य राखेका पनि हुन सक्छन् । उनले यति घोषणा गरिदिएपछि सहि कुरा नै यहि हो फरकै पर्दैन ।

किनभने उनले गर्ने ठोकुवामा कुनै अध्ययन अनुसन्धान र प्रमाण, कुनै ऐतिहासिक तथ्य सत्यता आधार, कुनै वैज्ञानिक पुष्टि, कुनै धार्मीक सांस्कृतीक मूल्य मान्यता परम्परा, कुनै भौगोलिक आधार आदि केहीको पनि जरुरी पर्दैन ।

उनलाइ त्यस्तो लागेपछि र यही नै ठीक हो भनेर उनको मनको भावना जागेपछि कुरा सकियो । यिनको यो ठोकुवाले गर्दा बुद्ध हाम्रो देशमा जन्मेका हुन् भनेर ठाउँ ठाउँमा बोल्दै र बुद्धबारे नयाँ नयाँ तथ्य खोल्दै संसारलाइ भ्रममा पार्न अनावश्यक श्रम गर्ने छिमेकी सरकारका प्रधानलाई यिनले कडा काउन्टर दिएर अप्ठ्यारोमा खडा गरिदिए भनेर यिनका चम्चा र भजन मण्डलीहरुले ताली बजाएर अनि यसैबाट चाहेको पाउँछु भन्ने सपना मनमनै सजाएर भएपनि यो विषयलाइ भजाएर खाने दाउमा लाग्नेहरुको कुनै कमी छैन ।

उताकाले बुद्ध उता जन्मेका भनेर ठोकुवा गर्न मिल्छ भने यताकाले पनि राम हाम्रै वीरगञ्जको अयोध्यामा जन्मेका र हाम्रै जनकपुरमा अन्मेका भन्न किन नपाउने ? बाल्मिकी, कालीदास, भानुभक्त र अरु थुप्रै कवि लेखकहरुलाई समेत थाहा नभएको तथ्य यिनलाइ कसरी थाहा भयो भनेर संसार भरिनै चर्चाको विषय भएको छ भन्ने सुनिन्छ । सरकार प्रधान हुनासाथ र शक्तिशाली कुर्सीलाई छुनासाथ भएभरका सरकारी जासुसी संयन्त्रहरु आफ्नो मातहतमा ल्याएर र उनीहरु मार्फत यस्ता अतिगोप्य सूचनाहरु पत्ता लगाउन भ्याएर त्यसैको आधारमा बोलेका हुन सक्छन् ।

देवीदेवताहरु नमान्ने, पूजापाठ नगर्ने, मन्दिर नजाने, भौतिकवादी वामपन्थि नेता भएर पनि यति गुह्य र महत्वपूर्ण धार्मिक विषय ओकल्ने र त्यसको भोलिपल्टै त्यो आशयले भनेको होइन भनेर परराष्ट्र्को विज्ञप्ती मार्फत  त मुख खोकल्ने प्रयास गर्नु राम्रो हो । छिमेकमा सयौँ वर्षसम्म विवाद भएर मुद्दा परेर र त्यसैको सेरोफेरोमा कैयौँ हिन्दु मुस्लिमहरु मरेर अझै पनि पूर्ण रुपमा सुल्झिन नसकेको विषयलाई एकैचोटी समाधान गरिदिने र त्यत्रो समस्याको बिउलाई सुल्झाउन अघि सरिदिने प्रयास चाहिँ सारै राम्रो हो भन्नै पर्छ ।

यिनले यति ठूलो सदाशयतासहित रामको जन्मस्थान हाम्रो वीरगञ्ज  पश्चिमको अयोध्यामा भएको हो भनेर घोषणा गरिदिए पछि छिमेकीको समस्या त आफसेआफ सुल्झि हाल्यो नि । उताकाले अब मुद्दामामिला त्याग गरेर धार्मिक र सामाजिक सद्भावको विकास गरेर त्यसलाई कायम राख्दै हाम्रा सरकार प्रधानले बताएको ठाउँमा राम जन्मभूमि सम्बन्धी सबै प्रकृया पुर्‍याइदिने हो भने यहि विषयले सधैँ तताएको हिन्दु मुस्लिम विवाद र सबैलाई डरलाग्दो गरि सताएको समस्या एकैचोटी समाधान भएर छिमेकमा पनि शान्ति छाउने अनि वास्तविक जन्मभूमि पनि यता आउने यस्तो विनविन सिचुएसनको सोच विकास गर्न सक्नु हाम्रा सरकार प्रधानको ठूलो महानता हो ।

जीवनभर माक्स, एँगेल्स, लेनिन, स्टालिन, माओ, पोलपोट, क्यास्ट्रे आदि आराध्य महान देवताहरुको पूजा आराधना र जपध्यान गरिरहेका सरकार प्रधानलाई अचानक राम र उनको जन्मभूमिको बारेमा वास्तविक ज्ञान आउनुलाई चानचुने घटना मात्रै मान्न र सानोतिनो विषय ठान्न मिल्दैन ।

ठूलाठूला प्रतापी बाबा सन्यासी योगी आदिले ज्ञानको लागि ध्यान र तपस्या गर्दा गाँजासहितका अन्य पदार्थहरुको सेवन गरेर आफ्नो ज्ञानको दायरालाइ ज्यादै फराकिलो बनाउने र यसैबाट आफूलाई महान तपस्वी साधुको रुपमा जनाउने गर्छन रे भन्ने सुनिन्छ ।

गाँजा र त्यस्तै पदार्थहरुको सेवन पश्चात उनीहरुको वास्तविक ज्ञानको मूल खुल्छ, त्यसपछि उसले सांसारिक मायामोहलाइ भुल्छ र उसको शरीर एक ठाउँमा भएपनि दिमाग भने ज्ञानको भण्डारमा डुल्छ भन्ने सुनिएको छ ।

उनीहरुले जति धेरै गाँजा खायो उति धेरै ज्ञानगुनका अटुट प्रवचनहरु दिन्छन् र त्यसैबाट परलौकिक आनन्द लिन्छन् भनेजस्तै हाम्रा सरकार प्रधानले पनि गाँजा खाने गरेको भन्ने अहिलेसम्म नसुनिए पनि धेरै वर्ष अगाडिदेखि सरकारी खर्चमा ज्यादै हेभि डोजका औषधीहरु खाएर उपचार गर्ने थोरै भाग्यमानीहरु मध्ये परेको व्यक्ति भएको हुनाले जोगी सन्यासीहरुलाइ गाँजा र त्यस्तै खालका पदार्थहरुले ज्ञानवर्धक शक्ति दिएर ज्ञानी बनाए जस्तो यिनलाई पनि सर्वज्ञानी बनाएको हो कि भन्ने विषय बेलाबेलामा यिनकै पार्टि भित्र पनि चर्चाको विषय हुने गरेको सुनिन्छ।

त्यस्ता चर्चाहरु भित्रभित्र भएका सुनिए पनि बाहिर प्रत्यक्ष रुपमा भन्न सक्ने त्यस पार्टीमा कोही पनि देखिँदैन । सबै यिनका आसेपासे र जुठोपुरो पाए खाने नपाए भविष्यमा केही त पाइएला भनेर कुर्ने र उनको हरेक बोलीमा थपडी मारेर खुशी पार्न सके खानेपाउने काममा साइत जुर्ने मौका हेरेर बस्नेहरु मात्रै छन् ।

धेरै अगाडिदेखि यिनको आफ्नै बोली जसलाई भनेको उसलाई नलागेर गोली बनेर फर्केर आइ आफू र आफ्नै टोली समेतलाई लागेर राजनीतिक झोली यसरी नै सबैतिर नबिक्ने र यही तरिकाको राष्ट्रवादले सधैँ सत्तामा नटिक्ने सिद्धान्त सम्झने हो भने यस्ता धेरै उग्र राष्ट्रवादीहरुले ठूलो कुरा गर्दागर्दै धुलो चाटेका उदाहरण दिएर यिनी बराबरका अर्का अध्यक्ष र पूर्व सरकार प्रधान भइसकेका करौँती सहकर्मीहरु अझ उचालेर थेचार्ने र आफ्नो मतलब साफ गर्ने अनि यिनको प्यारो कुर्सी यिनको हातबाट हर्ने र त्यसमा आफू मध्ये एकजना बसेर फेरि यसरी नै चर्ने ताकमा बसेका धेरै समय भइसकेको छ ।

बाहिरका सत्रुहरुको कुरा नगर्दा पनि घरभित्रै बग्रेल्ती सत्रुहरुले घेरिएर बसेको मान्छेले अस्वाभाविक उत्तेजनामा आएर र जे विषयमा पनि विवादास्पद किसिमले मुख बाएर लामो समय टिक्न नसकेपनि टिक्ने प्रयास स्वरुप बलियो छु भनेर यसैगरि चल्मलाउने र सबैलाई अल्मलाउने फर्मुला यस्तो अवस्थाका धेरैले प्रयोग गरेपनि कत्तिको सफल हुन्छ होला भन्ने चाहिँ त्यहि बेलामात्रै थाहा हुने विषय हो ।

छिमेकको सरकार र दूतावासले आफूलाई सत्ताबाट पत्तासाफ गर्न खोजेको भनेर हल्ला मच्चाउँदा दुई नम्बरका अध्यक्षले छिमेकीले होइन मैले राजीनामा मागेको र पार्टीका शीर्ष तहका सबैजना सरकार प्रधान विरुद्ध जागेको भनेर खुलेआम बोल्दा अनि त्यहि अनुसार मनपेट खोल्दा राम जन्मभूमिको नयाँ तुरुप फालेको हो भने यसले अलि कुरुप खालको नतिजा दिन सक्ला कि भन्ने हेक्का राखेको भए राम्रै हुन्थ्यो होला ।

देशका जलदाबल्दा समस्याहरु सुल्झाउने तिर लाग्नुभन्दा कुर्सीकै मुद्दालाई उल्झाउने गरेर सरकार प्रधान र उनी सरहका अरु शीर्षहरुले पनि आफ्नो औकात देखाउने र इतिहासमा खलनायकको रुपमा आफ्नो नाम लेखाउने बाटो समाउनुलाइ सबै छोडी पुच्छरमा हात भन्न ठीक हुन्छ होला ।

साउन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्