मानिस सुख चाहन्छ,अनि के हो त सुख भनेको ?

हिजोको सुख आज सुख होइन, आजको सुख भोलि हुँदैन,

सुखको शुरु कहाँ हुन्छ, अनि अन्तिम बिन्दु कहाँ ?

१०–५ को स्थायी जागिर ? नयाँ आरामदायी घर ? विदेश भ्रमण ?

सुखको रेफरेन्स प्वाइन्ट छैन – शब्दको मात्रै किन र ?

देवकोटाले भनेथे –
“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ?”

आजको सुख

“मेरो परिवारलाई कोभिड–१९ को संक्रमण नहोस् ।

सीमा नाका खुलोस्, स्वदेश छिर्न पाइयोस् ।।”

मान्छे भन्छन् “महामारी दुःस्वप्न हो, यो अवश्य जाने छ।”

जाने त मान्छे हो ।

महामारी जाँदैन – पुनः पुनः आफ्नो उपस्थिति जनाइ नै रहन्छ ।

प्लेगको महामारी करिब ३० पटक भएथ्यो, झण्डै १ अर्ब मान्छे मारिए – पटक पटक गरेर । अहिले प्लेग छैन, तर हाम्रा वातावरणीय परिवेशहरु बिग्रिए भने नआउला भन्ने पनि छैन ।

कोभिड–१९ केही महिनापछि साम्य होला, तर हामी चेतेनौँ भने र आवश्यक सावधानी अपनाएनौं भने पुनः पुनः आउनेछ ।

के हाम्रा राजनीतिक, सामाजिक, आर्थिक व्यवस्थाहरु वर्तमान चुनौती सामना गर्न असक्षम भएका हुन् ?

स्वास्थ्य विज्ञानको बिद्यार्थी मैले आफ्नै जीवनकालमा प्रविधिको उच्चतम् विकास देखेको छु । औषधी बिज्ञानले धेरै फड्को मारेको छ । पहिले असाध्य मानिने धेरै किसिमका क्यान्सर रोगहरुको अहिले औषधि र अन्य उपचारले पूरा निको हुने भइसेकेका छन् ।

निदानका प्रविधिहरु, शल्यक्रियाका प्रविधिहरु कल्पना गर्नै नसक्ने गरी विकसित छन् – अझै परिष्कृत हुँदै छन् । विश्वको जुनसुकै कुनामा पनि ती उपलब्ध हुन सक्छन् – प्रयोगका लागि आवश्यक श्रोत, वातावरण र तालिम मात्र चाहिन्छ ।

यी त स्वास्थ्य क्षेत्रका उदाहरणहरु मात्र भए । त्यस्तै विकास अन्य विधामा भएका छन् – चाहे त्यो इन्जिनियरिङ होस् या समाज शास्त्र ।

अमेरिकाको सरकारी अन्तरिक्ष कार्यक्रमका अतिरिक्त विभिन्न निजी उद्योगहरु समेत रकेटहरु बनाएर मंगल ग्रहमा पुग्ने तयारी गर्दै छन् । चालकरहित गाडीहरु केही वर्षभित्रै प्रशस्त चल्तीमा आउनेछन् ।

सूचना प्रविधिको बिकासले विश्व नै एउटा ठूलो शहर झैं भएको छ । विश्वका एउटा कुनामा घटेको घटनाले निमेष भरमै अर्को कुनामा रहेको व्यक्तिलाई प्रभाव पारिसकेको हुन्छ ।

हाम्रो देशका युवाले पनि आफ्नो इच्छा अनुरुपको काम गर्न पाउने वातावरण खोजेका छन्, आफ्नो क्षमताको प्रयोग गर्न खोजेका छन्, अनि न्यायपूर्ण समाज खोजेका छन् ।

डिकार्टसले सैद्धान्तिक व्यवहारलाई रुखको संज्ञा दिंदै भनेका थिए । जरा “मेटाफिजिक्स” हो भने फेद भौतिक विज्ञान (फिजिक्स) हो, अनि अन्य जस्तै नैतिकता, औषधि, विज्ञान, ‘मेकानिक्स’ आदि यसका हाँगाहरु हुन् । यिनको प्रयोग तर्क, विश्लेषण आदिद्वारा विकसित हुँदै जान्छ ।

“म सोच्छु, त्यसैले म छु ।” सोच्दै, विश्लेषण गर्दै, खरिंदै विज्ञान, साहित्य, कला, संस्कृति आदि सबै परिष्कृत हुँदै जान्छन् । १९ शताब्दीसम्ममा यी विकासको पराकाष्ठामा पुगेका पनि छन् ।

उत्तर आधुनिकता बिसौं शताब्दीको दार्शनिक र साहित्यिक आन्दोलन (Movement) रहेछ । यसले १७औं देखि १९ शताब्दीको पश्चिमा दर्शन, आधुनिकता, लाई चुनौती दिदैछ । द्वितीय विश्वयुद्ध पछि आधुनिकताका अवधारणाहरुलाई संस्थागत गर्दै थप विकास गर्न उत्तर आधुनिकताको प्रयोग भइरहेको मैले बुझेको छु ।

फ्रेडरिक नित्सेले मानिसको सोचलाई बस्तुपरक ढङ्गले विश्लेषण गर्दै के का लागि यसको प्रयोग भैरहेछ त्यो समेत खोज्नु पर्ने तर्क गरेका छन् । सदियौं देखि स्थापित मान्यताहरु भित्र व्यक्तिगत स्वतन्त्रताको, अभिव्यक्तिको खोजी भइरहेछ ।

कार्ल मार्क्सले प्रतिपादन गरेका कम्यूनिज्मका सिद्धान्तहरु हुन् या पूँजीवादका सिद्धान्तहरु, यी सबैभित्र व्यक्तिको मानव अधिकार र उसको निर्वाध एवम् उच्चतम विकासका सम्भावनाहरु खोज्ने र सम्भावना नपाएमा तिरस्कार गर्नसक्ने चेतनाको विकास खोज्दै उत्तर आधुनिकता अगाडि बढ्दै छ ।

नैतिकता र सदाचारका परिभाषाहरुमा व्यापक छलफल भएका छन्, ती परिष्कृत र परिमार्जित हुँदै समाजमा स्थपित हुँदै छन् । महिलाको अवस्थामा उल्लेख्य सुधार हुन नसके पनि महिलाका आधारभूत आवश्यकता बारेको ज्ञान व्यापक भएको छ ।

लैङ्गिक हिंसा न्यूनिकरण र लैङ्गिक मूल प्रवाहीकरणका प्रयासहरुले गति लिएका छन् । यसका राम्रा पक्षहरु माथि धेरै प्रकाश पारिएको छ, तर महिलामाथि बोझ झन थपिएको छ ।

घर भित्र र घर बाहिरको दुबै काम भ्याउँदै पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता चानचुने होइन । तैपनि यसलाई सकारात्मक रुपमा लिंदै सुधारका प्रयासहरु निरन्तर चालु राख्नुको विकल्प पनि छैन।

मैले आइ.एस.सी. दिएर बस्दा पढेको आन रयाण्डको किताब “एटलस श्रग्ड” को आदर्श व्यक्ति तिनवटा गुणले सुसम्पन्न थियो । पहिलो – तर्कशील – सहि र गलतको विश्लेषण र सही छनौट गर्न सक्ने, दोश्रो – स्वतन्त्र व्यक्ति जो आफ्नो बुद्धि र बिबेकको प्रयोगमा कसैको दवाव स्विकार्दैन, अनि तश्रो – आत्मविश्वास भएको ।

म सोच्छु – मानिसका धेरै गुणहरु मध्ये यी प्रमुख हुन भने यिनको प्रयोग गर्ने वातावरण पनि अनुकूल हुनु पर्छ नि ।

हाम्रो घर परिवारमा बालबालिकालाई प्रश्न गर्न सिकाउँदैनौ र हामी आफैँले पनि आफ्ना दैनिकीमा तर्कसंगत व्यवहारको उदाहरण दिन सकेनौं भने त्यो बालकले भविष्यमा कसरी तर्क क्षमता विकास गर्न सक्छ र ?

वैयक्तिक स्वतन्त्रताको सवालमा पनि हामी प्रष्ट हुनु जरुरी छ । के हामी आफ्ना छोरी, दिदी, बहिनी, श्रीमती आदिलाई उनीहरुको इच्छा अनुरुपका कार्यहरु गर्न दिन्छौँ ? के हाम्रो समाजले उनीहरुलाई पुरुषलाई जस्तो निस्फिक्री हिँड्न सक्ने वातावरण दिएको छ ? छैन भने किन छैन ? यसमा सुधार हुनु पर्छ कि पर्दैन ? के हाम्रो अहिलेका पुस्ताका युवकहरुले समाजमा व्याप्त महिला हिंसा सहनु या आफै हिंसा उन्मुख हुनु सुहाउने कुरो हो र ?

बालबालिका वयस्क नहुँदासम्म अभिभावकले सही गलतको विश्लेषण गर्ने सीप सिकाउँदै स्वतन्त्र छनौटको अवसर दिएका केही बालिका आफ्नो व्यक्तिगत स्वतन्त्रता प्रति सचेत छन् । तर उनी बिभिन्न प्रकारका “यसो नगर, उसो नगर, समाजले के भन्ला, बिहा गर्न गाह्रो होला, बिहे पछिको घरका नियम कानून अनुरुप गर्नै पर्‍यो” आदिका बन्धनले स्वतन्त्रताको प्रयोग गर्न पाउने अवस्थामा छैनन् । साथै हिंसाका घटनाहरुले महिलाहरुको व्यक्तित्व राम्रोसित प्रस्फुटन हुन सकेको छैन ।

पुरुषहरुको अवस्था महिलाहरुको तुलनामा अलि राम्रो छ । तर के पुरुषहरु पनि स्वतन्त्र छन् त ? घरायसी व्यवहारमा पनि पुरुषले स्वतन्त्रता पूर्वक आफ्नो बिबेक प्रयोग गर्दैन, चाहे श्रीमतीको दबाबमा होस्, या मातापिताको । पारिवारिक बिखण्डनको मुख्य कारक तत्व यो पनि हो – अविवेकी र अन्यमनस्क पुरुष !

राजनीतिक दल या अन्य धार्मिक, सामाजिक, आर्थिक उद्देश्य लिएका संघ संस्थाका सदस्यहरुले आफ्नो व्यक्तिगत बिबेकको प्रयोग गर्न निश्चय पनि स्वतन्त्र हुँदैनन् । हुनत सदस्यता लिन या नलिन व्यक्ति स्वतन्त्र हुन सक्छ, तैपनि धेरै कारणहरुले आ–आफ्ना इच्छा विपरित सदस्यता लिएका वा सदस्यता त्याग गर्न नसकेका उदाहरणहरु हाम्रो समाजमा प्रसस्त छन् ।

स्टिभेन हकिन्सले “ब्ल्याक होल” पत्ता लगाए । जाँदा जाँदै उनले भने मानिसले ‘टाइम ट्राभेल’ गर्न सक्ने सम्भावना छ । के भविष्यमा हामी टाइम ट्राभेल गर्दै आफ्नै बिगतसँग साक्षात्कार गर्न सकौंला ? त्यतिबेला हामी आफैंसँग, आफ्ना सोच र व्यवहारसँग सन्तुष्ट हुन सकौंला ?

व्यक्तिगत क्षमताका सवालमा पनि चुनौती नभएका होइनन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो तर्कशील, निर्णय गर्न सक्ने र क्षमतावान व्यक्ति थिइन्, तर क्रुर राजनीतिक दाउपेचको सिकार भइन् ।

आङ सान सुकीले धेरै वर्ष मानव अधिकारका पक्षमा बोलिन्, कठीन कारावास भोगिन् र नोबेल पुरस्कारले सम्मानित पनि भइन् । तर पछिल्लो समयमा उनले स्वतन्त्र रुपमा आफ्नो बिबेक प्रयोग गरेकी छैनन् । लाखौं रोहिङ्या मुसलमानहरुमाथि भएका मानव अधिकार दुरुपयोगका घटनाहरुमा उनले सैनिक नेतृत्वको प्रतिवाद गर्न सकेकी छैनन् । उनी जस्तो क्षमतावान, तर्कशील र संबेदनशील महिलाको स्वतन्त्र छनोट यस्तो हुन सक्ला त ?

नेपाली साहित्यमा कविता, आख्यान, नाटक, निबन्ध सबै लेख्ने बहुप्रतिभाका धनी लक्ष्मी प्रसाद देवकोटालाई पागल भनी मानसिक रोग उपचारका लागि राँची समेत पुर्‍याइएको थियो रे। उनको सोच तत्कालीन समाजभन्दा धेरै उन्नत रहेछ, त्यसैले उनले लेखे –

“जरुर साथी म पागल ।
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु ।
दृष्यलाई सुन्दछु ।
बास्नालाई स्वाद लिन्छु ।
आकाशभन्दा पातला कुरालाई छुन्छु ।
ती कुरा
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन
म देख्दछु ढुङ्गालाई फूल
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण
चाँदनीमा,
स्वर्गको जादुगर्नी मतिर हाँस्दा
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागल झै
फूल झै, एक किसिमका चकोर–फूल ।
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी ।
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा – किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल !

अहिले एक्काइसौं शताब्दीमा बल्ल उत्तर आधुनिकताका समर्थकहरुले शब्दको यथार्थबारे बहस चलाउँदछन् । शब्दलाई बुझ्ने कुनै सान्दर्भिक बिन्दु छैन, शब्दको मतलब सबैका लागि एकै छैन । मैले कुनै शब्दलाई एक प्रकारले बुझ्छु भने अरुले अरु नै प्रकारले बुझ्छन् ।

यथार्थमा के हो त शब्द ?

कसैले सोझै भन्छ “म सक्दिन।”

नेताले भन्छ “पछि भेटन”

पछि भेट्नु भनेको म सक्दिन भनेको हो ? या पछि गर्छु भनेको ?

शब्दलाई कसरी बुझ्ने ?केसँग दाँजेर बुझ्ने ? यसको “रेफरेन्स प्वाइन्ट” के हो ?

उत्तर आधुनिकताका समर्थकहरु भन्छन् – प्रश्न गर ।

सत्य के हो ? तिमीले देखेको सत्य कि मैले देखेको सत्य ? के तिमी र म उस्तै किसिमले देख्छौं अनि बुझ्छौं त ?

उत्तर – आधुनिकताबादीहरु भन्दा रहेछन् संगठित रुपमा रहेका राजनीतिक दल र तिनले ल्याएका व्यवस्थाहरु सफल हुँदैनन्, किनभने त्यहाँ प्रश्न गर्ने र सुधार हुने सम्भावनाहरु कम हुन्छन् ।

व्यक्तिले आफ्नो बुद्धि बिबेकको प्रयोग गर्न पाउँदैन, बहुमतको रजाइँ हुन्छ, अनि बहुमत पनि नाफाखोर सञ्चार माध्यम या व्यापारीबाट प्रभावित हुन्छ । असन्तुष्ट आवाजहरु दब्छन् या दबाइन्छन् । तैँ चुप मैँ चुपको अवस्था हुन्छ अनि नीतिगत भ्रष्टाचार, दमन र सत्ता स्वार्थ निरन्तर हाबी हुन्छ ।

वर्तमान सामाजिक व्यवस्था पनि चुनौती रहित छैन । विवाह र घरगृहस्थी जस्ता संरचनाहरु भत्किंदैछन् । युवायुवतीहरु लिभ्–इन सम्बन्ध या एकल परिवार चाहन्छन् । संयुक्त परिवारलाई बोझ मान्छन् । पारम्परिक सम्बन्ध र व्यवहारहरुमा ह्रास आएको छ । जेष्ठ नागरिक अपहेलित र पीडित छन्, अनि तिनको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ ।

आधुनिक अर्थतन्त्र र अर्थतन्त्रसँग सम्बन्धित वित्तिय संस्थाहरु नाफा, प्रभावकारिता, दक्षता, निरन्तरता जस्ता सिद्धान्तहरुमा आधारित हुन्छन् । राज्यले विकास मापन गर्दा पनि वित्तिय मापनलाई नै प्राथमिकतामा राखेको हुन्छ ।

कुल ग्राहस्थ्य उत्पादन बढी भए विकास भएको मानिन्छ, तर यो नापले गरीव र धनी बीचको खाडल छुट्याउन सक्दैन । अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका अमर्त्य सेनले  “डेभेलपमेन्ट याज फ्रीडम” भन्ने पुस्तकमा स्वतन्त्रतालाई विकासको मापदण्डका रुपमा लिएका छन् । उनले “अनफ्रिडम” अर्थात “अस्वतन्त्रता” भन्ने शब्दावली प्रयोग गर्दै गरिबी, भोकमरी, बालमजदूरी आदि अस्वतन्त्रताको उन्मूलन र आर्थिक र राजनीतिक अवसरको सिर्जना नगरिएसम्म साँचो अर्थमा विकास नहुने कुरा दर्शाएका छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा अमर्त्य सेनका अवधारणालाई लागू गरेर विकासको मापन गर्ने हो भने ठूलो खाड्ल देखा पर्छ । उदाहरणका लागि – आर्थिक रुपमा सबैभन्दा माथिल्लो पाँचौ भागमा रहने महिलाहरुका १००० बालबालिका मध्ये २४ जनाको मृत्यु हुन्छ भने तल्लो पाँचौं भागमा रहेका महिलाहरुका बालबालिकामा मृत्युदर ६२ प्रति १००० हुन्छ ।

त्यसैगरी धनी परिवारका नवजात शिशुहरुमध्ये १००० मा १२ जनाको मृत्यु हुन्छ भने गरीब परिवारमा ३ गुणा अधिक (हजारमा ३६) नवजात शिशु मृत्यु हुन्छ । यसरी हेर्दा विकासको प्रतिफल सबैतिर समान रुपले पुगेको छैन भन्ने स्पष्ट छ ।

नेपाल सरकारले विकासका विभिन्न सूचकहरुलाई प्रयोग गरेर यस्ता खाडलहरु पहिल्याउँदै सुधारका प्रयत्नहरु गरेको छ, तर ती धेरै प्रभावकारी हुन सकेका छैनन् । यो त सानो मात्र उदाहरण भयो, तर अनेकौं उदाहरणहरु छन् – सेवामा पहुँचको कुरा गर्दा पहाड र हिमाली क्षेत्रमा सेवा अपर्याप्त छन् । तराइमा स्वास्थ्य संस्था धेरै छन्, तर सेवाको उपभोग कम छ – कारण बिभिन्न छन् । कतै चेतनाको कमि छ भने कतै खराब गुणस्तरको सेवा ।

कोभिड–१९ को प्रकोपले हाम्रो स्वास्थ्य सेवाको कमजोर स्थिति पुनः एकपटक उजागर गरेको छ । स्वास्थ्यकर्मीले पुनः एकपटक आफू र सेवाको उद्देश्यबारे मनन् गर्नु पर्ने देखिएको छ ।

निजी स्वास्थ्य संस्थाहरु प्रति राज्यले लिएका नीतिहरु पुनरावलोकन गर्दै हाम्रो राज्य कहीं “खोक्रो राज्य” (हलो स्टेट) तर्फ उन्मुख त छैन भनी सोच्नु पर्ने बेला भैसकेको छ ।

“हलो स्टेट” एक रुपक (मेटाफर) हो । जब राज्यबाट प्रवाह हुने धेरै सेवाहरु गैर सरकारी र नीजि संस्थाहरुबाट प्रवाह हुन थाल्छन्, त्यस्तो राज्य बिस्तारै “खोक्रो राज्य” मा परिणत हुन्छ । सामाजिक सुरक्षा कायक्र्रम मार्फत स्वास्थ्य बीमा होस् या आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन, खोप जस्ता राष्ट्रिय कार्यक्रम मार्फत धेरै सार्वजनिक श्रोत प्राप्त गर्ने नीजि स्वास्थ्य संस्थाहरु महामारीको उपचारका लागि तयार नभएको देखियो ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० को परिच्छेद २ को (ड) मा सेवा प्रदायक चिकित्सक तथा स्थास्थ्यकर्मीहरुको सुरक्षाका लागि बिभिन्न सरुवा रोग विरुद्धको खोप तथा व्यक्तिगत सुरक्षा व्यवस्था गरेको हुनु पर्नेछ भनी स्पष्ट लेखिएको छ । साथै उक्त परिच्छेद २ को (त) मा अस्पतालले चिकित्सक तथा दक्ष स्वास्थ्य कार्यकर्ताबाट चौबिसै घन्टा आकस्मिक सेवा दिने व्यवस्था मिलाएको हुनुपर्छ भनिएको छ । तर यी विषयहरुमा ठूलो कमि कमजोरीहरु देखा परिरहेका छन्, नियामक संस्थाहरुले के हेरेका छन्, कसरी संस्थाहरु नविकरण भैरहेका छन्, त्यसको लेखाजोखा हुनु जरुरी छ ।

कोभिड–१९ ले पुनः एकपटक महामारीको रोकथाम र उपचारका लागि हाम्रो पूर्व तयारी नपुगेको कुराप्रति हामीलाई सचेत गराएको छ । यसलाई अवसरका रुपमा लिंदै हाम्रा सार्वजनिक एवं नीजि स्वास्थ्य संस्थाहरुले संक्रामक रोगको आकस्मिक व्यवस्थापनमा सुधार गर्न अत्यावश्यक छ । सम्पूर्ण स्वास्थ्य प्रणालीको सुदृद्धिकरण यसको अनिवार्य पूर्वशर्त हो ।

मार्टिन हेइडेगरलाई नाजीहरुको सहयोग गरेको भन्ने आक्षेप लागेको छ, तर उनले प्रतिपादन गरेको दर्शन अझै सान्दर्भिक छ । यसले कालचक्र या समय चक्रमा व्यक्तिको सोच या चेतनाको महत्व दर्शाउँछ । “बिइङ्ग एण्ड टाइम” मा हेइडेगरले भनेका रहेछन् – निर्जिब बस्तुहरु समय चक्रमा रहन्छन्, मानिस बाहेकका अन्य जीवहरु र रुख आदि सन्तानोत्पादन र बाँच्नुमै सीमित हुन्छन्, तर मान्छे आफूले चाहेजस्तो, सोचेजस्तो जीवन बाच्न सक्छ ।

मानिसका लागि “हुनु” को अर्थ छ – उसको इच्छा, आकांक्षा र चाहना छ, त्यसैले ऊ अरु जीव भन्दा भिन्न छ, विकसित छ ।

स्टिभेन हकिन्सले “ब्ल्याक होल” पत्ता लगाए । जाँदा जाँदै उनले भने मानिसले ‘टाइम ट्राभेल’ गर्न सक्ने सम्भावना छ । के भविष्यमा हामी टाइम ट्राभेल गर्दै आफ्नै बिगतसँग साक्षात्कार गर्न सकौंला ? त्यतिबेला हामी आफैंसँग, आफ्ना सोच र व्यवहारसँग सन्तुष्ट हुन सकौंला ?

यदि आफ्नो विगतसँग साक्षात्कार गर्न सकिने भइयो भने अमरत्वको प्रमाण समेत पाउने भइयो। हामी आफूलाई समयक्रममा कस्तो किसिमको अमर आत्माका रुपमा देख्न चाहन्छौं ? एकपल्ट सोचौं त ।

कवि सुलोचना मानन्धरको प्रश्न यहाँ राख्न चाहन्छु ।

हृदयले रोपेको बिरुवाले
मायाले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफैं अघि सरेर
आफ्नो मालीलाई सम्झेर
‘धन्यवाद’ भन्न सक्छ र?

के यो आमा छोरीको या सृष्टिकर्तासँगको अन्तरसम्बन्धको मात्र प्रश्न हो या यसलाई हाम्रो यावत जीवन दर्शनको गम्भिर प्रश्नका रुपमा लिन सकिन्छ ? यो प्रश्नको उत्तरले हाम्रो समाजलाई दिशा निर्देश गर्न सक्छ नि त ।

साउन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्