संझनामा बोलबंम

बोलबम, बाढी र अधुरो सपना

त्‍यतिबेला म कक्षा ८ मा पुगेको थिएँ। कक्षा-८ मा पढाइ सुरु भएको तीन-चार महिना अर्थात साउन महिना सुरु भएको साता दिन पुग्दै थियो। कक्षामा प्रथम भएकाले मलाई एकातिर खुसी त छँदै थियो अर्कोतिर आफैँदेखि डर पनि लागिहेको थियो। साथीभाइ, छरछिमेक र स्कुलमा सबैको नजरमा पनि परिसकेको थिएँ। अझ हेड सरले भन्नुभा’को थियो, ‘यसपालि त फर्स्ट भएका छौ। अब तिमीले जिल्ला टप गर्नुपर्छ। ध्‍यान दिएर पढ्नु पर्छ है।’ स्कुलको नाक राख्नू’ मैले ‘हस’ इसारामा टाउको हल्लाएको थिएँ।

साउन लागेकोले होला वर्षा निरन्तर परिरहने। वर्षाले खोला र नदीनालामा बाढीको रौद्ररुप कति बेला आउने थाहै नहुने। मैले पढ्‍ने स्कुल श्री थान पोखरी मावि ज्‍यामिरे-३ (हाल चौदण्डी-१०) मा जान द्वार खोला (किराँती) तरेर जानु पर्थ्‍यो। प्रत्‍येक दिन म, दिदी र साथीहरु बेल्हा गाउँबाट ज्‍यामिरे गाउँ पढ्न जानको लागि पानी परेपछि बाँधको डिलमा खोला आएको बाढीको बेग पहिचान गर्नु पर्थ्‍यो।

चौदण्डीगढी-५ मा रहेको द्वार (किराँती ) खोलामा आएको बाढी। तस्बिर- देशसञ्‍चार

द्वार खोला किराँती भएकाले स्वभावैले थोरै बाढी आए पनि बगाउने खालको बेग। सिधा-सिधा तर्नै नसकिने। हामी एक-अर्काको हात समातेर मात्रै तर्ने गर्थ्यौ। नत्र त द्वार खोला तर्न हम्‍मे हम्‍मे पर्थ्यो। असार-साउन हाम्रो लागि स्कुल हप्तामा एक पटक वा दुई पटक मात्रै जान सकिने स्थिति आउँथ्यो।

द्वार खोलाको बेग तीव्र भएकाले त्‍यहाँ ढुंगा चलाउने स्थिति हुँदैनथ्यो। नजिकै त्रियुगा नदीमा पनि त्‍यही खोलाको बाढी मिसिथ्‍यो। त्‍यही मौकामा विद्यार्थीहरुको आफ्नो अभिभावक वा साथीभाइसँग बोलबम जाने बहाना पाउँथे। दिदीले मलाई पनि बोलबम लैजाने भन्‍दै फुरुङ्ग पारेकी थिइन्। म भने अलमलको स्थितिमा थिएँ। किनकी बाको नियम लास्टै कडा भएकाले दिदीको उक्त प्रस्ताव स्वीकृत हुने चान्स निक्कै कम थियो।

यता, घरमा दिदीले आमासँग बोलबम जाने वातावारण मिलाइदिन बुवासँग परामर्श गर्न थाल्नुभयो। उनले आमासँग फकाउँदै भन्‍दै थिइन्, ‘आमा यसपटक साउनमा पाँचवटा सोमबार परेको छ। बाबाधाम अर्थात बोलबम जाने हाम्रा गाउँका पनि धेरै छन्। खासगरी मैरै ब्‍याचका स्कुल पढ्नेहरु छन्। अभिभावकहरु पनि छन्। म र भाइ पनि बोलबम जान्छौँ। बुवासँग कुरा गरिदिनुस्।’

दिदीको परामर्श नसकिँदै बुवाको प्रवेश आगँनमा भयो। बुवाले आमातिर हेर्दै भन्‍नुभयो, ‘ए के हो तिमीहरुको सल्लाह ? छोरा-छोरीलाई बोलबम जान दिने तयारी गर्दैछौ कि क्‍या हो ? पढ्नु त कता हो कता खाली यस्तो बर्खा बाढीमा बोलमबमको रट लगाइरहेका छौ?’ दिदीको मुख निन्‍याउरो भयो। चुपचाप दिदी आँगनबाट घरभित्र पसिन्। म आँपको बोटतिर गएँ। आमाले बुवासँग कुरा गर्न थाल्नु भो।

आमाले बासँग भन्नुभो, ‘किन रिसाउनु भा’को? आखिर एक्लै छोरी छे। यसपटक पाँच सोमबार परेको छ रे। शिवको धाम शुभ हुन्छ। बोलबम जान दिनुस् न त। उसका सबै साथीहरु जाँदै छन्। मनोकांक्षा पूरा हुन्छ।’ बाले दिदी मतिर हेर्दै भन्‍नु भो, ‘अनि यिनीहरुको पढाइ चाहिँ के हुन्छ? पढ्नु छाडेर बोलबम ? यो माइला पनि छ। ऊ पनि जान्छु भन्यो भने उसलाई कस्ले लान्छ? त्रिजुगामा त्यत्रोविधि बाढी छ। केही भयो भने जिम्मा कस्ले लिन्छ?’

आमाले बाको जवाफ फर्काउँदै भन्नु भो, ‘अनि खोलामा पनि त बाढी छ। पढ्न कसरी जान्छन् नि यिनीहरु। नदीको भन्दा खोलाको बाढी बौलाहा छ बगायो भने झन राम्रो हुन्छ। नदीमा त ढुंगा छ। अहिले फेरि स्कुलमा पनि पढाइ छैन भन्‍दैछन् दिदी-भाइ।’

बाले ‘हुँदैन’ भन्‍दै कोदाली बोकेर खेततिर जानुभयो। आमा भान्सामा व्‍यस्त हुनुभयो। म डरले आँपको बोटमा चढेकाले कुरा सुन्न पाइन। बा खेततिर गएको देखेर बोटबाट झरेर आमाले सोधें, ‘आमा बाले ‘हुन्छ’ भन्‍नु भयो है। म नि दिदीसँग बोलबंम जान्छु नि है।’

आमा केही बोल्नु भएन। फेरि मैले सोधेँ, ‘किन नबोल्नु भाको।’

दिदी अर्को घरबाट आइन् र आमालाई सघाउँदै सोधिन्, ‘ आमा बाले के भन्नुभो ? बोलबमको स्वीकृति दिनुभयो ?’

दिदीतिर हेर्दै आमाले भन्नुभयो, ‘ हुँदैन भन्नु भएको छ। अब खाना खान आउँदा फेरि सम्झाउँछु। त्यतिबेला तिमीहरुले पढेको हुनुपर्छ। म स्वीकृति दिलाउँछु।’

दिदी-भाइले एकै-पटक हुन्छको स्वरमा भन्‍यौँ, ‘आहा ! यसपटक बोलबम जान पाइने भयो।’

दिदी फुरुङ्ग हुँदै साथीको घरतिर गइन्। म भने पानी पर्न रोकिसकेकाले साइकलमा हावा नभएकाले पम्प खोज्नितर रामविलासको घरतिर लागे।

बा खाना खान खेतबाट दिउँसो १ बजे आउनुभयो। खेतमा त्यो दिन जन (रोपार) भएकाले बा अबेरसम्‍म खेतमा काम गरेर फर्किनु भा’को थियो। म गाउँकै स्कुल फिल्डमा साइकल कुदाएर फर्किदै थिएँ। बाटोमा साथी मुकेश भेट भयो। ऊ मेरो ब्याची हो।

उसले मलाई भन्‍यो ‘ओ फर्स्ट बोइ, के हो तिम्रो दिदीले त बोलबम जाने कुरा गर्दै थिइन् त। तिमी नि यसपालि बोलबम जाने हो कि कसो? अनि स्कुल नजाने? गयल भयो भने त बिएस्सी सरको थर्काइ खानु पर्ला है।’

म केही बोलिन। खासमा म त्यतिबेला निक्कै कम बोल्थेँ। चुप लागेर साइकल चलाउँदै घरतिर फर्किएँ। म हतारहतार साइकल बसघरा (पाहुना आउँदा बस्‍ने ठाउँको बरण्डा) मा साइकल राखे।  बसघराको सानो दुलोबाट चिहाए। घर पुग्दा दिदी र उसको साथी आमालाई सघाउँदै थिइन्। बा खाना खाइरहनु भएको थियो।  म आत्तिएँ ।

आमाले बा आउनुअघि पढेर बस्न भन्नु भएको थियो। म भने साइकल लिएर फिल्डमा चक्कर लगाएर आएको थिएँ। अब के भन्‍ने हुन बाले फेरि। बाले खाना सक्नुअघि दिदीलाई सोध्नु भो, ‘ ए सबरी, भाइ खोइ त ?’

आमाले  बालाई लोटा (काँशको अम्खोरा)मा पानी दिँदै भन्नुभयो, ‘ सहदेव साइकल कुदाउन गा’को छ। आउँदै होला नि बाटोमा।’  बाले एकजना सर खेतमा भेटेको र मेरो बारेमा कुरा गरेको सुनाउँदै भन्नु भो, ‘अब सहदेवले यसपालि स्कुलमा राम्रो गरेको छ। सरले राम्रोसँग पढ्न लगाउनु है तपाइको छोरालाई। जिल्ला टप्नुपर्छ भन्दैहुनुहुन्थ्यो। कहाँ तिमीहरु उसलाई बोलबंम जान दिने कुरा गर्छौ। दिदी पनि जाँदिनन्। भाइ सहदेव पनि यसपटक बोलबंम जादैन।  दिदी-भाइकै पढाइ छुट्छ। हुन्‍न बरु बाढी कम भएसी स्कुल जान भन्‍नू, बोलबम आगुम जान्छन्’ बा हात चुठेर उठ्भो।

म बसघराबाट आँगनमा के पाइला टेकेको थिए। बा पनि घरबाट खाना खाएर बाहिरिनु भयो।  आँगनमा मतिर हेर्दै फकाउदै भन्नुभो, ‘ माइला तिमी नि बोलबम जाने र ? नजाऊ । के जान्छौ फर्स्ट ब्वाय भएर। पढ्नुपर्छ। पढेसी एसएलसी पास गर्नेुपर्छ। त्यस्ता बोलमबंम कति कति। काठमाडौं गएर जानू। दाजु उतै छन्। त्‍यहाँ थरीथरीको बोलबंम छ लाटा।’

म टाउको हल्लाउँदै हुन्छको संकेत दिएर चुपचाप घरभित्र गएँ। तर दिदी मतिर हेरेर रुँदै हुनुहुनुथ्यो। आमाले दिदीलाई सम्झाउँदै हुनुहुन्थ्यो, ‘यसपाली न जा न त बाले हुन्न भन्‍नु भो।’  दिदीको आँखामा आँसु देखेर आमाले आश्वासन दिँदै  पुन: बासँग कुरा राखिदिने भन्‍नुभयो।

बोलबम जाने समय साउनको पहिलो सोमबार की त अन्तिम सोमबार कुर्नु पर्थ्यो। गाउँमा गाइगइ हल्ला चलिसकेको थियो, ‘यसपटक त साउनमा पाँच वटा सोमबार परेको छ। बोलबम गए शिवको बाबाधाम सफल हुने। शुभ हुने र मनोकांक्षित फल प्राप्त हुने।’

गाउँका युवाहरु आपसमा यही सल्लाह गरिरहेका थिए की बोलबंम कसरी जाने? त्रियुगा नदीमा पुरै बाढी छ। हुन पनि सोमबार आउनु अगावै शनिबारदेखि निरन्तरको वर्षाले खोला र नदी ‘जलाजुग’ थिए। पश्‍चिमबाट पूर्व बगेको त्रियुगा नदी वारि-पारी तर्न ढुंगावालालाई निक्कै पापड पेल्नु पर्थ्यो। ढंगा पनि फेरि काठको पुरानो भइसकेको।ढुंगा एक दइ पटक त यस्तै बाढीमा डुबेर बेपत्ता भएका। त्‍यही भएर त्रियुगा तर्नेहरु निक्कै आत्तिन्थे।

साउनको महिना यातायातको आवत जावत बन्द भएकाले हाम्रा गाउँका बोलबंम यात्रीहरुले त्रियुगा नदी तरेर सिवाइ गाउँ जानु पर्दथ्यो किनकी त्यहाँबाट मात्रै बोलबम जाने सडक सुरु हुन्थ्यो।  बोलबंमको गन्तव्‍य हुन्थ्‍यो , ‘कोशी ब्‍यारेजदेखि सप्तरीको बलुवा घोघनपुरमा रहेको शिवको मन्दिर। ‘

त्‍यो वर्ष बोलबम जाने दिन दिदीले बालाई नसोधि आफ्नो साथीसँग बोलबंम अर्थात बाबाधाम गइन्। म भने बाको कुरा काट्न नसकेर बोलबंम जान पाइन। मेरो बोलबंम जाने सपना  गाउँमा पढ्दासम्‍म पूरा भएन।

साउन ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्