सोमबारको व्रत बसेकी स्वास्थ्यकर्मी भन्छिन्- सेवा नै सबैभन्दा ठूलो धर्म हो

काठमाडौँ – उनी स्वास्थ्य विज्ञानकी विद्यार्थी । स्वास्थ्य सेवामै समर्पित भइन् । उनमा ईश्वरप्रतिको आस्था पनि छ । हरेक सोमबार उनलाई मन पर्ने भागवान शिवको व्रत बस्छिन्। साउने सोमबारको व्रत उनलाई अझ विशेष लाग्छ ।
यसअघिका व्रतमा उनले आफ्नो र परिवारको स्वास्थ्य तथा हितको कामना गर्थिन् । भागवानसँग आफ्नो परिवारको सुख–शान्तिका लागि प्रार्थना गर्थिन् । तर यो वर्ष व्रत बस्दै गर्दा उनी परिवारको भन्दा पनि संसारभरका मानिसको सुस्वास्थ्य र हितका लागि कामना गरिरहेकी छन् । ‘संसार कोरोना भाइरसको महामारीसँग लामो समय जुध्नु नपारोस्’ यही छ उनको मनोकामना ।
मनमैजुकी ४६ वर्षे तिर्थशोभा नकर्मी पेशाले नर्स हुन्। बिरामीको सेवा जति गर्न पायो त्यति उनलाई खुशी लाग्छ । मनमा आनन्द हुन्छ । आफ्नो पेशाप्रति गर्व छ । काम गर्ने उर्जा थपिन्छ। जाँगर चल्छ।
तर अहिले उनलाई अहिले भने फरक लाग्न थालेको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरु नथपिउन्, संक्रमितलाई पनि गाह्रो नभई निको होस्, संसारबाट कोरोना भाइरसको महामारी अन्त्य होस् भन्ने छ उनलाई ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काम गरिरहेकी नकर्मीले सरुवा रोगका बिरामीको सेवा गर्दै आएकी थिइन्।
तर योपटक भने उनको अनुभव विल्कुलै फरक रहेको छ। ‘बिरामीलाई राम्रोसँग छुन, बोल्न नपाइने यो कस्तो नराम्रो रोग हो’, उनले भनिन्, ‘बिरामीको नजिकै पुगरे मिठोसँग बिलिदिने, उनीहरुलाई कस्तो छ भनेर सोधपुछ गर्न नपाए मनै खिन्न हुन्छ।’
जसले गर्दा उनी यो साउन महिनाको हरेक सोमबार परिस्थितिबाट जति सक्यो त्यति छिटो बाहिर निस्कन सकियोस् र बिरामीलाई सहज रुपमा पहिलाको जसरी सेवा गर्न पाइयोस्, भन्ने कामनामा छिन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा पूजाआजा गर्न जाने प्रायः मठ–मन्दिरहरु बन्द भएका छन्। मन्दिर बन्द भएको यो समय अस्पताललाई ‘मन्दिर’ र ‘डाक्टर अनि नर्स’ लाई ‘भागवान’ को संज्ञा दिइएको छ ।
पहिलेदेखि दादुरा, टिबी, ठेउला जस्ता सरुवा रोगका बिरामीलाई आइसोलेट गरेर राख्ने चलन थियो। तर यसरी छुट्टै एक अर्कासँग दूरी कायम गराएर राखिएका बिरामीको उपचारमा खटिएको यो पहिलो अनुभव हो तिर्थशोभाको ।
उनलाई यो परिस्थितिमा कोरोना संक्रमितको सेवामा लाग्न असिहे सुरुवाति दिनमा भन्दा केही सजिलो भएको छ । तर अझै गाह्रो भने भइरहेको उनले बताइन्।
महामारी अघिको सेवा सम्झिँदै उनले भनिन्, ‘बिरामीसँग नजिक भएर कुरा गरिन्थ्यो। अहिले दूरीमा बस्नु पर्छ। आवश्यक नभई उनीहरुको नजक जान मिल्दैन ।’
उनले भनिन्, ‘अहिले बिरामीलाई हेर्न जानु अगाडि र पछाडि अनिवार्य रुपमा हात धुने मास्क तथा पञ्जाको प्रयोग गर्ने बानी बसेको छ। हरेक चिज छुने बित्तिकै हात धुन्छौँ। पहिला भए प्रक्रिया आगाडि र पछाडि मात्रै धोइन्थ्यो । प्रायः एक बिरामीलाई हेरेर अर्कोलाई हेर्दा अहिले जस्तो हात धोइनथ्यो । अहिले धुनै पर्ने बानी बसिसकेको छ।’
सुरुमा उनी कोरोना भाइसरको संक्रमण भएका र सम्भावित बिरामीलाई राखिने आइसोलेशन आर्डमा काम गर्दा डराएकी थिइन्। आफ्नो डियूटी आइसोलेशन वार्डमा परेको थाहा पाएपछि मनमा डर भए पनि उनले ‘ड्रपलेटबाट सर्ने हो, छुँदैमा सर्ने होइन क्यारे’ भनेर मन बुझाएकी थिइन्।
तर उनको सम्हालिएको मनलाई चिसो पार्ने काम गर्यो सामाजिक सञ्जालले। अनेकथरीका विचलित पार्ने पोस्टहरु देखिन् । दह्रो बनाएको मनले ढ्याङ्ग्रो ठोक्न थाल्यो। बिरामीलाई छुनै डर लाग्न थाल्यो।
त्यही बेला उनले विदेशमा काम गरिरहेका आफ्ना साथीहरुसँग कुरा गरिन्। विदेशमा कसरी काम भइरहेको छ?, साथीहरुको अनुभव सुनिन्। विदेशमा काम गरिरहेका साथीले हौसला दिए। अस्पतालले उनीहरुको आत्मबल बढायो। अस्पतालले उनीहरुलाई–बिरामीको सम्पर्कमा सकेसम्म कम जानु, आवश्यता भन्दा बढी घुलमिल नहुन, बिरामीलाई आवश्य सामान दिदाँ दूरी कायम गर्नु, भनेर सम्झायो। अति आवश्यक पर्दा पीपीई लगाएर भाइटल्सहरु लिनु भनेर बुझायो ।
आफूलाई बलियो बनाउन उनले सामाजिक सञ्जालमा आएका अनावश्यक कुरालाई बेवास्ता गर्न थालिन्। मनलाई स्थिर राख्न प्रवचनहरु सुनिन्।
अहिले उनी ढुक्क भएर काम गरिहरेकी छन्। उनलाई उनको परिवारले ढाडस दिइरहेको छ। तिर्थशोभालाई ससुरा उनलाई सधैँ भन्ने गर्छन्, ‘सेवा नै धर्म हो। जति सक्छौँ, सबैको सेवामा खटिनू।’
उनी साँच्नै यो आपतको घडीमा तनमन लगाएर बिरामीको सेवामा खटिएकी छन्। दत्तचित्त भएर आफ्नो कामलाई अँगालिरहेकी छन्। र साउने व्रतमा उनले आफ्नो होइन, संसारका मानवको पक्षमा हितको कामना गरेकी छन् । यसले पनि उनलाई सकारात्मक उर्जा र आत्मबल दिएको छ ।